केरा बेचेको हुँ देशको सम्पदा र नागरिकता होइन

0
341

कथा

डाँडा घरे माइला दाइ निस्कन्छन् एक डोको पहेँल्पुर पाकेका केराका घरी डोकोमा बोकेर बेच्न शहरतिर । उनलाई आफ्नो गन्तब्य थाह छ त्यसैले उनी सुइँ…सुइँ…चल्दिन्छन् बाटाका किनारै किनार । वश आउँछ उनले बोकेको डोकोको चुइँक… चुइँक… आवाज एकनासले । केराका घरी डोकोमा आरामसँग बसेर अलकढलक गरिरहन्छन् माइला दाइको हिँडाइको चालमा । माइला दाइको जीउको अस्कोटको फेर पनि आफ्नै चालमा हल्लिरहन्छन् लफ््रयाक–लफ््रयाक गर्दै । खुट्टामा चप्पल पनि फ्याट फ्याट आवाज निकालि रहन्छन् एक नासले ।

बाटामा धेरैले देखे माइला दाइलाई । कतिले के–के सोधे अनि कतिले के–के । कतिले ठट्टा गर्दै, ए माइला दाइ कता हो केरा बोकेर ससुरालीतिर हो कि ? भनेर सोधे । कतिले ए है जाँगर भए त यसरी केरा पनि शहरमा बेच्न लान सकिने र’छ नि । साना नानीहरुले मागे, हामीलाई केरा दिनु न । कसैले भने, ए माइला दाइ के हौ भाउजुले निकै कुराको माग राखिन् कि क्या हो ? केरा बेचेर भाउजुलाई के ल्याइदिने हो ?

माइला दाइ सबैलाई केही न केही जवाफ दिन्छन् । लु है मेरा सुसुराली केरा खान नपाएर मरेका छैनन् । हो नि त आफ्ना बारीमा तुलफूल फलाएर शहरमा बेचेर थोरै तिनो पैसा हात पार्न सकिहालिन्छ नि किन अल्छि बन्नु ? ए नानी बाबु हो तिमेर कै बाबुलाई माग केरा । लु ठिकै कुरा भन्यो भाइहेरले, बुढीको रहर कोठेबारीमा यसो केही फलाएर बजारमा बेचेर पनि पूरा गर्न सकिहालिन्छ नि किन बारी बन्दकी राखेर विदेश गइरहनु र हौ ।

माइला दाइ शहर पुग्छन् । थाप्लोको नाम्लो यसो माथि सर्काउँदै सहरको सडक नियाल्छन् । सडक किरानातिर फलफूलका ठेलागाडाहरु देख्छन् । माइला दाइले पनि यतैतिर डोको बिसाउने बिचार गरी केराको डोको बिसाउँछन् । एक पटक खुइया काडेर थाप्लो माथिको ढाका टोपी समाउँछन् र आफ्नो मुहारको पसिना पुस्छन् । यत्तिकैमा नजिकैको फलफूलको ठेलागाडावाला आएर ओ दाइ अलि पर राख है तिम्रो केरा भन्छ । माइला दाइले कुरा बुझिहाल्छन् र भन्छन्– मलाई त अघि नै लागिसकेको थियो कि तिमीले मलाई कराउँछौ भनेर तर तिम्रो भाउभन्दा कममा म नबेचौँला नि हुन्न र ।

माइला दाइलाई अवरोध गर्न सटरवाला दोकानदार पनि आइपुग्छन् र भन्छन्– ओ केरावाला दाइ तिम्रो केरा यहाँबाट हटाऊ यहाँ मेरो सटर छेलियो । माइला दाइ पनि के कम, उनी भन्छन्– म निकै टाढा छु सटरभन्दा । सटरवाला भन्छन्– होइन मेरो सटरको सिधा सबै मेरै स्पेस हुन्छ के, कुरा बुझेनौ केरावाल दाइ । जवाफमा माइला दाइ भन्छन्– ए त्यसो हो भने तपाईको सटरको सिधा सबै तपाईको ? यो सडक, सडकपारी घरहरु अनि त्यहाँभन्दा पारिका सबै घर तपाईकै हुन्छ । यत्तिकैमा नगर प्रहरीहरु आइपुग्छन् । ठेलावालाहरु फलफूलका ठेलागाडाहरु लुकाउन दौडाउँछन् । माइला दाइ पनि डोको बोकेर लुक्न भाग्छन् । माइला दाइलाई पनि थाह छ शहरको चालामाला र नगरपालिकाको ज्यादति ।

नगर प्रहरीहरु त्यहाँबाट गएनन् । ठेलावालाहरु अर्कै सडकतिर लागे तर माइला दाइ डोकोमा केरा बोकेर त्यहीँ आउँछन् । नगर प्रहरीहरु तीन छक्क पर्छन्, केरावालाले आफूहरुलाई चुनौति दिएकामा । लु गाउँको ताजा केरा लैजानुहोस् गाउँको ताजा केरा । माइला दाइ विज्ञापन गर्न थाल्छन् । नगर प्रहरीहरु माइला दाइलाई सडकबाट केरा हटाइहाल्न भन्छन् । माईलादाई भन्छन्– एकैछिन् पर्खन मेरो केरा बिकी हाल्छ, पाकेका ताजा केरा बाँकी रहँदैनन् क्या । तर, नगर प्रहरीहरु मान्दैनन् र केरा खोस्न थाल्छन् ।

माइला दाइको पालो तीन जना नगर प्रहरीलाई पालैपालो सडकमा पाहा पछारे जस्तो गरि पछारिहाल्छन् । त्यहाँ मानिसहरुको भिड जम्मा हुन्छ । कोही नगर प्रहरीको पक्षमा त कोही माइला दाइको पक्षमा हुन्छन् । नगर प्रहरी भन्छन्– अब तिमीलाई कारवाही हुन्छ केरावाल । माइला दाइ भन्छन्– कारवाही त तिमीहरुलाई पो हुन्छ त । नाथे केरावालले पछारि माग्न तिमेरुलाई नगरपालिकाले थुप्रो तलब दिएर राखेको ? लु भन त कारवाही कसलाई हुन्छ ? तिमीहरुको जागिर चट अब । अहिले भने भिड माइला दाइको पक्षमा हुन्छन् । नगर प्रहरीहरु कतिबेला चम्पट हुन्छन् पत्तै भएन । भिड हाँसेको हाँसेये पर्छन् ।

यो शहरसँग कसरी पौँठे जोरी खेल्नुपर्छ माइला दाइलाई थाह छ । पटक–पटक फलफूल र अनाज बेच्न आउँदा थाह पाइसकेका छन् । एकक्षण पश्चात त्यही बाटो भएर नगर प्रमुख आउँछन् । फुटपाथमा केरा बेच्न राखेको देखेर नगर प्रमुख आफ्नो गाडी रोक्न लगाउँछन् । सडक किनारमा केरा नबेच्नु भन्न आफ्ना ड्राइभरलाई सिकाएर पठाउँछन् ।

नगर प्रमुखको ड्राइभर आएर ओए केरावाल यहाँ केरा नबेच् त । मेयर साबले आदेश दिनु भा’को छ । माइला दाइ भन्छन्– हुन्छ यो एक घरी मात्र बाँकी छ त्यसपछि म गैहाल्छु नि । तर, ड्राइभरले हप्की दप्की गर्छन् । माइला दाइको पालो त्यस ड्राइभरलाई पनि बाटामा पछारि हाल्छन् । फेरि त्यहाँ रमिता हुन्छ । यत्तिकैमा मेयर साब पनि आइपुग्छन् र भन्छन्– ए भाइ मेरो ड्राइभरलाई किन पछारेको ? म मेयर हुँ । अब तिमीलाई म कारवाही गर्छु । माइला दाइ भन्छन्– ए है जनताले त्यसै गरुन् भनेर तपाईलाई चुनेर पठाका ? एकै छिन् पख्नुस् है भन्दै माइला दाइ सडक किनार र फुटपाथमा पसल गर्ने सबैलाई बोलाउँछन् र मेयरलाई भन्छन्– अब कारबाही कसको पो चाहिँ गर्नुपर्ने हो ? अघि न नगर प्रहरीहरुलाई पछारियो, अहिले मेयरसाबको ड्राइभरलाई अब मेयरसाबलाई सबै मिलेर पाहा पछारे जस्तो पछार्नुपर्ला । माइला दाइले यति के भनेका थिए सडक किनारमा बेपार गर्नेहरु मेयरसाब तर्फअघि बढिहाल्छन् । मेयरसाब हत्त न पत्त गाडी चढेर बेपत्ता हुन्छन् । त्यहाँ मानिसहरुले माइला दाइलाई हिरो नै ठान्छन् र धन्यवाद दिन्छन् ।

केहीबेर पश्चात एउटा गाडी शानसँग आएर माइला दाइको केरा अगाडि रोकिन्छ । माइला दाइ भन्छन्– यो गाडि यहाँबाट हटाइहाल्नुस् । यहाँ मेरो केराको दोकान छ । गाडिले छेलियो । तर, गाडीमा छन् एक मान्य सांसद । एउटा गाउँले केरावालले ठाडै चुनौति पो दियो त है बाबै । यस्तै सोच्छन् सांसद । सांसद माइला दाइको अगाडि आएर शानसँग भन्छन्– म को हुँ थाह छ । म सांसद हुँ । सांसदसँग बोल्ने तरिका यही हो ? अनि फुटपाथ ढाकेर यो के बेचेको ? माइला दाइ पनि के कम उनी भनिहाल्छन्, मैले केरा त बेचेको हुँ नि, तपाई मान्य सांसदज्यूहरले जस्तो देशको नदीनाला र नागरिकता बेचेको होइन । माइला दाइको जवाफ सुनेर सांसद असिन पसिन पर्छन् । उनलाई अपमान महशुस हुन्छ । साँसद सोध्छन्– के भन्यौ रे केरावाल । माइला दाइ पुनः भन्छन्– भनिहाले त, मैले केरा त बेचेको हुँ नि, तपाई सांसदज्यूहरले जस्तो देशको नदीनाला र नागरिकता बेचेको होइन ।

सांसद भाउन्न हुन्छन् र तथानाम भन्न थाल्छन् । माइला दाइ सडक किनार फुटपाथमा बेपार गर्नेहरुलाई बोलाउँछन् । सबै मिलेर मान्य सांसदज्यूलाई मर्मतसम्भार गर्दछन् र भन्छन्– हामीले सडक किनारमा यसो फलफूल र केरा त बेचका हौं नि, तिमेरु सांसदले जस्तो देशको नदीनाला, सम्पदा र नागरिकता बेचेका होइनौ क्यारे । भीड सांसद खोज्छ तर सांसद कति न बेला गाडिमा चढेर चम्पट ठोकी सके छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here