सहज जीवनका लागि जीवनसाथी

२५ श्रावण २०७९, बुधबार मा प्रकाशित

एउटा शिशु जब जन्म लिन्छ, त्यसपश्चात विभिन्न अवस्था पार गर्दै यौवनकालमा प्रवेश गर्छ । त्यसपछि उनको शारीरिक परिवर्तन हुन्छ र यही परिवर्तन पछि ऊ कुनै समलिङ्गी वा विपरीत लिङ्गीप्रति आकर्षित हुन्छ । र, एक समयमा उसलाई एउटा साथी, जीवनसाथीको खाँचो पर्दछ । यही शारीरिक आवश्यकताको लागि हो कि भावनात्मक सम्बन्धको लागि । मानिस एउटा सामाजिक प्राणी हो र सामाजिक दायरामा बस्नु र समाजको नियम मान्नु मानिसको कर्तव्य पनि हो ।

पछिल्लो समयमा कोभिड संक्रमणको कारण धेरैले ज्यान गुमाउन प¥यो । जसका कारण केही विवाहित महिला तथा पुरुष एकल हुन पुगे । साथै धेरै बालबालिका अनाथ भए । जसको मृत्यु भयो उनका आफन्तहरुको दुःखपीडाको कथा अनन्त छ । यो क्रुर, कठोर संसारमा बालबालिकाको पालनपोषण एक्लै गर्नु कठिन अनुभूति हुन थाल्यो ।

मेरो छिमेकी जसको उमेर ५० वर्ष थियो । र, उनको कुनै सन्तान पनि थिएन । छिमेकीको मृत्युले उनकी श्रीमतीको दुःखको सीमा छैन, यो उमेरमा कसको सहाराले बाँच्नु ! श्रीमानको मृत्युपश्चात दुई सन्तान स्याहार–सुसारले हैरान भएर घरी–घरी आफ्नो जीवनसाथीलाई सम्झेर गरेर धुरु–धुरु रुन्छिन् । मृत्युपश्चात दुई–चार दिन आफन्त, साथीभाइ, छिमेकी सबैले धेरै सान्त्वना दिन्छन् । तर, दुई–चार दिनपछि सबै आफ्नो कामा व्यस्त हुन थाल्छन् । अनि पीडाको बोझ बुझ्ने कोही पनि हुँदैन ।

विवाह दुई अविवाहित विपरीतलिङ्गीलाई आत्मिकरुपले आपसमा आवद्ध गर्ने कार्य हो । तर, आज आएर यो प्रश्न सबैको सामु के छ कि विवाह पश्चात पुरुष वा महिलाको मृत्यु भएमा पुनः पुरुषको जस्तो सजिलोसँग महिलाको पुनः विवाह किन हुँदैन ? यो प्रश्न आफैंमा जटिल छ । श्रीमानको मृत्यु पश्चात वा सम्बन्धविच्छेद पश्चात कतिपय एकल महिलाले पुनः विवाह गरेका पनि छन् । तर, उहाँहरुको जीवन त्यति सहज छैन । एकल महिलाको पुनः विवाहमा पहिला पनि अड्चन थियो र आज पनि रहेको छ ।

पुनः विवाह पछाडिको यो जटिलताको अर्को कारण हो । विवाह एक संस्था हो, विवाहले सामाजिक मात्र नभएर आर्थिक पक्षसँग पनि जोडिएको हो । वंश परम्परा भविष्यप्रतिको सुनिश्चितता सम्पत्ति माथिको अधिकार, जिविकोपार्जन आदि यसको अर्को पक्ष हो । नेपाली समाज आज पनि पितृसत्तात्मक पुरातन सोचमा कायम छ । संविधानद्वारा प्रदत्त कानून ऐनमा पैतृक सम्पत्तिमा दुबैलाई समान अधिकार दिए पनि महिलालाई सनतान उत्पादन गर्ने उपकरण, मेसीनको रुपमा लिने चिन्तन यथावत कायम छ । ‘खुट्टा भए जुत्ता कति, मर्दका दश वटी’ उखानको गुण गाउने महिमा भन्नेको समाजमा कमी छैन ।

परोक्षरुपमा यसको प्रभाव श्रीमानको मृत्युपश्चात महिलाहरु आजीवन घरको सतत्विमा रहनुपर्ने तर श्रीमानले भने श्रीमतीको बितेको १३औं दिनको कर्मपश्चात कन्या खोज्न हिँडेको दृश्य नयाँ नौलो पनि होइन । एकल महिलाको विवाहसँग अन्य केही ज्वलन्त प्रश्नहरु पनि तेर्सिएका छन् । विवाह एक पारिवारिक समझदारीमा गरिने कार्य हो । यो समझदारी कसैको परिवार र त्यो परिवारले अँगाल्दै आएको संरक्षण गर्दै आएको सांस्कृतिक मूल्य–मान्यतासँग पनि जोडिएको हुन्छ । एकपटक विवाह भइसकेको महिला त्यसमा पनि श्रीमानको मृत्युको कारण समेत महिलाको भाग्य, लक्षण जोडिएको पुरातन मान्यता पनि एकल महिलाको पुनः विवाहका बाधकतत्व छन् । शिक्षा, आर्थिक परनिर्भरता तथा सीप, तालिमको कमीको कारण पनि एकलहरुको जीवन सबल हुन सकिरहेको छैन ।


यससँगै एकल महिलाको पुनः विवाहसँग केही जातीय र भावनात्मकसँग पनि गाँसिएको छ । आफ्नो धर्म, जातिको घेराबन्दी तोड्न आज पनि नेपाली समाजमा गाह्रो छ । भात–पानीभन्दा तल जानु घरपरिवार समाजबाट छुटिएर बस्नु सरह छ । कतिपय ठाउँमा आज पनि गाउँबाट निकाल्ने, पानी बन्द गर्ने आवाञ्छित कार्य यथावत चलिरहेको छ । तर, आज पढेर मानिस अलिक फरकखालले सोच्न थालेका छन् । धेर्रै माइती पक्षले आफ्नो छोरी–चेली को भविष्यबारे सोच्न थालेका छन् । धेरै माइत पक्षले आफ्नो छोरीचेलीको पुनः विवाह गरेको हामीले सुन्न देख्न सक्छौं ।

कतिपय सासु–ससुराले पनि बुहारीको विवाह गरेर बुहारीको घर बसाएका उदाहरणहरु छन् । यससँगै एकल महिलाको बच्चा छैन भने विवाह केही सहज हुन्छ । तर, बच्चा छ भन्ने परिवारले बच्चालाई कसले हेर्छ, कसले पालनपोषण गर्छ जस्ता कुराबाट महिला वञ्चित हुन्छन् । यस्तो भावनात्मक सम्बन्धलाई तोडेर नयाँ घर बसाउने पक्षमा प्रायः महिला हुँदैनन् ।

के त्यसो भए एकल महिला विवाह नै नगरी जीवन गुजार्ने हो त ? के भावनात्मक मायाप्रेम सद्भावको परिधिबाट जीवनभरि वञ्चित रहने हो त ? के यौनिक आवश्यकता र त्यसको अभावको कारण उत्पन्न कुण्ठा, मानसिक तनाव, जैविक आवश्यकतालाई दबाउँदा सहज जीवन सम्भव छ । नयाँ जीवनको शुरुवात गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने हो । निसन्देह दोस्रो कुरालाई अगाडि बढाउनुपर्छ । तर, यो मान्यता कसरी विकास गर्ने यो एउटा चुनौति छ । यसका निमित्त सामाजिक मनोविज्ञानको पुनर्संरचना जरुरी छ ।

कानूनी सामाजिक व्यवस्थाले मात्र यो विभेद हट्न सक्दैन । यसका लागि मानवीय सोचको खाँचो पर्छ । एकपटक पाएको जीवन दुःख–पीडाबाट काट्नुको सट्टा हाँसीखुशीका साथ बाँच्नु पाउनुपर्छ । कसैलाई दुःखकष्ट, पीडा दिनु साह्रै सजिलो छ । तर, कसैको दुःखी जीवनमा रंग भर्नु मानवीय कार्य हो । यसका लागि हामीहरु आफ्नो मन र मस्तिष्कलाई फराकिलो बनाउनुपर्छ । जीवनको गाडी एक पहियाले चल्दैन । त्यसकारण सहज जीवनका लागि जीवनसाथी बनाउनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here