‘मुलुकलाई सही बाटोमा ल्याउन नीतिगत सुधार आवश्यक छ’

0
481

बाह्रदशी गाउँपालिका – ३ राजगढ निवासी प्रकाश पाठक नेपाली पत्रकारिता क्षेत्रमा स्थापित नाम हो । झापाका विभिन्न सञ्चार माध्यममा काम गर्दा गर्दै अबसरको खोजीमा काठमाडौं छिरेका उनी रेडियो कान्तिपूरमा लामो समयसम्म काम गरे ।  रबि लामिछानेले नेतृत्व गरेको ग्यालेक्सी फोर के टेलिभिजनमा समाचार शाखामा काम गर्न प्रवेश गरेका उनले लामिछानेसंगै टेलिभिजनबाट हात झिकेर राजनीतिमा हाम फालेका पाठक पछि लामिछानेले नै नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुँदै गाउँ फर्किएका छन् । लामिछाने पार्टी विस्तारका लागि देश दौडाहमा छन् भने पाठक झापामा संगठन विस्तारका लागि दौडिरहेका छन् । पार्टीको झापा जिल्ला सचिवको हैसियतले उनी अहिले झापाका हरेक पालिकामा संगठन विस्तारका क्रममा छन् । उनै राष्ट्रिय स्वतन्त्र पार्टीका झापा जिल्ला सचिव प्रकाश पाठकसंग गरिएको कुराकानीको संम्पादित अंश ।


झापाका सबै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको समिति गठन भयो ?
राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म झापा जिल्लाका ९ वटा पालिकामा आफ्नो समिति बिस्तार गरेको छ । भद्रपुर, कचनकबल, हल्दिबारी, झापा, कमल र गौरीगञ्जको समिति गठन हुन बाँकी छ । बाँकी रहेका पालिकामा हामी भदौको पहिलो साताभित्र समिति गठन गरिसक्छौ ।

कुन पालिकामा यहाँहरुको उपस्थिति कस्तो छ ?

हामी मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, गौरादह, अर्जुनधारा र बिर्तामोड नगरपालिकामा बलियो रुपमा उदाएका छौं । बिस्तार भएका अन्य पालिकाहरुमा पनि हामीसँग जोडिनेहरुको संख्या बढ्दो छ । पार्टीमा आवद्द भएर सहयोग गर्ने भन्दा पनि पार्टी र विचारलाई सहयोग गर्नेको जमात ठूलो रहेको छ ।
झापामा अन्य पार्टी परित्याग गरी यो पार्टीमा प्रवेश गर्ने धेरै छन् कि स्वतन्त्र व्यक्ति यो पाटीमका आकर्षित भएका छन् ?
राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले आवद्द हुने अधिकांश मतदाता पुरानै पार्टीबाट आएका छन् । मुख्य रुपमा मुलुकको पछिल्लो राजनीति प्रति बितृष्णा भोगेका र स्थापित दलहरुबाट समग्र मुलुकको बिकास र विस्तार संभव नदेखेका जनता हामीसँग जोडिन आईपुगेका छन् । यसबाहेक नयाँ मतदाता, युवा र सचेत मतदाताको आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनको मिति नजिकदै छ । यो पार्टीले कुन÷कुन क्षेत्रबाट उम्मेद्वारी दिने तयारी गरेको छ ?
हामीले भर्खरै सातैवटा प्रदेशको प्रदेश भेला सम्पन्न गरिसकेका छौ । प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्वारी नदिन सक्ने संभावना बढेर गएको छ । सातवटै प्रदेशबाट आएका सुझावलाई आधार मानेर पार्टीको केन्द्रिय नेतृत्वले भावी रणनीति तय गर्नेछ । संभवत हामी प्रदेश संरचनाका बिषयमा असहमति राखेर उम्मेद्वारी नदिने अवस्थामा पनि पुग्न सक्छौ । तर, प्रतिनिधि सभाको निर्वाचनमा हामीले सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिन्छौ । हामी त्यसको गृहकार्यमै छौ ।
चुनावमा भाग लिनकै लागि मात्रै उम्मेद्वारी दिने हो कि जित्नकै लागि हो । तपाईहरु सम्भवत नेपालकै कान्छो पार्टीका रुपमा हुनुहुन्छ अनि जित्ने आधार चाँहि के÷के छ न् नि ?
हामी राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्बाचनपछि सरकारको नेतृत्वमा पु¥याउँछौ भन्ने लक्ष्यमा चुनावी मैदानमा होमिएका हौं । सरकारमा पुग्न निश्चिय नै चुनाव जित्नै पर्ला । पार्टीले संबैधानिक समाजवादको नीति र भ्रष्टाचार नियन्त्रणलाई मूल मुद्दा बनाएकाले त्यसमा जनताको समर्थन प्राप्त हुनेमा हामी विश्वस्त छौ । त्यसबाहेक मजदुर र किसानलाई भीभीआईपी मानेर उनीहरुको उत्थानमा लिएका रणनीति, राज्यको खर्चमा विदेशमा कसैको उपचार गर्न नदिने, शिक्षा प्रणालीमा व्यापक सुधार गरी अन्यतराष्ट्रिय मापदण्ड अनुसारको परिणाममुखी शिक्षा प्रदान गर्ने, योग्य शिक्षकलाई राज्यको सबैभन्दा धेरै तलब सुबिधा दिने, अपराध अनुसन्धानमा तिब्रता र कडाई, तनावमुक्त सरकारी सेवा जस्ता नीतिले निर्वाचनमा जनमत पाउनेमा आशावादी छौ ।

 

यहाँको पनि उम्मेद्वारीको चर्चा सुनिन्छ । कुन क्षेत्रबाट के मा उम्मेद्वारी दिन खोज्नु भएको हो ?

मुलुकमा विगत लामो समयदेखि देखिएका भ्रष्टाचार,विकृति र अस्त व्यस्ततालाई हामी जस्तो सचेत नागरिकले टुलुटुलु हेरेर बस्न मिल्दैन् । साढे ७ दशकदेखि मूलधारका दलहरुले गरेको ज्याजति र मुलुकको अर्थतन्त्रमा पर्दै गएको दबावलाई रोक्न हामी जस्ता युवा चुप लागेर बस्न मिल्दैन् । त्यसलाई मूल मन्त्र बनाएर मैले राजनीतिमा होमिने निर्णय लिएको हुँ । झापाको निर्वाचन क्षेत्र नम्बर तीनबाट उम्मेद्वारी दिने तयारीमा छु । पार्टीले लिने नीति केही दिनमै सार्वजनिक हुन्छ, त्यसपछि मेरो उम्मेद्वारीको बिषयमा निर्णय गर्छु । प्रदेश सभामा उम्मेदवारी नदिने नीति पार्टीले लिए म प्रतिनिधि सभाका लागि मैदानमा उत्रनेछु ।

अन्य प्रतिष्पर्धी दललाई यहाँहरुले कुन रुपमा हेर्नु भएको छ ?

स्थापित दलहरु विगत लामो समयदेखि समाजका भित्रसम्म जरा गाडेर बसेका छन् । उनीहरुको संगठन र कार्यकर्ता परिचालन निक्कै बलियो छ । हामी पार्टी स्थापनाको छोटो समयमै निर्वाचन प्रक्रियामा जानु पर्ने बाध्यात्मक अवस्थामा रहेकाले अन्य दलको तुलनामा हामी कमजोर छौ । तथापि हामीसँग विचार र मुलुक निर्माणको स्पष्ट खाका छ । त्यसमा अहिलेका ठूला दलभन्दा हामी निक्कै अगाडि छौ । हाम्रो यही सबल पक्षलाई लिएर हामी जनताका घर घरमा जान्छौ ।

पार्टीमा आबद्ध हुनु अघि यहाँ पनि एक सञ्चारकर्मी । सञ्चारकर्म छाडेर तपाई किन राजनीतिमा हाम फल्नुभयो ?
सञ्चारकर्मीका रुपमा जिल्ला र काठमाडौंमा काम गर्दानै मैले मेरो देश, देशको नेतृत्व र उनीहरुको कार्यशैलीलाई चिन्ने अवसर पाए । स्टुडियोमा हरेक दिन वाचन गरेका समाचार, आफ्ना आसपासमा रहेका नागरिकको अवस्था र नेताहरुको बोली र व्यवहारबीचको भिन्नताले मलाई चौथो अंगको धारबाट अलग्याएको हो । बिधिको शासन र राष्ट्र निर्माणको हरेक योजनामा स्पष्ट मार्गचित्र, त्यसको पारदर्शीता, संभावना बोकेका र क्षमता भएका युवालाई देशमै रोकेर क्षमता अनुसारको क्षेत्रमा उनीहरुलाई परिचालन गर्ने र उनीहरुलाई राज्यले संरक्षण गर्ने, किसान र मजदुरलाई सबैभन्दा ठूलो शक्ति मानेर उनीहरुको उत्थानमा राज्यले ध्यान दिने कल्पना हामीले गरेका हौं ।


राष्ट्रिय स्वतन्त्र पार्टीको अंगका रुपमा रहेकाले हामीले परिकल्पना गरेको मुलुकलाई यी बुँदामा उल्लेख गर्न चाहान्छु ।
१. भ्रष्टाचार सहिन्न, कसैलाई छोडिन्न।
२.फाष्ट ट्रयाक कोर्ट ।
३. सीमा सुरक्षा ।
४. प्रत्येक जनताको गुनासो सुन्ने २४ घण्टे हटलाईन सेवा ।
५. शिक्षा प्रणालीमा व्यापक सुधार ।
. जनताको स्वाथ्य राष्ट्रको धन।
७. साना व्यापारीसँग हातेमालो ।
८. पर्यटकीय शहर २४ सै घण्टा खोलिने ।
९. ठाँउको ठाँउ उजुरी र कारबाहीको अबधारणा ।

के त्यो नेपालमा तत्कालै तपाईहरुले कल्पना गरेको मुलुक बनाउन सम्भव छ ?

बिभिन्न कारणले मुलुकको अर्थतन्त्र दबावमा परेको छ । यसलाई मैले ब्याख्या गर्न चाहिन । मुलुकलाई सही बाटोमा ल्याउन नीतिगत सुधार आवश्यक छ । हामीले ठूला र असंभव योजनाहरु अघि सारेका छैनौ । सही व्यक्ति, सही स्थानमा राख्न मात्र सक्यौ भने पनि यावत समस्याको समाधान हुनेछ । हामीले भनेका कुराहरु निक्कै साना र गर्न सकिने छन् । यो सहजै सम्भव छ ।

निर्बाचन जित्नुभयो भने त राजनीति गर्ने नै हुनुभयो । यदि परिणाम आफ्नो पक्षमा आएन भने भोलिका दिनमा राजनीति नै गर्ने कि फेरि सञ्चारकर्ममा फर्कने ?

मैले २०६३ सालबाट सञ्चारकर्म शुरु गरेको थिए । शुरुवातमा व्यक्तिगत चाहाना, पछि व्यवसायिक बन्दै यो अवस्थामा आईपुगे । यो बीचमा मैले पूर्ण रुपमा आफ्नो हिडाँई परिवर्तन गर्ने निर्णय लिएको हो । सञ्चारमाध्यमबाट गर्न नसक्ने काम अब राजनीतिबाट पूरा गर्ने अठोटका साथ मैदानमा होमिएको छु । यसरी राजनीतिमा आईसकेपछि प्राप्त हुने जुनसुकै परिणामलाई स्विकारेर अघि बढ्नु पर्छ । परिणाम जे सुकै आएपनि मैले न्यूनतम नैतिकता प्रर्दशन गर्नै पर्छ । परिणाम पक्षमा नआए म जनताको सेवामुखी व्यवसाय शुरु गर्छु । जसले मेरो आगामी राजनीतिक यात्रालाई थप सहज बनाउनेछ ।

प्रस्तुति – सुरेन्द्र भण्डारी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here