भद्रपुरमा बालुवा र धुलो नउडाई त्यसैमाथि अलकत्रा हालेपछि…

0
349

भद्रपुर ।

झापाको सदरमुकाम भद्रपुर नगर क्षेत्रमा सडक टालटुलको काम मापदण्ड विपरीत गुणस्तरहीन बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएको छ ।

निर्माण कम्पनीले बालुवा र धुलो नउडाई त्यसैमाथि अलकत्रा हालेर सडक टालटुलको काम अघि बढाएपछि स्थानीयले विरोध जनाएको हो । स्थानीयको विरोधपछि भद्रपुर नगरपालिकाले सो काम तत्काल रोक निर्माण कम्पनी गोपी दुर्गा कन्स्ट्रक्सन प्रा।लि काठमाडौँलाई आदेश दिएको छ ।

भद्रपुर– ६ स्थित भानु चोकदेखि बोक्तबोरी जाने सडक खण्डमा सो कन्स्ट्रक्सनले ठाउँ–ठाउँमा भत्किएका सडकमा बेसको काम सकेर प्राइम कोर्टको काम सुरु गरेका थिए । बेसमाथि जमेको बालुवा र धुलो नउडाएर धमाधम अलकत्रा प्रयोग गरी प्राइम कोर्ट हाल्न थालेपछि हामीले विरोध जनाएको स्थानीय हरदिप राजवंशीले बताए ।

‘केही दिन अघि मात्र बेसको काम सकेको हो, बेसमाथि बालुवा र धुलो जमेको थियो, त्यहीमाथि अलकत्रा हाल्न थाल्यो,’ उनले भने, ‘प्राविधिक ज्ञान नभए पनि बालुवा, माटो वा धुलोमा अलकत्रा हाल्नु हुँदैन, बेसलाई सरसफाइ गरी अनि मात्र अलकत्रा हाल्नु पर्छ ।’

ठेकेदारले धुलो उडाउने मेसिन स्कुटरमा राखेर मनपरी तरिकाले काम गर्न खोजेपछि नगरपालिकाका प्राविधिकलाई जानकारी गराइ तत्काल काम रोक्न लगाएको उनले बताए । सडक बोर्ड नेपालले नगरभित्रका सडक मर्मत सम्भारका लागि भद्रपुर नगरपालिकालाई आर्थिक वर्ष २०७७/०७८ मा ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत गरी १ करोड ९ लाख ४४ हजार ५१२ रुपैयाँ ३३ पैसामा तीन वटा प्याकेज बनाएर टेन्डर आव्हान गरेको थियो । तीन वटै प्याकेजको काम गोपी दुर्गा कन्स्ट्रक्सन प्रा।लिका निर्माण व्यवसायी गोपीराज निरौलाले लिएको नगरपालिकाका इन्जिनियर योगेन्द्र रंजितकारले बताए ।

पहिलो प्याकेज ३३ लाख १० हजार ५१५ रुपैयाँमा निकालेको ठेक्का गोपी दुर्गा कन्स्ट्रक्सन २५ लाख ६१ हजार ५८२ रुपैयाँमा लिएको छ । पहिलो प्याकेजमा वडा नम्बर १ र २ को सगरमाथा चोकदेखि दशरथपुर, वडा ९ को देवकोटा मार्ग र वडा १० को नबिल बैङ्कदेखि काली मन्दिर चन्द्रगढी बजार जाने बाटो पर्छ ।

दोस्रो प्याकेज ४६ लाख ९१ हजार २७८ रुपैयाँमा निकालेको ठेक्का सोही कन्स्ट्रक्सन ३७ लाख २९ हजार ६३१ रुपैयाँमा लिएको छ । दोस्रो प्याकेजमा वडा ८ को भद्रपुर जेसीज मार्ग, सोही वडाको क्याम्पस मार्ग, हस्पिटल चोकदेखि त्रिभुवन चोक र हस्पिटल मार्ग पर्छ । तेस्रो प्याकेज २९ लाख ४२ हजार ७१७ रुपैयाँमा निकालेको ठेक्का सोही कन्स्ट्रक्सन २१ लाख ६० हजार १५८ रुपैयाँमा लिएको हो ।

तेस्रो प्याकेजमा वडा ६ को भानु चोकदेखि बोक्तबारी, सोही वडाको भानु स्मृति माविदेखि भवेन्द्र गौतमको घरसम्म, स्वास्थ्य कार्यालयदेखि संगमचोकसम्म र कनाचोकदेखि मैत्री चोकसम्मको सडक पर्छ । कन्स्ट्रक्सन दोस्रो प्याकेज सम्पूर्ण, पहिलो प्याकेजको दुई वटा र तेस्रो प्याकेजको एउटा काम सकिसकेको बताउँदै इन्जिनियर रंजितकारले भने, ‘अहिले तेस्रो प्याकेजको काम गरिरहेको छ ।’ भानु चोकदेखि बोक्तबारी सडकको काममा मनपरी गरेकोले तत्काल काम रोक्न लगाएको उनले बताए ।

२०७७ चैत २६ गते सम्झौता गरेको काम समयमा नसकेकोले दुई पटक म्याद थप गरी २०७९ पुस मसान्तसम्म समय दिएको उनको भनाई छ । वडा नम्बर ५ र ६ को काम हेर्दे आइरहेका नगरपालिकाका सब इन्जिनियर दिनेश कर्णले बालुवा र धुलो नउडाई अलकत्रासहितको प्राइमकोर्ड हाल्न पाइँदैन ।

भानु चोकदेखि बोक्तबारी जाने सडकमा त्यही समस्या आएको हो । कन्स्ट्रक्सनको काम रोक लगाइसकेको बताउँदै उनले भने, ‘प्राइम कोर्ट हालेको ठाउँ पुनः भत्काएर काम अघि बढाइने छ ।’ ‘कन्स्ट्रक्सन सुरुमा सडक खाल्डाखुल्डी भएको ठाउँमा बेस, त्यसपछि प्राइम कोर्ट, ट्याक कोर्ट र २० एमएमको प्रिमिक्स कारपेन्टिङ काम गर्नुपर्ने हो,’ उनले भने ।

२०७७ चैतको काम अझै नसक्नु र बर्खाको बेला धमाधम सडक टालटुलको काम गर्नुले कामको गुणस्तरप्रति स्थानीयले आवाज उठाउन थालिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here