आज दधिकाद मनाइँदै

0
252

पूर्वी नेपालको झापा, मोरङ र सुनसरी लगायतका जिल्लाहरुमा बस्ने आदिवासी राजवंशी समुदायमा आज हर्षोल्लासको साथ दधिकाद मनाइँदैछ । भारत, बंगलादेश सँगै नेपालमा बस्ने हामी जो कोहीले पनि देखेको एउटा मौलिक पर्व हो– दधिकाद ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट राजवंशी, ताजपुरिया, गनगाइ लगायतका समुदायभित्र दधिकाद उच्च आस्था र हर्षोल्लासका साथ मनाउने गरिन्छ । राजवंशी भाषामा ‘दधि’को अर्थ दही र ‘काद’को अर्थ हिलो हो । अतः दहीको हिलोमा खेल्ने खेललाई नै दधिकाद भनिन्छ । नयाँ वर्षको प्रारम्भ सिरुवाबाट गर्ने यो राजवंशी समुदाय हिउँदे बालीको रोपाइँ सकेर श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद हर्षोल्लासका साथ मनाउने गर्छन् ।

राजवंशी भाषाका इतिहासकार पानीलाल राजवंशीका अनुसार पौराणिक कालमा भगवान् कृष्णको जन्मको खुशियालीमा दहीसँग खेल्ने प्रतियोगिता गरिएको विश्वास रहेको र त्यही आध्यात्मिक विश्वासको कारण कालान्तरमा दधिकाद खेलको रुपमा परिणत भएको हो । परापूर्वकालदेखि नै राजवंशी समुदायको मुख्य पेशा खेतीपाती र पशुपालन हो । पूर्वी नेपालका भूमिपुत्र राजवंशी समुदायको चाडपर्वहरुमा सृष्टिको अमूल्य वरदान माटो–पानीसँगको सामिप्यता देख्न सकिन्छ ।

सनातन हिन्दू धार्मिक आस्थामा आधारित दधिकाद राजवंशी समुदायको एउटा मौलिक पर्व हो । यस पर्वले भगवानप्रतिको श्रद्धालाई उच्च राख्दै राजवंशी जातिको लोक–संस्कृतिलाई झल्काउँछ । भगवान श्रीकृष्णसँग दधिकाद आयोजन गर्ने भाकल गर्दा आफ्नो मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । वैमनश्यता, क्रोध, इष्र्याको अन्त्य गर्दै सहिष्णुता, प्रेम र भाइचारालाई प्रोत्साहन गर्ने यो पर्वका पनि धेरै प्रकारहरु हुन्छन् । जस्तैः बाँस काद, कल काद, कुल्हा काद, दोद्लोङ काद आदि । दधिकादका विभिन्न प्रकारहरु मध्ये नयाँ पुस्ताबीच ‘बाँस काद’ बढि लोकप्रिय रहेको पाइन्छ ।

दधिकाद खेल्न खुल्ला ठाउँमा एउटा अग्लो बाँस गाडिन्छ । नरिवल, पान, सुपारी, पैसासँगै सुन–चाँदी जस्ता बहुमूल्य धातु एउटा रातो कपडामा बेरेर सोही बाँसको टुप्पामा झुड्याइन्छ । घीऊ र तेल दलेर चिप्लो पारिएको त्यस बाँसको टुप्पोमा घीऊ या तेल पनि राख्ने गरिन्छ । जसले गर्दा त्यो बाँस जति हल्लिन्छ त्यति नै माथि राखिएको घीऊ र तेल बाँसको तल बग्ने भएकाले बाँस चिप्लो बनिरहन्छ । सिधा ठड्याइएको बाँसको तल भने रातो माटोको हिलो तयार गरिन्छ । परापूर्वकालमा यो हिलो दहीको हुने गरेको भए पनि अहिले भने माटोको नै हिलो बनाइन्छ र जसमा प्रतिकात्मक रुपमा केही दही हाल्ने गरिन्छ । यसरी तयार भएको दधिकाद र चिप्लो बाँसको टुप्पोमा राखिएको प्रसाद र पुरस्कार जित्न खेलाडीहरु बीच कडा प्रतिस्पर्धा हुने गर्दछ ।

शरीरको सन्तुलन नै कायम गर्न कठिन हुने हिलो र चिप्लो बाँसको टुप्पोसम्म उक्लेर प्रसाद र पुरस्कार हात पर्नु एकदमै कठिन हुने गर्दछ । खेलाडीहरुले एकअर्कालाई उछिन्दै हिलोमा लडिबडी गर्दा एकदमै रमाइलो दृश्य देख्न सकिन्छ । भगवान कृष्णको श्रद्धा तथा खेलाडीहरुलाई हौसला प्रदान गर्न बजाइने राजवंशी समुदायको लोक बाजागाजाले दधिकादको रौनकता अझ बढ्ने गरेको पाइन्छ । धेरै मेहनत र संघर्षपछि बाँसको टुप्पोमा राखिएको प्रसाद र पुरस्कार हात पार्ने व्यक्तिले पुनः त्यस प्रसाद र पुरस्कारलाई घरको ठाकुरबारीमा (कुलदेवता) चढाउने गर्दछन् । उक्त व्यक्तिलाई बिजेता स्वरुप इनाम दिइन्छ । विषेशगरी पुरुष सहभागी हुने यस खेलमा सबै उमेर समूहका मानिसहरु उत्साहपूर्वक सरिक हुने गर्दछन् ।

विगतमा भगवान कृष्णको जन्मको खुशियालीमा गाउँ–गाउँमा मनाइने दधिकाद पछिल्ला दिनहरुमा यस पर्व लोप हुँदै गइरहेको बताउनुहुन्छ राजवंशी भाषा संस्कृति एवम् इतिहासका जानकार फुलसिंह राजवंशी । उहाँका अनुसार छुट्टै मौलिक, सांस्कृतिक पहिचान बोकेको दधिकादको महत्व धेरै भएता पनि नयाँ पुस्तामा पश्चिमी र अन्य संस्कृति प्रतिको बढ्दो मोहले गर्दा दधिकाद दिनानुदिन ओझेल पर्दै गएको छ । विगतमा हरेक गाउँ–गाउँमा सामुहिक रुपमा आयोजन गरिने दधिकाध पछिल्लो समय कसैले आफूले गरेको भाकल पूरा गर्न त कतै राजवंशी समुदायका सचेत युवाहरु आफ्नो संस्कृति जोगाइ राख्न सामुहिक रुपमा दधिकाद आयोजना गर्ने गर्दछन् ।

राजवंशी समुदायका सामाजिक व्यक्तित्व तथा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीका अनुसार देशका विभिन्न भागमा बोलिने भाषा, लोक भेषभुषा, चाडपर्व, कला, संस्कृतिहरु देशको अमूल्य गहना हुन् । वास्तवमै राजवंशी समुदाय लोक संस्कार, संस्कृतिले सम्पन्न जाति हो । तर, यसमा आवश्यक अध्ययन अनुसन्धानको कमी र राज्यको तर्फबाट पनि यस्ता लोक चाडपर्वको संरक्षण र प्रवद्र्धनको लागि ठोस कदमको अभावमा लोप हुने अवस्थामा पुगिरहेको छ ।

अहिलेको युवा पुस्ताले आफ्नो बल र विवेकले दधिकाद जस्तो मौलिक पर्वहरुको संरक्षणको निमित्त केही कार्यक्रमहरु गर्ने गरेको भएता पनि त्यो पर्याप्त नभएको उहाँको बुझाइ छ । विभिन्न जातजातिको यस्तो ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व हो । सरकारले भाषा, कला संस्कृतिको जगेर्ना गर्ने ठोस कार्यक्रम ल्याए त्यसको सहजताको लागि राजवंशी समुदायमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका प्रशस्त युवाहरु रहेको बताउनुभयो ।

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी भाइचाराको भवानालाई प्रोत्साहन गर्ने दधिकाद नेपालको सांस्कृतिक विविधतालाई कायम राख्ने एउटा महत्वपूर्ण पर्व हो । विविधताको पावन भूमि नेपालमा दधिकाद जस्ता मौलिक लोकपर्वलाई संरक्षण र प्रवद्र्धन हामी सबैले गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here