कांग्रेस नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको निधन,आजै अन्त्येष्टि गरिने

0
400

काठमाडौं,

शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको आज अन्त्येष्टि गरिने भएको छ।

अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गीय गिरीको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ।

त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले जनाएका छन्। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिनेछ।

करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो। त्यसपछि उनले भारतमा उपचार गरेका थिए। यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए।

घाँटीको क्यान्सरको संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए।

नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्रीसमेत हुन्। गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दादेखिको राजनीतिक संगत थियो। राजनीतिक संघर्षकै क्रममा गिरीले करिब चार वर्ष जेल जीवन बिताए।

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका गरी ०५६ चुनावमा पराजित भए। ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदकोरुपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरीले ०७४ मा भने प्रत्यक्षतर्फ नै चुनाव जितेका थिए।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here