प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्वर बराल निर्वाचित

0
350

मेचीनगर ।

प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा आगामी दुईवर्षे कार्यकालका लागि प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्वर बराल निर्वाचित हुनुभएको छ ।

प्रेस यूनियन, प्रेस संगठन, समाजवादी प्रेस संगठनकातर्फबाट साझा उम्मेद्वार बन्नु भएका वराल प्रेस चौतारीका अध्यक्षका उम्मेद्वार शिशिर चौलागाईँलाई १ मतले पराजित गदैं अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक सन्तोष आचार्यले जानकारी दिनुभयो । वरालले २४ र चौलागाईँले २३ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार जिआर धिताल २५ मत प्राप्त गर्दै विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी प्रेस चौतारीका खगेन्द्र घिमिरेले २२ मत प्राप्त गर्नुभएको निर्वाचन समिति सदस्य विश्व थापाले बताउनुभयो ।

सचिवमा गठबन्धनका देबु बानियाँ २८ मतका साथ विजयी बन्नुभयो भने उहाँका प्रतिस्पर्धी प्रेस चौतारीका हेमन्त निरौलाले १९ मतमा चित्त बुझाउनु पर्यो । सहसचिवमा सर्वाधिक मत प्राप्त गदैं गठबन्धनका उम्मेद्वार दिलिप थापा निर्वाचित हुनुभयो । थापाले कुल खसेको मत मध्ये ३० प्राप्त गर्दा अर्का सहसचिवका उम्मेद्वार प्रविन अधिकारीले १७ मत प्राप्त गर्नुभयो ।

समावेशी उपाध्यक्षमा रीता दाहाल र कोषाध्यक्षमा विनिशा शर्मा निर्विरोध हुनुभयो । सदस्यहरुमा सुजन प्रधान, विश्वास दाहाल, नेहाल दर्जी, गगन ढकाल,होमराज राई, विकास देवकोटा निर्विरोध हुनुभएको निर्वाचन समितिले जनाएको छ । कुल ५९ जना मतदातामध्ये ४७ जनाले मतदानमा भाग लिइएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here