पर्यटनले मुलुकको मुहार फेर्ला ?

२३ श्रावण २०७९, सोमबार मा प्रकाशित

तीर्थराज खरेल
नेपालका लागि पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको मुख्य स्रोत मानिन्छ । तर, कोरोनाको कहरले थला परेको पर्यटन व्यवसायबाट अपेक्षित उपलब्धि हासिल नहुने निश्चित प्रायः छ । सुरम्य हिमाल, आकर्षक पहाड, उर्वर तराई, मनमोहक तालतलैया, खोँच, भित्री मधेश, फाँटिला उपत्यका, गल्छी, झरना आदिले भरिपूर्ण हाम्रो देश स्वदेशी र विदेशीका लागि गन्तव्यस्थल बन्न सफल छ । संसारका १२ वटा आठ मिटरभन्दा अग्ला हिमाल मध्ये आठ वटा नेपालमै हुनु गौरवको विषय हो । आकर्षक हिमालको सौन्दर्यको मोहनीमा नलठ्ठिने को नहोला र ? भौतिक विकासको माथिल्लो तहमा पुगेका युरोपेली र अमेरिकी देशका नागरिकका लागि नेपाल जस्ता प्राकृतिक सम्पदाले भरिएका मुलुकहरू गन्तव्यका लागि मुख्य छनोटमा पर्ने गर्छन् ।

नेपाल मन्दिरै मन्दिरले भरिएको देश मानिन्छ । विदेशी पर्यटकहरूले काठमाडौं शहरलाई ‘मन्दिरहरूको शहर’ भनेका छन् । यो हिन्दू बाहुल्य राष्ट्र भएको हुनाले प्रशस्त हिन्दू मन्दिरहरू छन् भने यस ठाउँमा धार्मिक सहिष्णुताको जरा गाडेको हुनाले बुद्ध मन्दिर, गुम्बा, चैत्य र विहार पनि प्रशस्त छन् । प्यागोडा, शिखर, गुम्बज शैलीका सुन्दर मन्दिर भएको यो स्थल पर्यटनको केन्द्र नै बन्न पुगेको छ । संसारमा सत्यको जीतका लागि मानिसको हृदयमा मानवताको बास हुनुपर्छ, मानिसको हृदयमा धार्मिक भावनाले ठाउँ नलिएसम्म मानिसको दानवताको अन्त्य असम्भव छ ।

तसर्थ, धार्मिक भावना सबैको हृदय र मन मस्तिष्कमा हुनु अत्यन्त आवश्यक छ । यही प्रेरणा र चाहना बोकेर मानिस धार्मिक तीर्थयात्रीको रूपमा विभिन्न मन्दिर, गुम्बा, मस्जिद र चर्च धाउँछन् । जानी–नजानी भएका पापहरू तीर्थस्थलमा गई देवदर्शन गरेमा पाप सकिन्छ भन्ने धार्मिक विश्वास भएकै कारणले पनि धार्मिक तीर्थयात्रीको रूपमा मानिसहरू तीर्थस्थलमा आउने जाने गर्दछन् । हिन्दू दर्शनमा जीवनमा लक्ष्य, धर्म र मोक्ष प्राप्तिको लागि तीर्थस्थल जानुुपर्दछ भन्ने धारणा रहेको छ । यही आन्तरिक लक्ष्यलाई कायम राख्ने धार्मिक पर्यटन र विकासको संरक्षण र सम्वद्र्धन गर्न ठूलो सहयोग पुग्न गएको छ । नेपालमा पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, वराह क्षेत्र, जनकपुरधाम, देवघाट, गोसाईकुण्ड, पाथीभरा, स्वर्गद्वारी, लुम्बिनी क्षेत्र आदि हिन्दू र बुद्धमार्गीका लागि प्रसिद्ध र पवित्र क्षेत्र मानिन्छन् ।

हामी मुलुकमा आर्थिक सम्पन्नता चाहन्छौं । आर्थिक प्रगति प्राप्त गर्न तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी उत्पादकत्व बढाउनुपर्छ । गतिशील अर्थतन्त्र निर्माण गर्न तेस्रो विश्वका नेपाल जस्ता देशमा पर्यटन र पर्यटन व्यवसाय ऊर्जाशील क्षेत्र हो । पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन सके समृद्धि तल्लो तहदेखि प्राप्त हुन्छ । एक घर, एक समाज, एक क्षेत्र अनि सिङ्गो राष्ट्रिय स्तरमा पर्यटन व्यवसायलाई सम्बद्र्धन र प्रबद्र्धन गर्दा प्राप्त लाभको न्यायोचित वितरण हुन्छ । जब आर्थिक लाभ मात्र नभई प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक सम्पदाहरूको दिगो व्यवस्थापन हुन्छ, अनि मात्र यो विकासोन्मुख तथा अर्थतन्त्र कमजोर भएका मुलुकका लागि पर्यटन व्यवसाय सच्चा सारथी बन्ने गर्छ । प्राचीन सम्पदाको संरक्षण, पर्यटन सुरक्षा र पर्यटन सेवा–सुविधाको गुणस्तरीयता, भरपर्दो हवाई सेवा, पर्यटनमैत्री पूर्वाधार, पर्याप्त सूचना र पर्यटन गन्तव्यहरूको विविधिकरण गर्नु नै नेपाली पर्यटन व्यवसाय विकासका सवाल हुन् ।

कम खर्च गरेर एक्लै टे«किङ जाने पर्यटक बढ्नु, होमस्टेको सुविधामा स्तरीकरण नहुनु, पर्यटकमैत्री स्थानीय पूर्वाधार र वातावरण नहुनु नेपाली पर्यटन क्षेत्रमा हाल देखिएका समस्या हुन् । आन्तरिक पर्यटकको सम्भावना बढेको छ । पर्यटन प्रहरीको अवधारणा नौलो हुनु, सांस्कृतिक सम्पदामा स्थानीयको अतिक्रमण हुनु, गुणस्तरीय सेवा–सुविधा पर्यटनमैत्री नहुनु, नयाँ गन्तव्यको विविधिकरण गर्न नसक्नु, गुणात्मक लाभ हासिल गर्न नसक्नु, विश्वसनीय पूर्वाधार र सेवाको अभाव हुनु नेपाली पर्यटनका अन्य समस्या हुन् । पर्यटन क्षेत्रको विकासका लागि सक्षम सारथी बन्न राज्य प्रणाली जागरूक हुनुपर्छ । पूर्वाधार निर्माण र विकास पर्यटनमैत्री हुनुपर्छ । सबलीकृत निजी क्षेत्रसँगै सरकारी क्षेत्र सक्षम र व्यवसायिक हुनुपर्छ । पर्यटन व्यवसायमा दक्ष जनशक्ति अनिवार्य तयार गर्नुपर्छ । पर्या–पर्यटनको अवधारणालाई स्थानीयकरण गर्नुपर्छ । प्रचार तथा सञ्चारमा विशेष जोड दिनुपर्छ । पर्यटकको सुरक्षा र उद्धारलाई नियमित र सक्षम बनाउनुपर्छ । पर्यटन उद्योगको विकास तथा व्यवसायिकता हासिल गर्न निजी स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउनुपर्छ । पर्यटकीय क्षेत्रको संरक्षण र नयाँ गन्तव्य पहिचान गर्न सबै क्षेत्रबीच सहकार्य हुनुपर्छ ।

नेपालको पर्यटन क्षेत्र त्यति सन्तोषजनक छैन । पर्यटकीय गन्तव्य स्थल तथा पर्यटकीय सम्पदा संरक्षण, पर्यटकको सुरक्षा, सेवा–सुविधाको संख्यात्मक र गुणात्मक वृद्धि, पर्यटकीय पूर्वाधार विकास सम्बन्धी विषयमा सरकार तथा निजी क्षेत्रबीच समन्वयात्मक भूमिका रहेको छ । तथापि स्रोत र साधनको बाँडफाँड र उपयोग जस्ता नीतिगत विषय तथा सडक, खानेपानी, विद्युत, सञ्चार जस्ता पूर्वाधार निर्माणमा प्रत्यक्षरूपमा संलग्न निकाय र संस्थाबीचको समन्वयमा अपेक्षित प्रभावकारिता देखिन सकेको छैन । पर्यटन पूर्वाधार विकास, सञ्चालन र प्राप्त लाभको बाँडफाँडमा स्थानीय समुदाय र नागरिकको भूमिका, मूल्य–मान्यता र स्वामित्वको विषय उचित रूपमा सम्बोधन हुन नसक्दा सरकारी लगानीमा निर्माण र विकास भएका पूर्वाधारको दिगो रूपमा उपयोग हुन सकेको छैन । पर्याप्त मात्रामा पर्यटकको आगमन भएमा पूर्वाधारको विकास गर्ने वा पूर्वाधारको विकास भएमा पर्यटकको संख्यामा बृद्धि हुने विषयमा देखिएको अन्योलता यथावतरूपमा रहेको छ ।

पर्यटक स्थलमा पर्यटक, स्थानीय समुदाय र नागरिकबीच अपेक्षित समन्वय कायम हुन नसकेको कारणबाट यदाकदा विसँगति देखिने गरेको छ । द्वन्द्वकालमा क्षतिग्रस्त पर्यटन विकाससँग सम्बद्ध संरचनाको पुनर्निर्माण एवम् विस्तारमा ध्यान केन्द्रित गर्नुपर्ने भएको छ । पर्यटन व्यवसायबाट नै समृद्धि आउने हो । पर्यटन व्यवसायले स्थानीय उत्पादनको उपयोग, होटल व्यवसायको व्यवसायिकता, रोजगारीको अवसर, विदेशी मुद्रा आर्जन जस्ता क्रियाकलापले अर्थतन्त्र गतिशील बनाउँछ, जसका लागि पर्यटन व्यवसायमा राज्यले सुरक्षित वातावरण र पूर्वाधार निर्मणमा जागरुक हुनुपर्छ । पर्यटकीय सम्भावनालाई विविधीकरण गर्न सक्नुपर्छ । यसका साथै प्राचीन कला र सम्पदा, पर्यावरण, साहसिक खेलकुद नै आकर्षण गन्तव्यका कारण हुन् । विश्व पर्यटन मानचित्रमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्य स्थलको रूपमा परिचय गराउँदै, पर्यटन क्षेत्रका हवाई, होटल, ट्राभल तथा टुर जस्ता विविध प्रकारका गतिविधि र व्यवसायमा वृद्धि भई सर्वसाधारणको जीविकोपार्जनका लागि रोजगारीका अवसर लगायत उत्पादनशीलता, जनताको जीवनस्तर र आर्थिक वृद्धि दर सँगसँगै राजस्वमा योगदान पु¥याउने अपेक्षा गरिन्छ । यसबाट विशेषगरी ग्रामीण पर्यटन क्षेत्रमा स्थानीय समुदायको स्वामित्व र गुणस्तरीय सेवाको प्रतिस्पर्धामा विकास हुन जानेछ । साथै विद्यमान पर्यटकीय क्षेत्रहरूका पूर्वाधार सञ्चालनमा सुधार आउनुका साथै नयाँ पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार विकासतर्फ लगानी प्रबद्र्धन गर्न प्रोत्साहन मिल्नेछ ।
पर्यटकीय क्षेत्रहरूमा स्थापित सामाजिक, सांस्कृतिक परम्परालाई अन्य देशका पर्यटक मार्फत बजारीकरणको अवसर प्राप्त भई अन्य देशका राम्रा पक्ष सिक्ने अवसर प्राप्त हुन सक्नेछ भने विभिन्न क्षेत्रका सांस्कृतिक, प्राकृतिक, पुरातात्विक एवम् जैविक सम्पदाहरूको संरक्षण र प्रचारप्रसारबाट नेपालका विशेषताहरू विश्वमा फैलाउन सहज हुन गई यस क्षेत्रमा थप प्रोत्साहन समेत मिल्न सक्नेछ ।

साहसिक पर्यटनका थप सम्भावनाको खोजी गरिनुपर्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै ग्रामीण पर्यटनलाई यथार्थमा आधारित बनाउनुपर्छ । मौलिकताको संरक्षण गर्दै प्राप्त लाभको न्यायोचित वितरणको अवस्था राज्यले सुनिश्चित गर्नुपर्छ, अनि मात्र पर्यटन व्यवसाय समृद्धिको यात्राको असल साझेदार बन्न सक्छ । पर्यटन उद्योगमा देखिएका चुनौतिहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्र समेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ । अनवरत रहिरहने हिमालको दृश्य अविच्छिन्न रूपमा आम्दानीको स्रोत हुन सक्छ । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ ।

विज्ञान, प्रविधि र सञ्चार प्रणालीमा भएको अभूतपूर्व विकासले समुच्च विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले यस्ता राष्ट्रिय सम्पदालाई विश्व सामु प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरी अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएकोले यस व्यवसायको विविधिकरण र विस्तारद्वारा आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भएको छ । यस प्रयोजनार्थ एकातर्फ नेपालका यी विविध सम्पदाको समुचित संरक्षण र सम्बद्र्धन गर्नु अत्यावश्यक भएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय हवाई यातायात सेवा लगायत पर्यटन सेवासँग सम्बद्ध सबै प्रकारका पूर्वाधार विकास गर्दै पर्यटन सेवा उद्योगको संख्यात्मक एवम् गुणात्मक वृद्धि गर्नु आवश्यक छ । अनि मात्र नेपालको मुहार फेर्न पर्यटन क्षेत्र सहयोगी हुन सक्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here