पछिल्ला विश्व घटनाक्रमले विश्व पुनः सन् १९८० को दशकअघि फर्किन थालेको छ । नेटो र वार्सा प्याक्टका कारण अमेरिका र रुसको नेतृत्वमा विभक्त भएको विश्व सन् १९८० को दशकको अन्त्यमा सोभियत संघको विघटनसँगै समाप्त प्रायः भएको थियो ।
अमेरिकाको एकल नायकत्व रहेको विश्वमा मुर्दा शान्ति भए पनि हामी जस्ता शान्तिप्रिय देशका लागि ढुक्क थियो । तर, रुसले भ्लादिमिर पुटिनको नेतृत्व पाएपछि रुसको पुनरोदय भएको छ । पुटिनको महत्वकांक्षा र सोभियत संघमा आबद्ध देशहरुलाई पुनः प्राप्त गरी अमेरिकालाई टक्कर दिने चाहनाले विश्व पुनः शीतयुद्धमा गएको छ । कुनै पनि बेला महायुद्ध हुन सक्छ । यो तेस्रो विश्वयुद्ध पनि हुन सक्ने आशंका छ ।
पृष्ठभूमि :
सन् १९८० को दशकको अन्त्यमा रुसमा कम्युनिष्ट शासनको पतनसँगै सोभियत युनियनको पनि विगठन भएको थियो । रुसबाट कम्युनिष्ट अधिनायकत्वको समाप्तिसँगै शीतयुद्ध सकिएको र अमेरिका एकल नायक भएको भनिन्थ्यो । थियो पनि त्यस्तै । तर, रुसका कट्टर राष्ट्रवादीहरुलाई विश्वमा अमेरिका एक्लो नायक भएको मन परेको थिएन । तर, रुस तत्काल अमेरिकाविरुद्ध उभिन सक्ने अवस्थामा थिएन । रुसी जनता भोक टार्न एउटा ब्रेडको लागि संघर्षरत थिए ।
७० बर्षको कम्युनिष्ट अधिनायकत्वमा शासकहरुले देशलाई वादका नाममा, अहमतुष्टिका नाममा र मोजमस्तीका नाममा खोक्रो बनाएका थिए भने राज्यको अरनखटनले जनता आफैं केही गर्न असक्षम भएका थिए । उनीहरुलाई मेशिन बनाइएको थियो । अराएको मात्र गर्न जान्ने । आफैं केही सोच्न र गर्न नसक्ने पंगु ।
सोभियत संघको विगठनसँगै कम्युनिष्टका नाममा संघमा आबद्ध भएका र पारिएका देशहरु स्वतन्त्र देश भएका थिए । उनीहरु र रुस आफ्नै भोक टार्न संघर्ष गर्नुपर्ने अवस्थामा पुगेपछि अमेरिकाको लागि यो अवसर स्वर्ण युग जस्तै थियो । यसको भरपुर उपयोग गर्दै अमेरिकाले आफूलाई नायक बनाएर अझ शक्तिशाली भयो ।
तर, अमेरिका सधैँ नायक हुने अवस्था रुसका कट्टर राष्ट्रवादीलाई पाच्य भइरहेको थिएन । उनीहरु देशभित्र शक्तिशाली नेतृत्वको खोजीमा थिए । जसले प्रजातन्त्र पनि कायम राखोस र शासनमा निरंंकुश पनि बनोस् । यसको भर्पाइ गर्न पुटिन अगाडि आए । एक सक्षम गुप्तचर प्रमुख भइसकेका पुटिनलाई जनताले कट्टर राष्ट्रवादी र सक्षम शासक हुनेमा विश्वस्त भए र नेतृत्व दिए ।
अर्कातिर अमेरिका एक्लो नायक भएर शक्तिशाली हुँदै दादागिरी गर्न थालेको शक्ति आर्जित गर्दै गएका चिन र भारतलाई पनि पचिरहेको थिएन । उनीहरु पनि अमेरिकाविरुद्ध भिड्न सक्ने सहयोगी खोजिरहेका थिए । त्यसैगरी खाडी राष्ट्रका इरान र इराक पनि अमेरिकाविरुद्ध अघि बढ्न सक्ने सहयोगी खोजिरहेका थिए । त्यसमा पनि इरान यसै पनि शुरुदेखि नै अमेरिका विरोधी भूमिकामा थियो । तर, यी देश आफैं नेतृत्व लिन सक्ने अवस्थामा थिएनन् । यस्तोमा पुटिनको उदय उनीहरुका लागि आशाको किरण थियो । भयो पनि त्यस्तै । रुसले पुटिनको नेतृत्वमा आफूलाई शक्ति सम्पन्न बनायो आर्थिकरुपमा पनि आणविक हातहतियारमा पनि ।
विश्व राजनीतिको आकाशमा पुटिन अमेरिकाविरुद्ध अगाडि आए । उनले डोनाल्ड ट्रम्पको पालामा उनलाई जिताउन भूमिका खेले । क्रमशः शक्तिशाली बनेका पुटिनले सोभियत संघ विगटनमा युक्रेनको अंग भएको रणनीतिक महत्वको क्रिमियालाई सन् २०१४ मा घुमाउरो पारामा आफ्नो देशमा मिलाए । यो उनको कुटनीतिक सफलता थियो भने नेटो राष्ट्र खासगरी अमेरिकाको असफलता थियो । यस घटनाको विरुद्ध नेटो देशहरु मौखिकरुपमा उत्रिए । विश्वका अरु देशले खासै चासो दिएनन् । बरु अमेरिकालाई हराउन सफल भएकोमा कम्युनिष्ट देश चिन र उत्तर कोरियाले भित्रभित्रै रुसलाई धन्यवाद दिए । अरु विश्वका कम्युनिष्टहरु खुशी भए । आफ्ना करिब २५ लाख जनता रुसमा गाभिँदा युक्रेनले केही गर्न सकेन । यसबाट युक्रेनले सोच्यो, नेटोमा सम्मिलित भयो भने भविष्यमा सहयोग र सुरक्षा पाइन्छ ।
ध्रुवीकरणको शुरुवात :
यस पृष्ठभूमिबाट तयार हुँदै गएको शक्तिको दुई ध्रुवको नेतृत्वमा एकातिर रुस पहिला जस्तै सबल र शक्तिशाली भएर अमेरिकाविरुद्ध उभिन्छ भन्ने प्रष्ट भयो भने अर्कातिर अमेरिका त नेटो देशको मुखिया नै थियो । रुसले खुट्टा टेक्छ भन्ने विश्वास भएपछि चिन र भारत रुसका पक्षमा गए । भारत यसै पनि इन्दिरा गान्धीकै पालादेखि रुसको पक्षमा थियो भने चीन पनि पहिलेदेखिकै मित्र थियो । भारत र चीन एक–अर्काका दुश्मन भए पनि अमेरिकाविरुद्ध रुसलाई साथ दिनेमा एक भए र भएका छन् । भारत अप्रत्यक्ष लागेको छ भने चीन प्रत्यक्ष नै लागेको छ । यसको पछिल्लो उदाहरण हो, युक्रेन युद्धमा भारत र चीनको चुप्पी ।
रुसले आफ्नोविरुद्ध गठबन्धन गरेर एउटा विरोधी ब्लक नै तयार पार्न थालेपछि अमेरिकाले पनि नेटोको विस्तार गर्न थाल्यो । यसैक्रममा उसले रुसको नजिकको सीमाना जोडिएको छिमेकी युक्रेनका कलाकार नेता जेलेन्स्कीलाई फँसाउँदै नेटोको सदस्य बन्न राजी गरायो । यही तत्कालीन कारण पनि बनेको छ रुसले युक्रेनमा आक्रमण हुने । यस आक्रमणमा नेटो देशले युक्रेनको रक्षका लागि पैसा र हाहतियार दिए पनि सेना दिएनन् । जसका कारण युक्रेन एक्लै लड्नु पर्दा तबाह भइरहेको छ । अमेरिकाले युरोपका अरु केही राष्ट्रलाई पनि नेटोको सदस्य बनाउन सहमति दिएको छ । यसले ध्रुवीकरण बढ्दै जाने प्रष्ट छ ।
अमेरिकाको यस चालविरुद्ध पुटिन पनि सम्बन्ध विस्तारमा लागेका छन् । उनले टर्कीलाई आफ्नो बनाउन प्रयास गर्दै छन् भने इरानलाई आफ्नो बनाइसकेका छन् । अहिले रुस, चीन र इरान अमेरिकाविरुद्ध फ्रन्ट लाइनमा आइसकेका छन् भने भारत अप्रत्यक्ष रुसकै पक्षमा देखिएको छ । यस ध्रुवीकरणलाई अमेरिकाले प्रजातन्त्रविरुद्ध निरंकुशतन्त्र (म्झयअचबअथ खभचकगक बगतयअचबअथ) भनेको छ, आफूविरुद्धको ब्लक भनेको छ । राष्ट्रपति जो बाइडेनले यो ब्लक अमेरिकाविरुद्ध भएको प्रतिक्रिया दिइसकेका छन् ।
युक्रेन र ताइवान :
युक्रेनमा २४ फरवरी २०२२ मा शुरु भएको आक्रमण अहिले निरन्तर जारी छ । रुसको आक्रमण रोक्न युक्रेन एक्लै छ । युक्रेनका पूर्वी भाग कब्जा गरिसकेर तिनीहरुको सुरक्षाको ग्यारेन्टी हुने भएपछि सम्भवतः रुसले आक्रमण रोक्न सक्छ । त्यसबेलासम्म युक्रेन तबाह भइसक्छ । युक्रेनमा रुसको आक्रमण अमेरिकाविरुद्ध अर्को नायक तयार हुनु नै हो । यसबाट चीन, उत्तर कोरिया र विश्वभरका कम्युनिष्टहरु खुशी नै हुन्छन् र भएका छन् । केही अमेरिका विरोधी मुश्लिम देश र मुश्लिमहरु पनि खुशी छन् । युक्रेनमा रुसले आक्रमण गर्ने धेरै कारण छन् । त्यसको विवेचनापछि कुनै आलेखमा गरौंला ।
अब लागौं ताइवानतर्फ । ताइवान नामक देश अमेरिकाको समर्थनमा बनेको प्रष्ट नै छ । चीनमा माओत्सेतुङले कम्युनिष्ट शासन शुरु गरेपछि त्यसलाई टक्कर दिन ताइवानलाई अमेरिकाले समर्थन गरेर उसकै सहयोगमा टिकेको पनि हो । चीनविरुद्ध प्रयोग गर्ने अमेरिकाको हतियार हो ताइवान ।
यो मुद्दा चीनले बेला–बेला उठाउँदै आए पनि आक्रामक भएको थिएन । जब रुसले युक्रेनमा आक्रमण गर्यो र अमेरिका त्यतातिर लाग्यो चिनले ताइवानमा आँखा गाड्न थाल्यो । यो बुझेपछि अमेरिकाले ताइवानी नेता र जनताको गुदी छाम्न सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमणमा पठाएको हो । चीनकी कट्टर विरोधी ८२ बर्षकी पेलोसीले त्यहाँका शासकमा हिम्मत दिइन् र सबै किसिमको सहयोग दिने बचन र विश्वास दिइन् । उनीहरुले पनि खुट्टा नकमाउने बचन दिएका छन् पेलोसीलाई ।
चीनको कोर्टमा बल :
रुसले युक्रेनमा आक्रमण गरे जस्तै चीनले ताइवानमा आक्रमण गर्ने कि कुटनीतिक आक्रमण मात्र गरेर यस क्षेत्रमा बारुदको धुँवा नउडाउने अब त्यो चिनको हातमा गएको छ । अमेरिकाले चीनको कडा विरोध र धम्की कै बीच आफ्नो काम गरिसकेको छ । अहिले नै युद्धमा उत्रिनु चीनलाई सजिलो छैन । कोरोनाका कारण आर्थिकरुपले कमजोर भएको अवस्थामा अहिले नै युद्ध रोज्दैन होला चिनले ।
बरु उसले रुसलाई सहयोग गर्न सक्छ जसबाट युक्रेनमा सफलता पाउन रुसलाई सहयोग पुग्छ । जे भए पनि विश्व दुई ध्रुवमा बाँडिएको छ । यसबाट बच्न सबैले युद्ध विरोधी आवाज उठाउनु नै अहिलेको लागि कल्याण होला ।