बिनोद पाण्डे,
बर्षायाममा पनि रोङ गाउँपालिकाको १ र २ नम्बर वडाको सीमानामा रहेका आहालडाँडा पोखरीमा पानी सञ्चय नहुँदा स्थानीयहरु चिन्तित छन् ।
विगत दुई दशकभन्दा अघिसम्म बाह्र महिनै पानी जम्ने पोखरीमा केही बर्षदेखि पानी जम्मा हुन छाडेको, त्यहाँका खोल्सामा रहेको पानीका मुहानहरु पनि सुक्दै गएका कारण स्थानीयहरु चिन्तित बनेका हुन् । आहाल डाँडा पोखरीमा पानी सुक्नुको मुख्य कारण भने नजिकै रहेको स्कूलको जग्गामा स्कूलले मैदान बनाउने हुँदा त्यहाँको माटो पोखरीमा हालिएकाले पानी हराएको स्थानीयहरुको भनाइ छ ।
सुख्यायाममा खोला, पोखरी सुक्नुलाई सामान्य ठानिन्छ । तर, बर्षायाममा पनि रोङको आहालडाँडा पोखरीमा कमिलाको गुड्गुडीले सबैलाई अचम्भित बनाएको छ । यसरी पोखरी पानीविहीन हुन थालेपछि सबै पानीको मुहान सुकेर एकदिन त्यहाँका मानिसहरु काकाकुल झैं प्यासी बन्नुपर्ने त होइन भनेर स्थानीय अगुवाहरु चिन्तित बन्न थालेका छन् ।
इलामको दक्षिणी भू–भागमा रहेको शान्तिपुर नजिकै रहेको आहालडाँडामा पहिले विभिन्न प्रजातिका चरा र जलचरहरुको बासस्थान थियो । पाथीभरामा रहेको हाँस पोखरी र आहालडाँडामा रहेको पोखरीमा चराहरु आवतजावत गर्ने गरेका थिए । आहालडाँडामा पानी सुकेपछि चरा र जलचरहरुको बासस्थान पनि अन्त्य भएको छ । हाँस पोखरीलाई भने स्थानीय र संघीय सरकारले संरक्षण गरेकाले पानी छ । तर, आहालडाँडा पोखरीमा राजनीति र सरकारी स्तरबाट उचित चासो नहुँदा आहालेडाँडाको पोखरी पानीविहीन बन्न पुगेको स्थानीयहरुको भनाइ छ ।
आहालडाँडामा पानी सुकेपछि क्रमशः वरपरका छ वटा पानीको मुहानहरु सुकिसकेका छन् । पानीको मुहान सुकेपछि स्थानीयहरुले पानीको अभावका कारण निकै कष्टपूर्ण जीवन जीउन बाध्य हुनुपरेको अवस्थालाई दृष्टिगत गरेर विगत बर्षदेखि आहालडाँडा पोखरीलाई संरक्षण गरेर पानी अड्याउने अभियानमा स्थानीयहरु जुटेका छन् । पोखरी जोगाउन पहल गरेपछि सरकारले पनि स्थानीयलाई साथ दिन थालेको छ । पोखरी संरक्षणको लागि प्रदेश सांसद कोषबाट १० लाख र रोङ गाउँपालिकाबाट एक लाख ५० हजार रुपैयाँ लगानी भएको स्थानीय प्रकाश खातीले जानकारी दिए ।
समुद्री सतहबाट एक हजार एक सय ५० मिटर उचाइमा रहेको आहालडाँडा चिसो ठाउँ हो । आहालडाँडा पानीको स्रोतको लागि मात्र होइन पर्यटकीय स्थलको रुपमा पनि धेरै सम्भावना रहेको ठाउँमा पर्छ । स्थानीयको भनाइ अनुसार पोखरीको डिलमा रहेको ठूलो बरको रुख करिब पाँच सय बर्ष पुरानो हो । पर्यटकलाई आकर्षित पार्ने बरको रुखलाई ट्रि हाउसको रुपमा प्रयोग गर्ने हो भने उक्त ठाउँमा एड्भेन्चर मनपराउने पर्यटकहरु पुग्ने र सो ठाउँको आर्थिक तथा भौतिक विकासमा टेवा पुग्ने खातीले बताए ।
बाटो, बिजुली, टेलिफोन, फोरजी इन्टरनेटको सुविधा उपलब्ध रहेको आहालडाँडामा पर्यटकको लागि खान र बस्नेको सुविधासहित प्रचारप्रसार हुने हो भने पर्यटकको उत्कृष्ट गन्तव्य बन्न सक्छ । तर, यसका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर आफ्नो ठाउँको विकासका लागि स्थानीय नेताहरु लाग्नुपर्ने स्थानीय इच्छाराम राईकोे भनाइ छ । आहालडाँडाबाट झापा र भारत पश्चिम बंगालका विभिन्न शहर, बजारहरु सजिलै देखिन्छन् ।
झापाको बिर्तामोडबाट मोटरसाइकल तथा साना चारपाङ्ग्रे सवारीबाट करिब एक घण्टा ३० मिनेटमा आहालडाँडा पुग्न सकिन्छ । पर्यटनको घुइँचो पनि लाग्न सक्ने सम्भावना देखिएको छ । यसतर्फ स्थानीय नागरिकहरुले अलिबढी जुझारु बन्न आवश्यक रहेको छ भने स्थानीय, प्रदेश सरकारको पर्याप्त योजना पर्न ढिलो हुनुहँुदैन ।