पथरीशनिश्चरे नगरपालिकाले नदीजन्य वस्तुको उत्खनन्का लागि सरकारी कोषमा जम्मा गरेको रकम ठेकेदार कम्पनीलाई फिर्ता दिने विवादास्पद निर्णय गरेको समाचार प्रकाशित भएको छ । स्थानीय डाँस खोलाबाट नदीजन्य वस्तु उत्खनन् गर्ने ठेक्का पाएको बी एण्ड बी कन्स्ट्रक्सनबाट धरौटीवापत जम्मा गरेको रकम आर्थिक नियम विपरीत फिर्ता गर्ने निर्णय गरेर नगरपालिकाले विधिको उल्लंघन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यसै पनि परम्परादेखि नै ब्रह्मश्व अग्निश्व र राजश्वमा परेको सम्पत्ति कुनै पनि अवस्थामा फिर्ता हुँदैन भन्ने गरिएको छ । यसको अर्थ ठेकेदार कम्पनीबाट ठेक्कावापत प्राप्त धरौटी राजश्वमा जम्मा हुन्छ र राजश्वमा जम्मा भइसकेको रकम कसै गर्दा पनि फिर्ता गर्न मिल्दैन । तर, पथरीशनिश्चरे नगरपालिकाको वर्तमान नेतृत्व र कार्यपालिकाको बोर्ड बैठकले धरौटीवापत जम्मा भएको रकम ठेकेदारलाई नोक्सानी भएको भन्दै फिर्ता दिने निर्णय गरेको छ ।
ठेकेदार कम्पनीका सञ्चालक कुनै दल विशेषका व्यक्ति हुन् भन्दै अनुकूलको नेतृत्वले विधि, प्रक्रिया र ऐन–कानून विपरीत काम गर्नुहुँदैन । यदि त्यसो गर्न थालियो भने विधिको शासन कायम हुँदैन । स्थानीय सरकारप्रति विश्वास गर्ने अवस्था पनि रहँदैन । नगर कार्यपालिकामा एमालेको बहुमत रहेको र त्यही बहुमतको नाजायज फाइदा लिँदै आम्दानीमा दाखिला भइसकेको राजश्व रकम फिर्ता गर्ने काम आर्थिक ऐन विपरीत हुने जानकारहरु बताउँछन् । डाँस खोलाको चार ठाउँबाट नदीजन्य वस्तु गिटी, बालुवा, ढुंगा उठाउने ठेक्का लिएको ठेकेदार कम्पनीका सञ्चालक नेकपा एमाले निकट युवा संघको केन्द्रीय सदस्य, नेकपा एमाले मोरङका जिल्ला सदस्य हुन् र त्यहीकारण पार्टीकै दबावमा कार्यपालिकाको बैठकले राजश्वमा जम्मा भएको रकम फिर्ता गर्न बाध्य भएको बताइएको छ ।
ठेकेदार कम्पनीले ठेक्का सम्झौता गर्दा ‘कुनै पनि बहानामा धरौटी रकम फिर्ता माग्ने छैन’ भनी कबुलियतनामा गरेकोले राजश्वमा जम्मा भएको रकम फिर्ता गर्न नमिल्ने लेखा शाखाले राय दिएको थियो । यस्ता रायसुझाव, आर्थिक ऐन र प्रचलित विधि विपरीत उक्त नगरपालिकाले गरेको निर्णयको कार्यान्वयन नजिर बन्न पुग्यो भने दुर्भाग्यपूर्ण हुनेछ । आ–आफ्नो आबद्धता, पहुँच र भनसुनकै भरमा गरिने यो र यस्ता कार्य अरु पालिकाहरुमा पनि हुन सक्छन् । यसले फेरि पनि ‘लाठी हुनेको भैंसी’ भन्ने उखान चरितार्थ हुन जान्छ । यो अवस्था कुनै पनि सभ्य र प्रजातान्त्रिक समाजका लागि सुहाउँदो हुँदैन । त्यसैले विधि विपरीतका कुनै पनि काम अन्त्य हुनुपर्छ अनि मात्र आदर्श र सुशासनको अनुभूति गर्न पाइन्छ ।