अर्जुनधारामा २८औं विश्व आदिवासी दिवस मनाइयो

२४ श्रावण २०७९, मंगलवार मा प्रकाशित

अर्जुनधारा ।

२८ औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् अर्जुनधाराले मंगलबार विविध कार्यक्रम गरि मनाएको छ ।

अर्जुनधारा–८स्थित आदिवासी–दलित–महिला सामुदायिक भवनमा परिषद्का अध्यक्ष जगत राना मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि परिषद् झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले गरेका थिए ।

परिषद्का उपाध्यक्ष कर्ण तामाङले स्वागत मन्तव्यसहित दिवसको औचित्य र महत्व बारे कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा विभिन्न जातिका नृत्यहरु प्रस्तुत गरिएको थियो । सोही कार्यक्रमको अवसरमा गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिकामा आदिवासी समुदायबाट नवनिर्वाचित १६ जना जनप्रतिनिधिलाई स्वागत सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा–२ वडा समितिका वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, अर्जुनधारा–११ वडा समितिका वडाध्यक्ष खगेन्द्र इङनाम र नगर सभा सदस्यहरु मदनकुमार लिमेल मगर, बलबहादुर समाल मगर, शर्मिला सुब्बा लिम्बू, चन्द्रमाया तामाङ, सुमनकुमारी राई, जीतबहादुर लिम्बू, चन्द्रकुमारी तामाङ, भीम राई, देवकुमार राई, मनोजकुमार थापा मगर, बुद्धिमान लिम्बू, रुपेश लिम्बू र पूर्णबहादुर राई रहेका छन् ।

कार्यक्रममा प्रदेश नं.१का सांसद् वृखबहादुर प्रधान, नगर प्रमुख तामाङ, निवर्तमान प्रमुख हरिकुमार राना, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”, नेपाली काँग्रेस नगर समितिका सचिव इन्दिवर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन परिषद्का सचिव भीमकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here