गोलीसहित पक्राउ परेका दुई अभियुक्त थुनामुक्त

0
234

पार्थ मण्डल,
झापा।

भद्रपुरमा शृंखलाबद्ध चोरी गर्नेको घरबाट बरामद भएको ८० राउण्ड गोलीका अभियुक्तलाई झापा जिल्ला अदालत भद्रपुरले रिहा गरेको छ ।

अदालतले घटनामा संलग्न दुई जना अभियुक्तलाई त्यतिकै रिहा गरेपछि अहिले सामाजिक सञ्जालमा त्यस बारेमा व्यापक आलोचना भइरहेको छ । वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गत असार २८ गते चोरी गर्नेको घरबाट ८० राउन्ड पेस्तोलमा लाग्ने गोली, एउटा मोबाइल, मोबाइलमा लाग्ने २७ थान चार्जर, सटर फुटाउन प्रयोग गर्ने फलामे रड र पसल फुटाएर घरमा जम्मा गरेका तालाहरू बरामद गरेको थियो ।

प्रहरीले घटनामा संलग्न भद्रपुर नगरपालिका–५ देवीवस्तीका मोहम्मद प्यारे र सोही ठाउँका वरुण सहनीलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय झापाले जाहेरीको आधारमा चोरी, हातहतियार तथा खरखजना सम्बन्धी दुई वटा मुद्दा दर्ता गराई जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो ।

सरकारी वकिल कार्यालयले साउन १६ गते अदालतमा मुद्दा दर्ता गराएको थियो । साउन १७ गते अदालतको इजलास २मा दैनिक पेशीमा सो मुद्दा चढेको थियो । त्यसपछि न्यायाधीश टीकाराम आचार्यले अभियुक्त दुई जनासँग बयान लिएका थिए ।

बयान पश्चात थुनछेक आदेशको क्रममा एक जनाको उमेर १४ वर्ष र अर्काको उमेर १७ वर्ष भएकोले बाल सुधार गृह पठाउनुको सट्टा परिवारजनलाई जिम्मा लगाइएको छ । अदालतले दुवै जनालाई साधारण तारेखमा रिहा गरेको हो । मुद्दाको अन्तिम आदेश आउन चाहिँ बाँकी छ । मुद्दा बयानको क्रममा रहेको जनाइएको छ ।

सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता प्रकाश गौतमले अदालतमा मुद्दा दर्ता भई पेशी सूचीमा चढिसकेको बताए । दुवै प्रतिवादी बालक भएकोले अदालतले साधारण तारेखमा छाडेको हुनुपर्छ, थुनछेकको आदेश हेर्न बाँकी छ– उनले भने ।

यता जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले दुवै जनालाई चोरी, हातहतियार तथा खरखजना मुद्दा लगाएको बताए । अदालतले घटनाको प्रकृति हेरेर बाल सुधार गृह विराटनगर पठाउनुपर्नेमा तारेखमा छाडेको बताउँदै डीएसपी पाठकले भने– ‘बालक भए पनि बाल सुधार गृह पठाउन मिल्छ, अदालतले किन यस्तो आदेश ग¥यो हामी नै आश्चर्यमा परेका छौँ ।

‘प्रहरीलाई चुनौति दिँदै श्रृंखलाबद्ध चोरी गर्नु र उनीहरूकै घरबाट ८० राउन्ड गोली बरामद भएको घटनालाई अदालतले गम्भीर रुपमा हेर्नु पर्नेमा खासै चासो नदेखाउँदा प्रहरीलाई अबको दिनमा काम गर्न पक्कै असहज हुन्छ– डीएसपी पाठकले भने । अदालतले उनीहरूलाई तारेखमा छाडिदिएकै राति भद्रपुर बजारमा फेरि चोरी भएको छ । भद्रपुर–५स्थित धर्मशाला अगाडि तापस सरकारको पसल फुटाएर सरसामान चोरी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

रिहा भएका दुवै जनाले असार २५ गते मध्यरातमा भद्रपुर–६ स्थित राज अग्रवालको प्रियङ्का मोबाइल पसलको सटरको ताला फुटाएर २९ वटा मोबाइल र नगद ६१ हजार ५ सय रुपैयाँ नगद चोरी गरेका थिए । पसल सञ्चालक अग्रवालले अझै मोबाइल फिर्ता पाएका छैनन्, यता चोरी गर्ने रिहा भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here