दाङमा ट्रकमा आगजनी, कैलालीमा शंकास्पद बस्तु फेला, झापाका अधिकांश शैक्षिक संस्था बन्द

0
380

बिर्तामोड ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको असर देशभर परेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी छिटफुट मात्रमा सञ्चालन भइरहेको जनाइएको छ ।

सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।

यसैबीच झापामा बन्दको प्रभाव सामान्य रुपमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहानैबाट निर्वाध रुपमा सवारी सञ्चालनमा रहेको र मानिसको चहलपहल पनि बढ्दै गएको जनाइएको छ । बन्दका कारण अधिकांश शैक्षिक संस्थाहरु भने बन्द भएका छन् । हालसम्म कुनै पनि स्थानमा बन्दकर्ता देखा नपरेको र कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको प्रहरी प्रवक्त बसन्त पाठकले जानकारी दिए ।

यता काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, सडक र चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । उता बन्दकर्ताले दाङमा बिहानै सवारीसाधनमा आगजनी गरेका छन्।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेका हुन्। चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिपरको अघिल्लो भागमा आगो लगाएर भागेका थिए। आगजनीका कारण टिपरको अघिल्लो भाग जलेको छ। घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।

यता इलाममा पनि बिहानैबाट बन्दको प्रभाव परेको बताइएको छ । बन्दका कारण इलामका अधिकांश बजारहरु बन्द रहेका छन् भने सवारी सञ्चालन समेत नरहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सुमन सिंहले जानकारी दिए ।

सरकार र विप्लव समूहबीच २०७७ फागुन २० गते ३ बुँदे सहमति भएको थियो। सहमति कार्यान्वयनका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नभएको भन्दै विप्लव समूहले आन्दोलन सुरु गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here