चिनियाँ सेनाको चेतावनी: चीन–भारत सीमा मुद्दामा तेस्रो पक्षले हस्तक्षेप नगरोस्

0
162

चीन,

चीनको जनमुक्ति सेनाले चीन–भारत सीमा विवादमा तेस्रो पक्षलाई सहभागी नहुन चेतावनी दिएको छ। अमेरिका र भारतले चीनको सीमा क्षेत्रनजिकै संयुक्त सैन्य अभ्यास गरेको केही समयपछि चिनियाँ सेनाले यस्तो चेतावनी दिएको हो।

‘चीन–भारत सीमा मुद्दामा तेस्रो पक्षको हस्तक्षेपको हामी दृढ विरोध गर्छौँ,’ चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता सिनियर कर्णेल तान केफेइले बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने।

अगस्ट ८ मा अमेरिका र भारतका सैनिकहरुले हिमाचल प्रदेशमा संयुक्त सैन्य अभ्यास सुरु गरेका थिए। यी दुई मुलुकले अक्टोबर १८ देखि ३१ सम्म उत्तराखण्डमा सैन्य अभ्यास गर्नेछन्। सो स्थान चीनको सीमाबाट १०० किलोमिटरभन्दा नजिक छ।

बेइजिङ र वासिङ्टनबीच ताइवानलाई लिएर तनाव बढिरहेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि यो महिनाको सुरुमा चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो।

तानले सीमा मुद्दा चीन र भारतको द्विपक्षीय विषय भएको भन्दै संवादबाट परिस्थितिलाई नियन्त्रण गर्ने सहमति भएको बताए। २०२० गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएपछि दुई मुलुकबीचको सम्बन्ध खराब भएको थियो। उनीहरुबीच सैन्य कमान्डरको तहमा १६ चरणको वार्ता भइसकेको छ। तैपनि तनाव पूर्णतः मत्थर हुन सकेको छैन। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here