अर्जुनधारा ।

गत आर्थिक वर्ष ०७८/०७९मा झापाको अर्जुनधारा नगरपालिकामा एक सय ४० वटा विवाद दर्ता भएका छन् ।
न्यायिक समिति सचिवालयकी कर्मचारी मायाकुमारी ऐरका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ४७ (१) अन्र्तगत ३९ वटा र सोही ऐनको दफा ४७ (२) अन्र्तगत एक सय एक वटा विवाद दर्ता भएका छन् ।
त्यसैगरी दफा ४७ (१) अन्र्तगत दर्ता भएका ३९ मध्ये १४ वटा मिलापत्रको माध्यमबाट विवाद फछ्र्यौट भएको, ८ वटा विवाद अदालतमा सिफारिस गरिएको, ४ वटा विवाद ढिसमिस भएको र १ वटा विवाद तामेलीमा रहेको बताइएको छ । त्यस्तै ९ वटा विवाद दायित्वमा सरी आएको र ३ वटा विवादको जग्गा रोक्का गरिएको छ ।
त्यस्तै दफा ४७ (२) अन्र्तगत दर्ता भएका एक सय एक वटा विवाद मध्ये ४५ वटा विवाद मिलापत्रको माध्यमबाट फछ्र्यौट भएको, १५ वटा विवाद अदालतमा सिफारिस गरिएको, १० वटा विवाद ढिसमिस भएको र ३ वटा विवाद तामेलीमा रहेको छ ।
त्यसैगरी २८ वटा विवाद नगरपालिका अन्र्तगतका विभिन्न वडाका मेलमिलाप केन्द्रमा प्रक्रियामा रहेको छ । सचिवालयका अनुसार न्यायिक समितिमा अधिकांश विवादहरु दफा ४७ (१) अन्र्तगत बाटो विवाद, पैनी विवाद, आली धुर विवाद, ज्याला मजदुरी, बालबालिका ज्येष्ठ नागरिकको पालनपोषण र दफा ४७ (२) अन्र्तगत एक जनाको हकको जमिन अर्काले भोग गरेको, श्रीमान श्रीमतीको विवाद मिलापत्र, गाली बेइज्जत आदि विवादहरु दर्ता हुने गरेका छन् ।





























