खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

0
306

बैतडी, 

कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा शीतभण्डार निर्माण गरिएको हो ।

दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिनुभयो । जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न सहज भएको छ ।

शीतभण्डारका सञ्चालक ललितमोहन भट्टका अनुसार बैतडीका किसानले उत्पादन गरेको कृषिउपजलाई भण्डारण गर्न सहज होस् भनेर शीतभण्डार निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “खोडपे क्षेत्र तरकारीका लागि पकेट क्षेत्र हो तर यहाँका किसानलाई तरकारी भण्डारण गर्न समस्या थियो, भण्डारण गर्न नपाउँदा सस्तैमा बेच्नुपर्ने बाध्यता थियो, अब सजिलैसँग तरकारी भण्डारी गर्न सकिन्छ र मूल्य पाउँदा बिक्री गर्न सहज हुन्छ । ”

शीतभण्डार सञ्चालनमा आएसँगै राहत हुने किसानले बताएका छन् । बजार अभावमा आलु बिक्री गर्न निकै समस्या हुने गरेको तथा बारीमै कुहिने समस्याको अन्त्य भएको स्थानीय किसान केशब विष्टले बताउनुभयो ।

“शीतभण्डार नहुँदा आलुको बीउ भण्डारण गर्न डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “खास गरेर यो क्षेत्र आलुका लागि प्रसिद्ध मानिन्छ, यसअघि किसानले बजार मूल्य नपाएर सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता थियो, अब शीतभण्डार सञ्चालनमा आएकाले सहज हुनेछ ।”

बैतडीको पाटन नगरपालिकाकाको खोडपे आसपासका क्षेत्रमा सबैभन्दा बढी आलु, बन्दा, काउली र गोलभेँडा उत्पादन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here