छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरले अपाङ्गता र कुपोषण भएकाहरुलाई सामग्री वितरण गरेको छ । प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनःस्थापना कार्यक्रम अन्तर्गत नगरका अपाङ्गता तथा कुपोषण भएकाहरूलाई सामग्री प्रदान गरिएको हो।
१८ वर्ष उमेरसम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री वितरणका क्रममा १४ ह्विलचियर मध्यें सोमबार ९ जनालाई ह्विलचियर वितरण गरिएको छ । वडा नम्बर ५ र ६ मा बाँकी ५ वटा वितरण गर्न बाँकी रहेको छ । यसैबीच, ४ जनालाई ट्वाइलेट चियर पनि वितरण गरिएको छ ।
विद्यालय भर्ना अभियान अन्तर्गत अपाङ्गता भएका १४ जनालाई व्याग र खेलौना तथा घरमा आधारित शिक्षाका लागि १० जनालालाई म्याट र गुडिया वितरण भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, करुणा फाउण्डेशनकी सीबीआर अफिसर थेरापिष्ट मिरियम पाठक सहितले सामग्री वितरण गर्नुभयो ।

त्यस्तै, बाग्मती सेवा समाजसँगको सहकार्यमा नगरका २ वर्ष मुनिका १२ जना अतिसीघ्र र १३ जना मध्यसीघ्र गरी २५ जना कुपोषित अवस्थाका बालबालिकालाई चामल, पोषक तत्वहरुको प्याकेज समाग्री उपलब्ध गराइएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले बालबालिकाको चौतर्फी विकासका लागि सन्तुलित भोजन गराएर उनीहरुको नैसर्गिक अधिकार स्थापित गराउन अभिभावकहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो ।
सिनियर अहेव जगतप्रसाद मगरले गर्भमा बच्चा रहेदेखि जन्मिएको २ वर्षसम्म सुनौलो हजार दिनको अभियान सफल पार्न सो अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्ने सहितका उपयोगी जानकारी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका एकराज खत्री, बाग्मती सेवा समाजका कार्यक्रम अधिकृत युवराज चेम्जोङ सहितको पनि कार्यक्रममा उपस्थित रहनुभएको थियो ।






























