गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर

२४ श्रावण २०७९, मंगलवार मा प्रकाशित

मानिसका लागि उसको जीवन सर्वाधिक मूल्यवान हुन्छ । मूल्यवान जीवनको रेखदेख, सुरक्षा र माया गर्ने जिम्मेवारी स्वयम्को हुन्छ । त्यसैले आफ्नो शरीरमा कुनै असहज, असजिलो वा समस्या भएको अवस्थामा मानिस स्वास्थ्य संस्था पुग्छ । चिकित्सकसँग सम्पर्क राख्छ । त्यसक्रममा गुणस्तरीय स्वास्थ्या सेवाको पहुँचमा जो कोही जान चाहन्छ, त्यो नागरिकको नैसर्गिक अधिकार पनि हो । गुणस्तरीय स्वास्थ्य सेवा स्वास्थ्य प्रदायक संस्था, स्वास्थ्यकर्मी र सेवाग्राही सबैको इमान्दारिता र जिम्मेवारीमा सुनिश्चित हुन्छ । यसका लागि सेवा प्रदायक संस्था, चिकित्सक, स्वास्थ्यकर्मी सँगै गुणस्तरीय प्रविधि र उपकरणहरु पनि आवश्यक हुन्छ ।

हामीकहाँ अहिले पनि सामान्य स्वास्थ्य सेवा सबैको पहुँचमा छैन । गुणस्तरीय स्वास्थ्य सेवा त ‘आकाशको फल’ सरह हुने नै भयो । अनि पनि संविधानले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिको व्यवस्था गरेको छ । यस्तोमा सम्पूर्ण नागरिकलाई सेवाको पहुँचमा पु¥याई आवश्यकताका आधारमा गुणस्तरीय सेवा प्रवाह गर्ने काममा राज्यको प्रमुख भूमिका र जिम्मेवारी रहन्छ । यसका लागि आवश्यक पूर्वाधार स्रोत–साधनको व्यवस्था, आममानिसमा चेतनाको विकास, चिकित्सक, स्वास्थ्यकर्मीको व्यवस्था र उपलब्ध जनशक्तिलाई आवश्यक तालिम आदिको व्यवस्था गर्ने दायित्व राज्यको हो । यी सबैको उपलब्धताले मात्र सेवा आकांक्षीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा लान सकिन्छ ।

वीर हस्पिटलबाट प्रारम्भ भएको आधुनिक स्वास्थ्य सेवा प्रणाली आज देशभर पुगेको छ । यद्यपि सबै क्षेत्र र भूगोलका मानिस गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा छैनन् । यसक्रममा प्रदेश नम्बर १ को झापाको सदरमुकाम मेची अञ्चल अस्पतालका नाममा स्थापित अस्पताल कुनै दिन ताप्लेजुङ, पाँचथर र इलामको समेत आशा र भरोसाको केन्द्र थियो । तत्कालीन आवश्यकता अनुरुप निर्मित भौतिक संरचना पुराना र जीर्ण बन्दै गएको भए पनि संघीय प्रणाली अनुसार सो अस्पताल प्रादेशिक कायम गरिएको छ । यद्यपि आधुनिक प्रविधि, उपकरण र त्यस अनुरुपको जनशक्तिको अभावमा अपेक्षित सेवा प्रवाह हुन सकेको छैन । त्यही सत्यलाई आत्मसात गर्दै त्यसको स्तरोन्नतिका लागि सुधार समिति गठन गरी छलफल अघि बढाइएको छ । सुधार समिति र संवाद समूहबीच भएको छलफलमा पनि प्रादेशिक अस्पतालको स्तरोन्नति गर्न सरकारलाई ३५ बुँदे ज्ञापन पत्र बुझाएको भन्दै यसका लागि सबै पक्षको सहयोग रहने प्रतिबद्धता जनाइएको थियो । स्वास्थ्य नै धन हो भन्ने भनाइका आधारमा पनि स्वस्थ रहनका लागि आवश्यक पूर्वाधारसहितको सुविधायुक्त र गुणस्तरीय सेवा यस क्षेत्रको साझा भावना र आवश्यकता हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here