वडाध्यक्षको सत्कर्म

१५ श्रावण २०७९, आईतवार मा प्रकाशित

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भीमबहादुर नेम्वाङले राज्यका तर्फबाट प्राप्त हुने सेवासुविधा सामाजिक सेवामा समर्पण गर्ने बताएका छन् । यो घोषणा अङ्कगणीतका हिसाबले सामान्य हुनसक्छ तर, जनताद्वारा निर्वाचित जनप्रतिनिधिको यस्तो उदात्त र सेवानिष्ट भावना अमूल्य छ । त्यसो त विगतका जनप्रतिनिधि भएका कतिपयले सुविधा नलिने घोषणा गरेका थिए । त्यस आधारमा वडाध्यक्ष नेम्वाङको घोषणा नौलो नहुन सक्छ । तर, जनताको सेवा गर्छु भन्ने अठोटसहित निर्वाचन जितेका जनप्रतिनिधिहरुले राज्यकोषबाट आर्थिक सुविधा मात्रै होइन अनियमितता गरेको थुप्रै उदाहरण महालेखाको प्रतिवेदनले दिइसकेको छ । अनि पनि केही पवित्र भावनाले जनमतको कदर गर्छु, जनताको सेवा गर्छु भनेर अघि आउँछ भने ऊ स्याबासी पाउने लायक हुन्छ ।

गएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सरकारी सेवासुविधा प्राप्त गर्ने कुरामा ‘लोभी’ भएको आरोप लागेको छ । तर, यही समय नेम्वाङले आफ्नो कार्यकालमा प्राप्त गर्ने सुविधा वडाबासीमध्ये असहाय र विपन्न वर्गको जीवनस्तर उकास्न खर्च गर्ने बताएका छन् । त्यस्तै वडामा रहेका सामाजिक संघ–संस्था, सामुदायिक विद्यालय लगायत सहयोगापेक्षी संस्थालाई वितरण गर्ने उनको प्रतिबद्धताले थोरै भए पनि राजनीति पेशा होइन सेवा हो भनाइलाई प्रमाणित गरेको छ । राजनीति वास्तवमै देश र जनताको सेवा गर्ने माध्यम हो, जसले राष्ट्रको भौतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक उन्नयनमा सहयोग गर्छ ।

जनप्रतिनिधि चयन भइसकेपछि कुनै पनि व्यक्ति कुनै दलको स्वार्थ, आग्रह र परिधिबाट मुक्त हुनुपर्छ । कुनै दलको झण्डा बोकेर चुनाव लडेको र जितेको हुनसक्छ । तर, निर्वाचित भइसक्दा ती सबै संकीर्णताबाट मुक्त हुनैपर्छ । त्यही उदारता र उदात्त भावनाले वडाध्यक्ष नेम्वाङले राज्यबाट प्राप्त हुने सवारीसाधनको सुविधादेखि अन्य कुनै सुविधा नलिने घोषणा गरेर अरुहरुलाई पनि त्यसको अनुकरण गर्ने बाटो देखाइदिएका छन् । जनताको सेवक भनिने जनप्रतिनिधिले दम्भ, अहंकार त्याग्न सकेन भने उसले जनताको प्रतिनिधित्व गर्न सक्दैन । जनप्रतिनिधि भएवापत राज्यबाट प्राप्त हुने सुविधा जनताकै उपयोगमा समर्पण गर्छु भन्ने वडाध्यक्ष नेम्वाङ सबै जनप्रतिनिधिका आदर्श हुन सके भने जनताको विश्वास कायम रहने छ । त्यसकारण पनि वडाध्यक्ष नेम्वाङलाई निर्वाचित गराउने मतदातासँगै उनी पनि सम्मानयोग्य छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here