पदभार सम्हाल्दै भुवन केसीले गरे गोलमेच सम्मेलन गर्ने घोषणा

११ श्रावण २०७९, बुधबार मा प्रकाशित

 काठमाडौं, 

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले पदभार सम्हालेका छन् । उनले बुधवार विहान चावहिलमा अवस्थित बोर्डको कार्यालय पुगेर पूजाआजासहित पदभार ग्रहण गरेका हुन् । सुटबुटमा ठाटिएर पुगेका उनले बोर्डको इतिहासमा पहिलो पटक पूजाआजा पश्चात् पदभार सम्हालेका हुन् ।

पदभार सम्हाल्दै अध्यक्ष केसीले चाँडै फिल्म सम्बद्ध संघ-संस्था, फिल्मकर्मी, पत्रकार र दर्शकहरुको उपस्थितिमा भव्य गोलमेच सम्मेलन गर्ने घोषणा गरे । उनले भने, ‘एक-दुई दिनमा नै बोर्डको बैठक बसेर गोलमेच सम्मेलनको प्रस्ताव तारित गर्नेछौं । जसमा प्राविधिकदेखि कलाकारसम्मको उपस्थिति रहनेछ । त्यहाँबाट फिल्म क्षेत्रको समस्या र त्यसलाई समाधान गर्ने उपाय खोज्नेछौं ।’

४० वर्षको करिअरमा आफूले नेपाली फिल्म क्षेत्रका धेरै समस्याहरु देखेकाले त्यसलाई समाधान गर्न प्रयास गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । सरकारले आफ्नो योगदानको मुल्यांकन गरेर अध्यक्षको जिम्मेवारी दिएको बताउँदै उनले अगाडि भने, ‘म अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्न आएको हुँ । म आफ्नो कार्यकालमा तन, मन, वचन र सबैलाई साथमा लिएर नै काम गर्नेछु ।’

कांग्रेस प्रवेश गरेकै कारण उनले बोर्ड अध्यक्ष पाएको भन्दै टिका-टिप्पणीहरु पनि भइरहेको छ । यसविषयमा उनले फिल्म क्षेत्रको हकहितका लागि आफू जहाँ जान पनि तयार रहेको तर्क गरे । ‘म जहाँ गए पनि फिल्म क्षेत्रको विकासका लागि जान्छु । मेरो सपना नै फिल्म क्षेत्रको विकास गर्नु हो,’ भुवनले थपे, ‘यदी म एकजना शहिद भएर हाम्रो फिल्म क्षेत्र राम्रो हुन्छ भने मलाई स्वीकार्य छ ।’

उनी बोर्ड अध्यक्षको जिम्मेवारीमा आफूलाई असफल हुने अधिकार नभएको पनि स्वीकार गर्छन् । ‘फिल्मकर्मी र दर्शकहरुलाई मप्रति ठूलो विश्वास र आशा छ । फिल्मकर्मीहरुले भोगेका दुःख अहिलेसम्म ज्यूँकात्यूँ रहेकाले मबाट त्यो कुरा परिपूर्ति हुन्छ भन्ने विश्वास राख्नु स्वभाविक हो । यसकारण मलाई काम गरेरै देखाउनु पर्ने चुनौती छ भन्ने महशुस गरेको छु,’ अध्यक्ष केसीले भने ।-फिल्मीखबर,

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here