तीजको मौलिकता जोगाऔं

१२ भाद्र २०७९, आईतवार मा प्रकाशित

हामी भिन्न जातजाति, धर्म, संस्कृति अनि भिन्न परिवेशमा रहेर हरेक चाडपर्व उत्तिकै श्रद्धा र आस्थाका साथ मनाउँदै आइरहेको छौं । सोही क्रममा नजिकै आइरहेको तीजको सन्दर्भ जोड्न मन लाग्यो ।

विशेषतः हिन्दू नारीहरुले विशेष श्रद्धा र आस्थाले मनाउँदै आएको चाड हो तीज । तीजको आफ्नै विशेषता छ, रातो पहिरनमा सजिएर नजिकैको शिवालयमा गएर शिवजीको पूजा आराधाना गरेर दिनभर निर्जला, निरहार व्रत बस्ने चलन परापूर्वकालदेखि चलिआएको छ । तीजमा पहिलो दिन मिठो–मसिनो (दर) खाएर भोलिपल्ट पानीसम्म नखाई व्रत बस्नुपर्छ भन्ने परम्परागत सोचमा केही परिवर्तन गर्दै तीज पर्व उमँग र उल्लासका साथ मनाइन थालिएको छ । आजभोलि त झनै तीज पर्वको नाममा विकृति पनि उत्तिकै आएको छ भन्दा फरक नपर्ला ।

उहिलेको तीजका गीतमा पीर व्यथा, आत्मीयता, साथीसंगी, नन्द–आमाजु, सासू–बुहारीसँग सम्बन्धित हुन्थ्ये । अहिलेको तीजको गीतहरु भेलु बाजे र दुर्गेश थापा बीच–बीचमा भन्ने जस्ता शब्दहरुको प्रयोग गरेर ल्याएको सुन्न देख्न पाइन्छ । त्यसै त पर्वको नाममा चाडपर्व शुरु हुनुभन्दा एक महिना अगावैबाट दर खाने र खुवाउने चलन चलेको छ । यो कुरालाई नकारात्मक रुपमा चाहिँ नलिँदा पनि ठिकै हुन्छ । अहिलेका महिलाहरु घर, बालबालिकादेखि लिएर अफिससम्म व्यस्त हुन्छन् ।

कामकाजी महिलाहरुले एकदिन साथीसंगी भेला भएर कुनै पार्टीप्यालेसमा जम्मा भएर तीज कार्यक्रम मनाउनुलाई गलत अर्थ लाउन हुँदैन । तर, तीज मनाउने भनेर तीजको दर खाएको भन्दै हातमा वियरका बोतल समातेर एकसे एक कपडा र गहनामा सजिएर आफू ऊ भन्दा म के कम भन्ने भावनाको विकास भएको पनि देखिन्छ । यो चाहिँ अलिक पाच्य नहोला यो समाजलाई ।

आपसी सद्भाव, भेटघाटको माध्यमको लागि तीज पर्वलाई दिन सकिन्छ । तर, आडम्वर प्रदर्शन गर्नकै लागि महिनौं अघिबाट तीज मनाउन चाहिँ अलिकति अपाच्य नै देखिन्छ । धार्मिक मान्यता अनुुुसार राजा हिमालयले छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गराइदिने यहाँ पाएपछि आफूले मन पराएको वर शिव पाउँ भनेर पार्वतीले शिवलिङ्गको स्थापना गरी निराहार, निर्जल व्रत बसेकाले शिवजी प्रशन्न भई आशीर्वाद दिँदै शिव–पार्वतीको विवाह सम्पन्न भएको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ ।

आधुनिकतालाई अँगालेर हामी आफूले नै आफ्ना संस्कृतिहरुलाई परिवर्तित नगरौँ । व्रत बसौं तर पानी पनि नखाई बस्ने प्रथा हटाएर पानी, फलफूल जुस खाऔं । चाड, पर्व मनाउनुपर्छ आपसी मेलमिलाप, सद्भाव र संस्कृतिको जगेर्नामा हामी नलागे कसले गर्छ ? हामी पछिको पिढीलाई पनि त संस्कृतिको ज्ञान गराउनुछ । यो पर्वले के आस्था बोकेको भनेर सिकाउनु छ । दरखाने दिन आमाले थालभरि पस्केर दिनुभएको त्यो दर चेलीबेटी चुलाको वरिपरि बसेर हाँस्दै खाएको पललाई कायम राखौं । तर, अब त पार्टी प्यालेसमा नो व्रत प्लीज भन्दै गीत बजाएर धेरै आधुनिकता तिर पनि नलागौं । स्मार्ट महिलाहरु स्मार्ट प्रविधिमा रमाउँदैै कला, संस्कृतिको जगेर्ना, आदर, सम्मान गर्न नभुलौं । अन्त्यमा सबैमा तीजको शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here