ज्ञानराज सुवेदी र उनको ‘रुपान्तरण’ महाकाव्य

२१ श्रावण २०७९, शनिबार मा प्रकाशित

हरि कट्टेल,

कविताका हाल प्रचलनमा रहेका विभिन्न आयामहरु मध्ये सबैभन्दा लामो तथा फराकिलो आयामको कविताको आख्यानिकृत रुप हो– महाकाव्य । हाल नेपाली साहित्यमा महाकाव्य लेखन पनि मौलाउँदो अवस्थामा नै छ भन्न सकिन्छ । कविता साधनामा रहेका धेरै स्रष्टाहरु समय–समयमा महाकव्य लिएर पेश भइरहेका छन् । यसै क्रममा केही समय अगाडि रुपान्तरण महाकाव्य लिएर प्रस्तुत भएका पाका स्रष्टा हुन्– ज्ञानराज सुवेदी ।

विक्रम सम्वत् २००६ सालमा भोजपुरको दिङ्लामा जन्मिएका महाकाव्यकार ज्ञानराज सुवेदी सस्तो प्रचारबाजीको प्रतिस्पर्धामा नउत्रिइ निरन्तर काव्यसाधना गरिरहने कवि हुन् भन्ने कुरा उनका हालसम्म प्रकाशित १९ थान कविताकृृतिहरुलाई साक्षी राखेर भन्न सकिन्छ । उनका षडानन्द (स्मृतिकाव्य), खण्डकाव्यहरु– शान्तिभित्रको क्रान्ति, शिव सन्देश, योगमाया, अर्पण (लघुकाव्य) र चिन्तनको चौतारी (कविता सङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित छन् । विभिन्न संघ–संस्थाहरुमा आवद्ध सुवेदी विभिन्न मान–सम्मान तथा पुरस्कारहरु समेतबाट विभूषित देखिन्छन् ।

कवि ज्ञानराज सुवेदीद्वारा रचित अन्य कृतिहरुको अध्ययन गर्ने सौभाग्य त मैले पाएको छैन तथापि यो पछिल्लो महाकाव्य रुपान्तरणको अध्ययनको अवसर भने प्राप्त भयो । तसर्थ गुणस्तरीयता, रचनाशिल्प, प्रस्तुति कौशलका सन्दर्भमा अन्य कृतिहरुले छोडेको प्रभाव मसँग रहेन । उनको यसै कृतिको अध्ययनबाट ममा व्युत्पन्न प्रभाव नै मेरो पाठकीय दृष्टिकोण रहन गएको छ । रुपान्तरण महाकाव्यमा जम्मा लामा–छोटा पन्ध्र सर्गहरु छन् । सकेसम्म शास्त्रीय अनुशासनलाई आत्मसात गरिएका एक दर्जनभन्दा बढी अर्णमात्रिक छन्दको प्रयोग यसमा छ । काव्यको अध्ययन गर्ने अध्येताले केही श्लोकहरुमा छन्द प्रयोगमा गण तथा मात्रामा केही विचलन रहेको पाउँछ । विभिन्न अलङ्कारहरुको प्रयोग भए पनि अनुप्रास अलङ्कार प्रयोगमा यदाकदा समस्या छ । वीर अङ्गी रस रहेको यस काव्यमा शृङ्गार, रौद्र भयानक जस्ता रसहरु पनि प्रयोग भएका छन् ।

महाकाव्यमा २९ देखि ५१ श्लोकसम्मका सर्गहरु छन् । सर्गान्तमा छन्द परिवर्तन गर्ने र अन्तिम श्लोकले आउँदो सर्गको कथानकको पूर्वसंकेत गर्नुपर्ने पूर्वीय महाकाव्यको मान्यतालाई महाकाव्यमा अनुशरण गरिएको छ भने महाकाव्यको प्रथम सर्गमा परम्परागत पूर्वीय मान्यताको अवलम्वन गर्दै सरस्वती र सिद्धी गणेशको उपासना गरी मङ्गलाचरण गरिएको छ । यसपछिका सर्गहरुमा शृंखलाबद्ध आख्यानात्मक अन्तर्वस्तुको क्रमागत उपस्थापन गर्ने प्रयत्न गरिएको भए तापनि केही सर्गहरु पछिको कथानक मूल कथासँग अलि भागेर थोरै बरालिएको देखिन्छ । काव्यमा विविध रसको सिर्जना गर्ने कविको रहरले पनि यसो भएको शंका गर्न सकिन्छ । तर, पनि पछिल्ला सर्गहरुमा भने काव्यले पुनः गोरेटो समातेको छ ।

महाकाव्यको मूल कथाले हाम्रै राजनीतिक दृष्य परिदृष्यलाई केन्द्रीय कथ्य बनाएको छ । यसले खासगरी हाम्रो देशमा देखिएको राजनीतिक व्यथिति र विकृतिका विरुद्ध कटाक्षेप गरेको छ । काव्यको नायक बीरबहादुर छ । जसले भ्रष्टाचार, दूराचारमा निर्लिप्त रहेको सरकारका विरुद्ध र भ्रष्ट नेताहरु विरुद्ध क्रान्तिको झण्डा उठाएको छ, विद्रोह गरेको छ र अनेक समस्याहरुका साथ गुज्रिरहेको मुलुकमा नयाँ राजनीतिक मूल्य र मान्यताको स्थापनार्थ जनताहरुलाई गोलबन्द गर्दै अघि बढेको छ ।

काव्यले हाम्रा समाजका विविध विकृत प्रसंगहरुलाई उठाएको छ । काव्यमा हाम्रो समाज प्रतिविन्वित छ । हाम्रो समाजमा जस्तै कविको काव्य– समाजमा पनि मायाप्रेम मायाप्रेम जस्तो छैन, विवाह विवाह जस्तो छैन, सामाजिक समस्याहरु झन्–झन् बढिरहेका छन् । पारपाचुके सामान्य भएको छ, इलम बिना सरकारले महिलाहरुलाई गलत बाटो समाउन बाध्य बनाएको छ, नेता भ्रष्ट छ । मान्छेहरुमा राक्षसी मनोवृत्तिको विकास भएको छ । यी कुराहरुका विरुद्ध बीरबहादुर उर्फ बीरेले आन्दोलन छेडेको छ र वीरेका नेतृत्वमा छेडिएको आन्दोलनमा आम जनसमुदाय गोलबन्द भएको छ ।

स्वार्थी तानाशाशी सरकारले जनाताका जायज आवाजलाई पुलिसका बुटद्वारा कुल्चने कोशिश गरेको छ, तर हार खाएको छ । तत्कालीन सरकार सोझा जनताहरुलाई फोस्रा आश्वासन बाँडेर आन्दोलनको ज्वारलाई साम्य गर्न त खोज्छ र आफू नै जनताको सरकार भएको दावा त गर्छ । तर, जनताहरु सरकारको त्यो दावालाई ठाडै अस्वीकार गर्छन् । सरकारका मन्त्रीहरु नायक वीरेका मतियार नबन्न आग्रह गर्छ र भन्छ र मतियार बनेका खण्डमा राज्यले सहन गर्न नसक्ने उद्घोष गर्छ । तर, जनताहरु पुरानो सत्तासँग वाक्क–दिक्क भइसकेका हुन्छन् र उनीहरु वीरेलाई पूरा भरोसा गर्छन् । सर्वसाधारणहरु सरकारलाई पत्याउन्नन् । उनीहरु बलिदानी दिन समेत तयार भएर क्रान्तिमा होमिन्छन् । उनीहरु आफूहरु माथि भएको भेदभाव उल्लेख गर्दै तानाशाही सरकारलाई भन्छन् ः

काखापाखा दुई तरहले गर्दछौ भेद्भाव
उस्तै भा नि सकल जनता राज्यका सामु आज
एकैतन्त्री जन अहितको आज सर्कार हुन्न
थाल्यौँ हामी जनहित हुने ल्याऊँ सर्कार भन्न ।

त्यो सरकार कस्तो थियो र त्यो तन्त्रभित्र कसरी धमिरा पलाउन थालेका थिए भन्ने कुरातर्फ संकेत गर्दै कवि लेख्छन् ः

आयो–आयो समय फिरदै देशमा भाँती–भाँती
जस्तो पञ्चायत नियमको नीति बन्थ्यो नजाती
आयो त्यस्तै अझ तल झरी देशमा तन्त्र धाती
नेताजीका भजनहरु नै बन्न थाले बिलासी ।

महाकाव्यमा अन्ततः बीरबहादुर नेतृत्वको आन्दोलन सफल हुन्छ र वीरे प्रधानमन्त्री हुन्छ । जनताहरुमा आशाको सञ्चार हुन्छ । वीरबहादुरले जनताका दुश्मन भ्रष्ट नेताहरुलाई जेल कोच्छ । जनतामा खुशियाली छाउँछ । त्यसबेला जनताहरु पूर्ववर्ती सरकारलाई यसरी सम्झन्छन् :

एकलौटी यहाँ यौटा थियो तन्त्र निरंकुश
छिमेकी मित्रका सामु गफ गर्ने वकम्फुस
बोल्नेका मुखमा ताल्चा लगाए जतिकै थियो ।
नबोल्ने जनतामाथि हप्की दप्की ठूलो थियो ।

जब जनचाहना अनुसारको राज्य सत्ताको स्थापना भएको छ । जनताहरु खुशीले गद्गद् छन् । जनताहरु विगतसँग वर्तमानको तुलना गर्छन् । राज्य राम राज्य झैँ लाग्ने भएको छ । यसरी हेर्दा यो महाकाव्य नेपालमा रहेको तत्कालीन पञ्चायती व्यवस्थाको प्रवृत्ति चित्रणको पृष्ठभूमि, त्यसविरुद्धको जनआन्दोलन र सो पछि लोकतन्त्र तथा गणतन्त्रभित्र मौलाएको विसंगतिको प्रवृत्तिलाई आख्यानीकरण गरेर आएको देखिन्छ । कथानक पढ्दै जाँदा काव्य कथाले पञ्चायती व्यवस्था र त्यसका विरुद्धको जनआन्दोलनको विम्व पेश गरी रहेको आभाष एउटा नेपाली पाठकलाई पर्न जान्छ । यो महाकाव्यको कथानक हाम्रो राजनीति र भोगाइसँग पटक्कै दूर छैन । काव्यमा कतै यथार्थ छ त कतै कवि आदर्श छन् । नेपाली समाजले भोगेको वर्तमान यथार्थलाई कविको कल्पनाको लेपन लगाएर महाकाव्य बगेको छ । हाम्रै वर्तमान बेथितिका चित्रण र नयाँ संस्कारको थालनीका रुपमा विभिन्न दृष्टान्तहरु अघि सारिएका छन् । काव्यमा वीरबहादुर नेतृत्वको नयाँ सरकारले राज्यको सवलीकरणका निम्ति नया–ँनयाँ किसिमका वैज्ञानिक तौर तरिकाहरु अपनाएको छ । पञ्चम सर्गमा संघीय राज्यमा केन्द्रको सबलता र प्रान्त तथा स्थानीय सत्ताको सक्रियताको बखान छ । यसै सर्गमा कम्यूनको नवीन अवधारणा प्रस्तुत छ । यहाँ महाकाव्यकार लेख्छन् ः

गाउँमा प्रति एकाई दश धुरी मिलाइयो
दशका निम्तिमा एउटा संगठन बनाइयो
दश सर्कारको नाउँ राखियो जब देशमा
त्यो दशै धुरीको निम्ति कर्मचारी छ एकमा ।

यसरी कविले राज्य सञ्चालनका लागि विभिन्न अवधारणाहरु राखेका छन् । कथानकमा यथार्थमा स्वैर कल्पनाताको लेपन छ । यो तहसम्मका काव्य पंक्तिहरु हाम्रा राजनीतिककर्मीहरुका निम्ति मननीय छन् । काव्यका कतिपय सर्गमा न्यायपूर्ण समाज र भ्रष्टाचार विहीन संयन्त्रको परिकल्पना छ । एउटा देश र जनताप्रति बफादार र इमान्दार नेतृत्व भएका खण्डमा देशले काँचुली फेर्न कत्तिबेर लाग्दैन भन्ने आशय महाकाव्यमा छ । काव्य पढ्दा जुनसुकै नेपाली मनको पाठकले वीरबहादुर जस्ता राजनेताको अभाव महशुस गर्छ हाम्रा मुलुकको राजनीतिमा घुसेका धमिराहरुलाई वीरबहादुरले झैँ जेलमा सडाउन पाए कस्तो हुन्थ्यो ! भन्ने पाठकलाई लाग्छ । काव्य पढ्दै जाँदा जब जनविद्रोह भेटिन्छ, रौँ ठाडा हुन्छन् र कतै हाम्रो राजनीतिप्रति घृणाको डंगुर निर्माण हुन्छ । काव्यमा वीरबहादुर एक आदर्श नेता छ । उसको चरित्र र नेतृत्व अनुकरणीय छ । कसरी सफल र सबल नेता हुन सकिन्छ भन्न चाहनेहरुलाई समेत काव्य सिर्जित केही सर्गहरु पक्कै शिक्षाप्रद छन् ।

महाकाव्यका केही सर्गहरु मूल कथाभन्दा केही भागेका छन् तथापि तिनीहरुले पनि हाम्रो जनजीवन, परम्परा, रीतिथिति, औषधि विज्ञान आदि व्यक्त गरेका छन् । यदि शुरुका सर्गहरुमा जस्तै काव्य नायकका वरिपरि घुम्न सकेको भए र काव्यमा प्रयुक्त छन्द लेखन मानकमुखी बनाउन सकेको भए यो काव्य अझै उत्कृष्ट महाकाव्य बनेर आउने थियो भन्ने कुरामा दुईमत छैन । जे होस् समाज रुपान्तरणको चिन्तनबाट सिर्जित यो प्रगतिशील महाकाव्य पठनीय, मननीय र सङ्ग्रहणीय छ । अन्तमा, महाकाव्यकार सुवेदीलाई यो रुपान्तर महाकाव्यका निम्ति बधाई दिन्छु । कविको साधनाले छन्द लेखनलाई अझै निखारोस् र नेपाली महाकाव्य जगत्ले यो भन्दा अझै परिपाठपूर्ण पोटिलो कथानकमा अर्काे अझै सुन्दर र मानक महाकाव्य प्राप्त गरोस् । कविलाई स–सम्मान हार्दिक शुभकामना । (कट्टेल समालोचक हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here