लागूऔषध अपराधको कारक नबनोस्

0
419

लागूऔषधको प्रयोग १६औं शताब्दीबाटै शुरु भएको मानिन्छ । त्यसबेला अफिम नामको वनस्पति र त्यसबाट बनाइएका वस्तुहरु पीडा नाशक औषधिका रुपमा प्रयोग गरिन्थ्यो । यो सँगै भाङ, धतुरो, गाँजा साधुसन्तहरुले सेवन गर्ने गर्थे भने किसानहरुले घरपालुवा जनावरको उपचारमा प्रयोग गर्थे । यही वस्तु नेपाली जीवनमा ‘हिप्पी’ संस्कृतिसँगै प्रवेश ग¥यो र यसको व्यापक दुरुपयोग हुन थालेको मानिन्छ । मानव सभ्यतामा औषधिका रुपमा प्रयोग गरिने वस्तु कालान्तरमा लागू वस्तुमा रुपान्तरण भएपछि यसलाई अपराध हुर्काउने कारण मानेर नियन्त्रण गर्ने प्रयास थालियो । आतंकवाद सरहको अपराध मानेर लागूऔषधलाई गम्भीर प्रकृतिको अपराधको रुपमा लिँदै अन्य संगठित अपराधहरु, मानव तस्करी, अवैध हातहतियार र अन्तर्राष्ट्रिय आतंकवाद जस्तै स्वीकार गरी नियन्त्रणका लागि कानून बनाउन थालिए ।
आज लागूऔषधको व्यसन सम्पूर्ण विश्वका लागि समस्या, चासो र चिन्ताको विषय बनिएको छ । ठूला र समृद्ध भनिने देशहरुका लागि समेत चुनौति बनेको लागूऔषधको दुष्प्रभावबाट विश्व समाजलाई मुक्त गर्न सबैपक्षको समन्वयात्मक अग्रसरता आवश्यक छ । यसकै कारण एचआइभी–एड्स, हेपाटाइटिस–बी जस्ता प्राणघातक रोगहरुको संक्रमण तीव्ररुपले बढिरहेको सन्दर्भमा खुल्ला सीमाना भएको हाम्रो जस्तो देशका लागि झनै ठूलो चुनौति खडा भएको छ । यसकै कारण घरेलु हिंसादेखि समाज विकृत हुँदै अपराधका घटना व्यापक बन्दै गएको छ । मानव समुदायमा नैतिक अनुशासन ह्रास हुँदै मानवीय मूल्य–मान्यता, सांस्कृतिक, धार्मिक एवम् आध्यात्मिक विशिष्टता समेत हराउँदै गएको छ ।
पछिल्लो समय नेपालीलाई प्रयोग गरी नेपालको बाटो भएर विश्वका विभिन्न देशहरुमा लागूऔषध पु¥याउन थालेको उदाहरणहरु भेटिएका छन् । खुल्ला सीमानाका कारण यसका कारोबारीहरुले नेपाली युवाहरुलाई कुलतमा फसाउने र पैसाको आकर्षण देखाएर नेपाल भित्र्याउन प्रयोग गर्न थालेका छन् । भारतसँग सीमाना जोडिएका झापा, मोरङ, सुनसरी हुँदै सीमावर्ती जिल्लाहरु यसकारण ट्रान्जिट प्वाइन्ट बन्दैछन् भने दिनहुँजसो लागूऔषधका सेवनकर्ता र वाहकहरु पक्राउ पनि परिरहेका पनि छन् । यसै सन्दर्भमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीले लागूऔषधका प्रयोगकर्ता र बिक्रेताहरुलाई धमाधम पक्राउ गरिरहेको छ । यसैले अपराध बढाएको निष्कर्षसहित लागूऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको डीएसपी रुगम कुँवरले बताएका छन् । यसक्रममा पक्राउ परेका मध्ये बीसदेखि तीस वर्ष उमेर समूहका धेरै रहेकाले प्रहरी सचेतनासँगै नियन्त्रणमा लागीपरेको बताइएको छ । समाजलाई अशान्त बनाउने, हिंसा र अपराध बढाउने यसको प्रयोग, आयात तथा कारोबारलाई निस्तेज तुल्याउनु समाजलाई अमनचैन दिने आधार हो । यसका लागि प्रहरी मात्र होइन अभिभावक, स्थानीय सरकार, सम्बद्ध संघ–संस्थाको समन्वयात्मक सहकार्य आवश्यक छ । यसतर्फ सरोकारवाला सबैको गम्भीर अग्रसरता देखिनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here