आमाको खुशी

२१ श्रावण २०७९, शनिबार मा प्रकाशित

बर्खाको समय छ । लगातार पानी परिरहेको छ । पानी रहन्छ भन्ने सम्भावना देखिँदैन । रेडियोमा कतै बाढी–पहिरो आएको खबरहरु आइरहेका छन् । कतै चट्याङ लागेर मान्छे मरेछन् । कति त बेपत्ता छन् । टेलिभिजनमा समाचार प्रशारण भइरहेका छन् ।

बर्खाको समयमै हराएको थियो फूलमायाको छोरा दिपेन्द्र । आजभन्दा २२ वर्षअघि हराउँदा ८ वर्षको थियोे । खेल्न जान्छु भनेर गएको छोरो फर्किएर आएर । धेरै ठाउँमा खोजी गरेँ । रेडियोमा टेलिभिजन विभिन्न मिडियामामा हराएको सूचना दिए उनीहरुले । कहिँ फेला पार्न सकेनन् । हरेक वर्षको बर्खाको समयमा छोरा सम्झिएर रुने गर्छिन् फूलमाया घर्ती ।

उनलाई लाग्छ छोरा एकदिन त अवस्थ फर्किन्छ । आमाको माया सम्झेर आउँछ कुनै दिन । बाहिर मुसलधारे पानी परिरहेको छ । भित्र–बाहिर गरिरहेकी छिन् । बाटो हेर्छिन् । छोराको फोटो हेरेर भन्छिन्– ‘तँ जहाँ भए पनि फर्किएर आइज बाबु हामीले बाटो हेरेर बसिरहेका छौं ।’

१२ वर्षमा खोलो त फर्किन्छ भन्छन्– छोरा फर्किएर आउँछ विश्वास छ उनलाई । बिहानैदेखि काग कराइरहेको छ, कुकुर भुकिरहेको छ । उनको मनभित्र द्वन्द्व खेल्न थाल्यो । अनेकखालको विचार आउन थालिसकेको थियो । नराम्रो खबर आउने हो कि । विरक्तिइन् उनी । निराशाको बादलले छेक्यो । अन्धकार भए जस्तो लाग्यो आफूले टेकेको धर्ती भासिए जस्तो लाग्यो । बिहानको खाना पनि राम्रोसँग खान सकिनन् ।

मध्यान्ह भइसकेको थियो । हरिया मकै छोड्याउँदै बसिरहेकी थिइन् पिँढीमा बसेर । कहिँबाट आवाज आए जस्तो लाग्यो उनलाई । ‘आमा ढोग छ है म आइपुगँे ।’ पहिला त अलमल परिन् । चिन्नै गाह्रो भो फूलमायालाई । उसले भन्यो– ‘आमा म दिपेन्द्र ।’ तब उनी एक्कासी उठिन् र भनिन्– बाबु तँ ।’

उनको मनभित्र लागेको कालो बादल हटेर गए जस्तो लाग्यो । निराशा आशामा परिवर्तन भयो । उनी खुशीले गदगद् भइन् । जीवनमा पहिलोपटक यति खुशी भएको अनुभव भयो उनलाई ।

‘त्यसदिन म पैसा कमाउन हिँडेको थिए, भारत पुगेको थिए । उतै होटेल काम गरेँ । भाडा माझेँ । संघर्ष गरेँ । मलाई घर फर्किन मन लागेन ।’ – आमालाई सुनाउँछ उसले गरेको संघर्षका कुरा ।

अझ थप्दै गयो– ‘सपनामा हाम्रो गाउँमा बाढी पसेछ, हाम्रो घर सबै बगाएछ । नराम्रो सपना देखेँ । हाम्रो गाउँ–घर कस्तो भएछ भन्ने लाग्यो र आमाको माया अझै धेरै लाग्यो । अनि म घर फर्किएर आएँ ।’

दिपेन्द्रको आमाले भनिन्– ‘तैले घर छोडेको वर्ष दिन नहुँदै तेरो बुबाको निधन भयो । दिदी पनि पोइल गइ । तेरो भाइ र म बस्दै आएका छौं । ठूलो भएछ, मोटाएछ पनि । चिन्नै सकिनँ मैले त ।’ –आमाले फेरि भनिन् ।

धेरै समयसम्म गफ गरिन् छोरासँग । त्यही छोड्याएको मकै दिइन् खाजामा । दाजु फर्किएर आएको खुशीमा । खसीको मासु लिन गयो । फूलमायाको छोरो फर्किएर आएछ र कस्तो भएछ भनेर गाउँका मानिसहरु हेर्न आए । बेलुका आमा भाइसँग बसेर खाना खायो दिपेन्द्रले ।

‘आमा पनि बुडी हुनुभएछ । मैले आमालाई कति दुःख दिएँ । अबदेखि कहिल्यै दुःख दिन्नँ’ –मनमनै सोच्यो र टप्लक्क आँशु झा¥यो । उता आमा चाहिँ छोरा फर्किएर आएकोमा अत्यन्तै खुशी देखिन्थिन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here