प्रतिनिधिसभाको निर्वाचन आउन अब तीन महिना बाँकी छ । निर्वाचनको मिति जाति नजिक आउँछ त्यस सम्बन्धी छलफल चर्चा र बहसले पनि त्यति नै तीव्रता लिन्छ । अर्थात् निर्वाचनमा दलहरुको सहभागिता, मतदान र परिणामको बारेमा चिया गफ नै किन नहोस् व्यापक बन्दै जान्छ । प्रतिनिधिसभा सँगै प्रदेशसभाको पनि निर्वाचन हुने भएकाले त्यसै पनि चर्चाको विषय बनिने यो निर्वाचनको तापक्रमले झापामा अत्यधिक उचाइ लिन्छ, जो स्वभाविक हो । यसको कारण हो सबैभन्दा जेठो भनिने नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको समेत यही जिल्लामा उपस्थिति हुनु । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी मध्येका एक जो हाल महामन्त्री छन् र अर्का एक पूर्वमहामन्त्री हुन् भने अन्य केन्द्रीय समिति सदस्य समेतको निर्वाचन क्षेत्र भएकाले झापा राजनीतिक वृत्तमा बढी चर्चामा रहने गरेको छ ।
झापा राजनीतिका कारणले यसकारण पनि बढी चर्चामा रहन्छ कि यही जिल्लाले एमालेको नेतृत्व गरेको छ । एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला भएका कारण झापाको चर्चा बढी हुनु स्वभाविक हो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन समेत यसै जिल्लाका स्थायी बासिन्दा हुन् । सम्भवतः केन्द्रीय अध्यक्षहरु मध्ये सबैभन्दा कान्छा लिङ्देन यसअघि झापा क्षेत्र नं. ३ बाट कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई पराजीत गरी सांसद बनेका थिए । त्यसयता सधैँ चर्चामा रहेका लिङ्देन फेरि पनि त्यही क्षेत्रबाटै उम्मेदवार बन्ने भएपछि देशकै ध्यान झापा क्षेत्र नं. ३ मा केन्द्रीत रहनु अनौठो होइन । यसरी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री सिटौला, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष लिङ्देन सम्भवतः यसपटक पनि झापाबाटै लड्ने छन् ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनको समयको परिस्थिति अहिलेको भन्दा भिन्न थियो । एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनले झण्डै दुई तिहाई सिट जितेको थियो । तर, अहिले भिन्न परिवेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । पाँच दलीय गठबन्धनबाट निर्माण भएको सरकारले स्थानीय तहमा त्यही गणितबाट निर्वाचनमा भाग लिएको थियो । त्यही समीकरणबाट आसन्न निर्वाचनमा भाग लिने गठबन्धनको निष्कर्ष छ । यस्तोमा सीटको बाँडफाँड गठबन्धनका लागि चुनौति त छ नै सँगै प्रमुख प्रतिपक्षी एमालेलाई पनि यो निर्वाचन विगतको जस्तो सहज छैन । फेरि राजनीतिमा जे पनि हुन सक्ने भएकाले स्थानीय परिवेश, वस्तुस्थिति र आवश्यकता अनुसार जो कोहीको, जो कसैसँग तालमेल भए आश्चर्य मान्नु पर्दैन । यस्तो परिवेश र परिदृष्यका बीच मतदाताले विवेकपूर्ण मतदान नगर्ने हो भने आगत अझै कष्टकर हुने निश्चित छ । त्यसैले मतदाताले कुनै प्रलोभनमा नपरी योग्य, सक्षम, कुशल नेतृत्व चयन गरी राजनीतिक दाउपेचबाट देशलाई मुक्त राख्न अग्रसर हुनुपर्छ ।




























