झापा ।
कनकाई नगरपालिका–७ दुर्गापुरस्थित जनकल्याण समाजले तीन दिवसीय जिल्लास्तरीय चेस प्रतियोगिता सम्पन्न गरेको छ ।
झापा जिल्लाभरिका १२ बर्षदेखि ७२ बर्षसम्मका ४५ जना खेलाडीहरुले सहभागिता जनाएको सो प्रतियोगितामा दमकका प्रकाशचन्द्र नेपाल प्रथम, दमक–४का मिसन दाहाल द्वितीय, दमककै सुमन श्रेष्ठ तृतीय र काँकरभिट्टाका विश्वबिजय घिमिरे चौथो भएका थिए ।
बिजयीहरुलाई क्रमशः नगद दश हजार, सात हजार पाँच सय र तीन हजारसहित ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी राजन सुवेदी पाँचौ, दुर्गापुरका राज लिम्बू छैंठौ, दमकका विवेक बज्राचार्य सातौं, दमककै उमेश साह आठौं, दुर्गापुरका अमृत योङ्हाङ नवौं र शिवसताक्षीका यदु दाहाल दशौं भएका थिए ।
पाँचौदेखि दशौं स्थानका बिजयी खेलाडीहरुलाई जनही दुई हजार, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा भेट्रानतर्फ मेचीनगरका इन्द्रप्रसाद सिग्देल, बालखेलाडीतर्फ कमल–५का निर्देश दङ्गाल, महिला तर्फ दमक–९का खुश्बू थापा र अनरेटेड खेलाडीतर्फ दुर्गापुरका तारानाथ बस्नेत क्रमशः नगद दुई हजार पाँच सय, दुई हजार र एक हजारसहित ट्रफी र प्रमाण–पत्रसहित पुरस्कृत भएका थिए ।
झापा क्षेत्र नं. ४का सङ्घीय सांसद एलपी साँवाको प्रमुख आतिथ्य रहेको सो प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मनोजकुमार थापाले गरेका थिए । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संस्थाले आयोजना गर्ने विभिन्न खेलकुद कार्यक्रमको निमित्त अक्षयकोष खडा गर्न आफ्नो एक महिनाको तलब ३५ हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
सो अवसरमा सल्लाहकार सदस्य अमृत योङ्हाङ, वडाध्यक्ष भीष्मभूषण सिटौला, खेल अर्विटर भूपेन्द्र निरौलाले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन मोहन तिम्सिनाले गरेका थिए ।