छविराज ढकाल/ पथरीशनिश्चरे,
अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान आयोग मोरङ्ग मातहतको पथरीशनिश्चरे नगरस्थित सहजिकरण समितिको मंगलबार बसेको बैठकले प्रत्येक वडामा वडास्तरीय सहजिकरण समिति गठनको निर्णय गरेको छ ।
भूमि आयोगको काम कारवाही छिटो र छरितो तरिकाले सघाउने उद्देश्यले बनेको सहजीकरण समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
नगरस्तरीय सहजिकरण समिति संयोजक एवम् नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको बैैठकले एक साताभित्र वडागत सहजिकरण समिति गठन गरी आयोगको नाप नक्साको कामलाई अघि बढाउने निर्णय गरेको छ ।
राष्ट्रिय मान्यताप्राप्त दलका प्रतिनिधि सहितको सहजिकरण समितिले कामलाई सहज बनाउन सहयोग पुर्याएर भूमिमाथिको समस्या समाधानका लागि अघि बढ्ने निर्णय भएको हो।
अघिल्ला आयोग वा कार्यदलले पुरा गर्न नसकेका अधुरा कामसँगै नयाँ नापीको कामलाई पनि नगरस्थित आयोगको सेवा केन्द्रमार्फत अघि बढाइने नगर प्रमुख तुम्बापोले जनाउनु भयो ।
हाल वडा नम्बर ८ र १० मा अधुरो रहेको काम पुरा गर्न नापी कार्य अघि बढेको छ ।