बिर्तामोड ।

बुधबार सार्वजनिक भएको ०७८ सालको एसईईको परीक्षामा बिर्तामोडस्थित गोमेन्द्र बिर्ता मोडल माविबाट सहभागी विद्यार्थी उत्कृष्ट नतिजाका साथ शतप्रतिशत उत्तीर्ण भएका छन् ।
०५३ सालमा स्थापित गोमेन्द्र बिर्ता मोडल माविले शुरुवाती दिनबाटै व्यवस्थित अध्ययन–अध्यापनसँगै परिणाम पनि उत्कृष्ट हासिल गर्दै आएको बताइन्छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल गणेशप्रसाद खनालका अनुसार यस वर्ष १७ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा सबै उत्कृष्ट नतिजाका साथ उत्तीर्ण भएका छन् । खनालले विद्यार्थीसँगै यो सफलताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक, शिक्षक, कर्मचारी सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् ।
विद्यालयका निर्देशक उत्तम खनालले गोमेन्द्र बिर्ता मोडलमा व्यवहारिक र प्रयोगात्मक विषयको अध्ययन, अध्यापनले उत्कृष्ट नतिजा हासिलमा टेवा पुगेको बताएका छन् । प्याब्सन बिर्तामोडका अध्यक्ष समेत रहेका उनले विद्यार्थीको सफलतामा उसको परिवार, अभिभावक, शिक्षक, विद्यालय प्रशासनको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए ।
कक्षा १२ सम्म अध्यापन हुने गोमेन्द्र बिर्ता मोडलमा छ सय ५० भन्दा बढी विद्यार्थी रहेका छन् । त्यहाँ कम्प्युटर साइन्ससहित वर्तमान परिवेशमा विद्यार्थीका लागि आवश्यक सबै विषयहरु सँगै शेयर कारोबार सम्बन्धी पनि कक्षा सञ्चालन हुने बताइएको छ ।































