गृहकार्य

0
402


डम्बर सर धेरै विद्यार्थीहरुले सम्झिरहने नाम थियो । उनको विज्ञान बिषय सिकाउने कला, विषय वस्तुको उच्च ज्ञान र वाक क्षमता प्रसंशायोग्य थियो ।

उनले शिक्षक सेवा आयोगको परीक्षा पास गरेर सरस्वती मज्ञज्ञाध्यमिक बिद्यालयमा नियुक्ति पाएर शिक्षण पेशामा झण्डै सात बर्ष बिताइ सकेका थिए ।

कक्षा सातमा सँधै झैं दोस्रो पिरियोडमा केही सामग्रीका साथ उनी प्रवेश गरे । उनले अघिल्लो दिन चाप भन्ने पाठ पढाएका थिए । सबै कुरा बुझाएर एउटा इँटाले ठाडो राख्दा र तेर्सो पारेर राख्दा कसरी फरक–फरक चाप दिन्छ भनी प्रयोग गरेरै देखाइ दिए ।

केटाकेटीलाई दह्रै छाप छोड्न सकेकोमा उनी पनि मक्ख थिए । भोलि पल्टलाई दुईवटा सामान्य गणितीय समस्या दिएर उनले कक्षा छोडे ।

सबै बिद्यार्थीले आ–आफ्नो गृहकार्य गरेका कापी आ–आफ्ना अगाडि राखिसकेका थिए । ४२ जनाको सो कक्षामा नौ जनाले गृहकार्य गरेका थिएनन् । ती विद्यार्थीहरु डम्बर सरकै निर्देशनमा उभिएका थिए । प्रायः सधैन् उभिने तिनै अनुहारहरु हुन्थे ।

‘आज केही पनिसमेन्ट दिनै पर्छ’ उनको टाउकोमा घुम्यो । अघिल्लो वेञ्चमा बस्ने सीमा प्रधान पनि उभिएकी थिइन् । डम्बर सरले अचम्म पर्दै सोधे– ‘तिमीले किन नगरेको होमवर्क ?’

केटीको अनुहार रातो भयो । सीमाले भनिन्– ‘सर मलाई ज्वरो आएको थियो ।’ उनले सीमाको टाउकोको दायाँ–बायाँ दुई हातले छामे झण्डै एक सय दुइ डिग्री जस्तो अनुमान लगाए ।

सीमा रुन लागी । सरले भने– ‘नानी किन स्कूल आऐकी ? औषधि खाइनौं ?’ उनका आँखाबाट तपतप झरेका आँशुले कापीका अक्षर लतपतिएका सजिलै देखिन्थे । ‘आमा बुवाले स्कूल नजा भन्नुभएन ?’

सरले सोधे । सीमा झन् आवाज निकालेरै रुन थालिन् । उनले भनिन्– ‘सर बुवाले आमालाई छोडेर जानुभाको धेरै बर्ष भयो, आमा अर्काको घरमा भाँडा माझ्ने, घर पुस्ने काम गर्छिन् ।’

डम्बर सरले गृहकार्य नगर्ने सबैलाई बस्न भने । केही पनि बोलेनन्, सीमालाई अफिसमा औषधि खान पठाएर उनी मौन भए । तेस्रो घण्टी बज्यो टिङ टिङ टिङ…।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here