`निरन्तरताले सफलता मिल्दो रहेछ´–लेखक, संकलक र प्रकाशक दीपेन्द्रराज तिम्सिना

२४ श्रावण २०७९, मंगलवार मा प्रकाशित

उत्तरी मोरङको पथरीशनिश्चरे नपा वडा नं. १०, जिरिखिम्तीलाई आफ्नो कर्मक्षेत्र बनाएका यूवा लेखक तथा पुस्तकाकार दिपेन्द्र तिमिल्सिना मोरङको मोरङ्ग जिल्लाका लागि नौलो नाम होइन । पथरीशनिश्चरे नगर क्षेत्रमा केही वर्ष देखि व्यापार–व्यवसायमा संलग्न रहेकालेखक दीपेन्द्रले विगत १ दशकदेखि किताव लेखन र प्रकाशनलाई निरन्तरता दिदैं आएका छन्।

उनले ‘टेलिफोन डायरी २०६८’ देखि पछिल्लो पुस्तक ‘मोरङका जनप्रतिनिधि संगालो २०७९’ निकाल्न अहोरात्र खटिनुभएका तिम्सिनाले ९ वटा पुस्तक प्रकाशन गरिसकेका छन् ।आज उनै लेखक तिम्सिनासँग विभिन्न सवाल, विषयवस्तु र सेरोफेरोमा रहेर गरिएका संवादका प्रमुख अंशहरू:

 आजकाल के गर्दै हुनुहुन्छ ?

–उही त हो नि ! किताब निकाल्नतिर लागेको छु । सबै पाठकको हातहातमा थमाउन कहिले प्रेस र कहिले संकलन गर्ने कार्यमा अभ्यस्त छु ।

किताव लेखन, संकलन र प्रकाशन गर्दै हुनुहुन्छ नि ! कस्तो अनुभूति गर्नुभएको छ ?

– हेर्नुस्– किताब निकाल्न पक्कै पनि गाह्रो हुन्छ नै । डाटा संकलन गर्न जानुपर्छ, सम्बन्धित व्यक्तिलाई भेट्नुपर्छ । कहिले भेट हुँदैन । कहिलेकाहिँ भेट गर्न गाह्रो हुन्छ । पटकपटक धाउनुपर्छ । एउटा किताब बनाउन त्यति सजिलो छैन । यो काम चानचुने होइन । किताब लेखन, संकलन र प्रकाशनको काम अत्यन्तै गाह्रो काम हो । त्यहिँ काममा निरन्तर लाग्दा चाहिँ सफलता मिल्दो रहेछ ।

किताव प्रकाशनको आर्थिक अवस्थालाई कसरी जोहो गर्नुहुन्छ ?

–किताव प्रकाशन गर्दा समस्या पर्छ । सबैभन्दा पहिला प्रेसमा एकमुष्ट पैसा बुझाउँदा ऋण काडेर बुझाएको छु । प्रेसको छपाई खर्च स्वयंले व्यहोरेको छु । अहिलेसम्म किताब छपाउँदा मलाई ऋण नै परेको छ । धेरै दुःखका साथ मैले किताव छपाएको छु । यो समस्या मलाई मात्र थाहा छ । मेरो बलबुत्ताले भ्याएसम्म किताब निकालेको छु, निकाल्ने प्रयत्नमा छु ।

यस्तो दुःख गरेर पनि प्रतिफल प्राप्त गर्ने आशा कत्तिको राख्नुभएको छ नि ?

–दुःखको प्रतिफल, नाफा वा घाटाभन्दा पनि मैले छपाएको कितावको लगानी उठोस् भन्ने हो । यसमा पनि भोलि गएर भावी पुस्ताका लागि मैले तयार पारेको दस्तावेज पाठ्यसामाग्री बन्छ भन्ने हो । देश र समाजका लागि केही होस् भन्ने चाहना पनि हो । अहिलेका प्रकाशन आउँदो पुस्ताका लागि ऐतिहासिक महत्व बोकेको पाठ्यसामग्री हो । मनभित्र किताव बनाउने र समाजका लागि उत्प्रेरणा दिन तिब्र अभिलाषा थियो । यसर्थ, यो कार्यमा म पूर्णतः सन्तुष्ट छु ।

सम्बन्धित पालिकाबाट के – कस्तो सहयोग पाउनुभएको छ ?

– म बसेको पथरीशनिश्चरे पालिकाबाट अहिले सम्म ठिकै साथ र सहयोग पाएको छु । यसमा ‘मोरङका जनप्रतिनिधि संगालो २०७९’ को प्रकाशनबाट सहयोग पाउने आशा गरेको छु । त्यस्तै, अन्य १७ वटा पालिकाबाट पनि सहयोग पाउने अपेक्षा लिएको छु ।

‘मोरङका जनप्रतिनिधि संगालो २०७९’ निकाल्नुको औचित्य के हो ?

–‘मोरङका जनप्रतिनिधि संगालो २०७९’ निकाल्नु भनेको यहाँको ऐतिहासिक दस्तावेज तयार पार्नु हो । यसले समयक्रममा दस्तावेजको काम गर्छ भन्ने लाग्छ । यसमा पनि मोरङमा २०१५ सालदेखि २०७४ सालसम्मका निर्वाचित सांसदहरू, २०४९ सालदेखि ०७९ सालसम्मको निर्वाचित जनप्रतिनिधिको डाटासहितको सामाग्री प्रकाशित नभएकोले यसको गहिरो खोज अनुसन्धान गरी प्रकाशन गरेको छु ।

तपाईले यस अघि ६३ वर्ष जेसीज दस्तावेज ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ नि ! यो कस्तो दस्तावेज हो ?

–१ सय ६१ वटा जेसीज शाखाको संस्थापक अध्यक्षदेखि सन् २०२१ सम्मका अध्यक्षहरू समावेश यस पुस्तकमा छन् । त्यसैगरि , नेपाल जेसीजका संस्थापक अध्यक्षदेखि सन् २०२१ सम्मका राष्ट्रिय अध्यक्षहरू, उपाध्यक्षहरू र कार्यकारिणी उपाध्यक्ष सहित जेसिसअाई विश्वका संस्थापकदेखि सन् २०२१ सम्मका विश्वका अध्यक्षहरूको बारेमा समाविष्ट यस दस्तावेजमा समेटिएको छु ।

अन्त्यमा केही भन्नु छ ?

–वर्तमान अवस्थामा खोज अनुसन्धान गर्ने कार्य घटेको छ । हामीले यस्ता कुरा खोजी गरी दस्तावेज बनाउन सके भोलिको पुस्तालाई इतिहास बुझ्न सरल र सहज नै हुन्छ । त्यसमा वर्तमान तथ्यांकहरूमा अहिले विकासमा पनि टेवा पुग्छ । स्थानीय तहहरूलाई यस्ता तथ्यांक अत्यन्तै महत्त्वपूर्ण दस्तावेजहरू रहन्छन् । अन्त्यमा, मेरा विचारहरू प्रकाशन तथा सम्प्रेषण गरिदिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु ।-प्रस्तुति: छविराज ढकाल

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here