कोरोना भाइरसको उद्गमस्थल चीनको बुहान शहरमा फेरि ‘लकडाउन’ घोषणा गरिएको छ । सन् २०२० मा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको चीनको बुहानका बासिन्दालाई तीन दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ । ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको चीनले व्यापक परीक्षण, आइसोलेसनमा कडाइ तथा लकडाउन जस्ता कदमहरु चालेको छ । पछिल्लो पटक शंकास्पद चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनले संक्रमण नियन्त्रण गर्न यस्तो कदम चालेको हो । यद्यपि संक्रमित कसैमा पनि कुनै लक्षण देखिएको छैन । विगतदेखि नै संक्रमण रोक्न चीनले चालेको कदमका कारण अन्य देशको तुलनामा त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै कम छ । चीनको यो रणनीति ‘उपचार गरेर जाती पार्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ’ भन्ने भनाइ अनुरुप छ ।

विश्वलाई तीन वर्षदेखि आतंकित तुल्याउँदै आएको कोरोना भाइरसको उत्परिवर्तित रुपले नेपालमा पनि हजारौंको ज्यान लिइसकेको छ । संक्रमण लगभग शून्यको अवस्थाबाट अहिले क्रमशः उकालो लाग्दै जाँदा बुधबार मात्र शंकास्पद व्यक्तिको परीक्षण गर्दा दुई सय साठी जनामा संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिनको तुलनामा चौवन्न जना बढी संक्रमण भएको तथ्यले कोरोनाको त्रास फेरि बढ्न थालेको संकेत गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन र खोप नलगाएकाहरुलाई खोप लगाउन अनुरोध गरिरहेको छ । कोरोना संक्रमण हाम्रा छिमेकी देशहरु भारत, पाकिस्तान मात्र होइन पश्चिमी मुलुकहरुमा समेत तीव्ररुपले बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा औसत बीस प्रतिशतले संक्रमण बढेको जनाउँदै रुप बदलिएर आउने भाइरसलाई नियन्त्रण गर्न गाह्रो भएको जनाएको छ ।
अहिले विश्वका एक सय दश देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । अझ हाम्रो देशसँग तीन तिरबाट सीमाना जोडिएको भारतमा संक्रमण तीव्र गतिले वृद्धि भइरहेको छ । अहिलेसम्ममा पाँच लाखभन्दा बढीले ज्यान गुमाइसकेको भारतमा संक्रमण बढ्नु भनेको हाम्रा लागि चुनौतिको विषय हो । भारत, चीन जस्ता देशमा संक्रमण बढ्न थाल्नु नेपालका लागि चिन्ताको पनि विषय हो । यसअघि पनि भारतमा संक्रमण बढेसँगै नेपाल जोखिममा परेको थियो । त्यसैले संक्रमणको जोखिम र तीव्रतालाई रोक्न खोप कार्यक्रमलाई पनि तीव्र बनाउनुपर्छ । संक्रमणको पछिल्लो लहरमा खोप लगाएकाहरुको मृत्युदर कम देखिएको कारणले पनि सरकारले खोप अभियानलाई प्राथमिकता दिँदै सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ । यसले मात्र कोरोना संक्रमणको सम्भावित जोखिमलाई रोक्न सहयोग गर्छ ।




























