भारतका नयाँ उप–राष्ट्रपति ‘जगदीप धनखड’

0
430

भारतको १४औं उप–राष्ट्रपतिको रुपमा जगदीप धनखड चुनिएका छन् । उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले ११ अगष्ट २०२२ का दिन राष्ट्रपति भवनमा उप–राष्ट्रपति पदको सपथ गराएकी छन् । जगदीप धनखडको जन्म १८ मे १९५१ मा भारतको राजस्थान राज्यको झुन्झुनू जिल्लामा भएको थियो । एउटा सानो गाउँ किथानामा गोकल चन्द र केसरी देवीको घरमा हिन्दू जाट परिवारमा उनको जन्म भएको थियो । जगदीप धनखडको विवाह १९७९ मा डा. सुदेशसँग भएको थियो र उनीहरुका एक छोरी कामना छिन् ।

शिक्षा :

जगदीप धनखडले कक्षा १ देखि ५ सम्म गाउँकै सरकारीमा स्कूल पढे । छात्रवृत्ति पाएपछि चितौडगढको सैनिक स्कूलमा भर्ना भए । जयपुरको प्रतिष्ठित महाराजा कलेजमा बी.एस.सी. अनर्सको डिग्री हात पारे र राजस्थान विश्वविद्यालयबाट कानूनमा एल.एल.बी.को पढाई पूरा गरे । पढाइमा उनी जहिले डेडिकेटेड र अब्बल रहन्थे । पछि उनी एक वकिल र राजनीतिज्ञका रुपमा निचिए ।

राजनीतिक यात्रा:

राजनीतिज्ञको रुपमा उनी नेशनल डेमोक्र्याटिक एलायन्स (बिजेपी गठबन्धन) आबद्ध हुन् । उनले पाँच सय २८ इलेक्ट्रोरल भोट पाएर भारतको उप–राष्ट्रपति पदमा चुनिएका हुन् । उनको प्रतिस्पर्धी मार्गारेट अल्भाले एक सय ८२ इलेक्ट्रोरल भोट पाइन् । भारतमा उप–राष्ट्रपति निर्बाचन ६ अगस्ट २०२२ मा भएको हो ।

भारतको उप–राष्ट्रपति हुनु अघि जगदीप धनखड पश्चिम बंगालका गभर्नर, मेम्बर अफ द राजस्थान लेजिस्लेटिभ एसेम्ब्ली, मिनिस्टर अफ स्टेट फर एक्स्टर्नल एफायर अफ इन्डिया र लोक सभा सदस्य जस्ता गहन जिम्मेवारीवहन गरिसकेका छन् । उनी विगतमा जनता दल र कांग्रेस पार्टीको सदस्य रहेका थिए । उनी सन् १९८९ देखि १९९१ सम्म नवौं लोकसभामा राजस्थानको झुन्झुनू लोकसभा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने जनता दलका सांसद थिए । उनी १९९१ मा कांग्रेसमा प्रवेश गरे ।

१९९१ मा सम्पन्न भारतीय आम चुनावमा अजमेर लोकसभा निर्वाचन क्षेत्रबाट हारे । उनी किशनगढ़, राजस्थानबाट १९९३ देखि ९८ को १०औं विधान सभा राजस्थानमा विधानसभा सदस्य (विधायक)को रूपमा निर्वाचित भए । उनले झुन्झुनू लोकसभा निर्वाचन क्षेत्रबाट १९९८ भारतीय आम चुनाव हारे र तेस्रो स्थानमा पाए । २००३ मा भाजपामा सामेल भए । २००८ को भाजपाको विधानसभा चुनाव प्रचार समितिका सदस्य रहे । २०१६ मा उनले बीजेपीको कानून र कानूनी मामिला विभागको प्रमुख जिम्मेवारी सम्हाले । जगदीप धनखडले राजस्थानका जाट समुदायलाई ओबिसी स्थिति (मान्यता) प्रदान गराउन साथै अन्य पछाडि पारिएका वर्गहरुसँग सम्बन्धित मुद्दाहरुलाई सफलतापूर्वक अगाडि बढाएका थिए ।

अन्य भूमिका :

भारतको संविधानले उप–राष्ट्रपतिलाई दोहोरो भूमिका प्रदान गरेको छ । पहिलो भूमिकामा देशको कार्यपालिकाको दोस्रो मुखिया र दोस्रो भूमिकाको रुपमा संसदको उच्च सदन अर्थात् राज्यसभाको सभापतिको जिम्मेवारी सुम्पेको छ । संविधानले उप–राष्ट्रपतिलाई यी मुख्य जिम्मेवारी पनि प्रदान गरेको छ ।

यी बाहेक राष्ट्रपतिको पद खाली भएमा उप–राष्ट्रपतिले राष्ट्रपतिको भूमिका वहन गर्नुपर्ने हुन्छ । उप–राष्ट्रपति पद राष्ट्रपति पदभन्दा तल भएता पनि प्रधानमन्त्री पदभन्दा उच्च अर्थात् माथि रहन्छ । उप–राष्ट्रपति पनि विदेश भ्रमणमा जान सक्छन् । ताकि अन्य देशहरुसँग मजबुत कुटनीतिक सम्बन्ध स्थापित हुन सकोेस् ।

खेलाडी पनि :

जगदीप धनखड कुनै समय राजस्थानको ओलम्पिक र टेनिस एशोसियसनका सभापति समेत रहेका थिए । स्कूले जीवनमा क्रिकेट खेल्दथे । त्यसरी उनी खेलकुदमा पनि रुची राख्थे । उनी अध्यात्ममा पनि रुची राख्दथे र ध्यान पनि गर्दथे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ ः मोदीले भनेका छन् कि, भारतका उप–राष्ट्रपति जगदीप धनखडमा भारतको संविधानको राम्रो ज्ञान छ र व्यबस्थापकीय विषयमा पनि उत्तिकै विज्ञ छन् ।

भारतको १४औं उप–राष्ट्रपति जगदीप धनखडको जीवनी र देशप्रतिको योगदानले भारतमा एउटा छुट्टै प्रेरणा प्रवाह गरेको छ । राम्रा काम गर्दै आए मानिसले जीवनमा एकदिन मनको उद्देश्य र काममा सफलता प्राप्त गर्दछन् भन्ने सन्देश फैलिएको छ । उनको संघर्ष, असल काम, समाज तथा देशप्रतिको योगदान र सफलताबाट नेपालका राजनीतिकर्मीहरुले धेरै कुरा प्रेरणा लिन सक्छन् । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here