बिर्तामोड ।

नगरको गौरब नमूना टोल । बिर्तामोड नगरपालिका–७ हर्चना । रातो टिनको छानो भएका एकैखाले ३७ घर । सन्थाल, चौधरी, मण्डल, राय लगायतका आदिवासी, मधेसी समुदायको बसोबास । विद्यालय जाने उमेरका १०० बालबालिका तर ३५ जनाभन्दा बढी खेलेरै दिन बिताउँछन् । उनीहरु विद्यालय पुगेका छैनन्, पढने उमेर घर्किरहेको छ तिनीहरुको ।
नजिकै विद्यालय नभएको र घरबाट अलिक परको विद्यालय पठाउन विभिन्न समस्या बताउँछन् अभिभावकहरु । उनीहरुको लागि नजिकको बिद्यालय हो– गरामनीको दुर्गा मावि, शुक्रराज आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र प्रशान्ति बोर्डिङ । दैनिक ज्यालादारीमा श्रम गरेर जसोतसो दुई छाक टार्दै आएका अभिभावकको आर्थिक अवस्थाले भ्याउँदैन टोल नजिकैको प्रशान्ति बोर्डिङ पढाउन ।
उत्तरतर्फ करिब डेढ किलोमिटरको दूरीमा जनता आधारभूत विद्यालय छ । जंगलको बाटो हुँदै जानुपर्ने भएकाले टोलवासीले बालबालिकालाई त्यहाँ पठाउँदैनन् । दुर्गा मावि र शुक्रराज आधारभूत विद्यालय जानलाई बिर्तामोड–चन्द्रगढी सडक भएर पैदल जानु पर्छ । दुर्घटनाको जोखिमले गर्दा साना बालबालिका विद्यालय पठाउन अभिभावक डराउँछन् । अर्को पनि समस्या छ, साना बालबालिकालाई लामो दुरी हिँड्न मुस्किल छ । कतिपयले शुरुका दिनमा छोराछोरी विद्यालय पठाए पनि हिँड्न नसकेर बाटैबाट कैयौं पटक फर्किएका छन् ।
ठूला उमेरका अधिकांश शुक्रराज आधारभूत विद्यालय नै जान्छन् । ‘बिर्तामोड–भद्रपुर रोड हुँदै शुक्रराज स्कुल जानुपर्छ, केटाकेटीलाई गाडीले ठक्कर दिन्छ भनेर धेरै जना डराउँछन्’– समस्याबारे प्रष्ट्याउँदै टोल विकास संस्थाका अध्यक्ष शंकर चौधरी भन्छन्– ‘त्यसैले विद्यालय जाने उमेर पुगिसके पनि धेरैले छोराछोरीलाई स्कुल पठाउँदैनन्, ७÷८ वर्षको पुगेपछि मात्रै भर्ना गर्छन् ।’
यही कारण उमेर पुगे पनि बिद्यालय भर्ना नभई घरमै बसिरहेका छन् उक्त टोलका बालबालिका । विद्यालय जानेहरूको पनि उमेर अनुसारको पढाइ छैन । ठूलो उमेरका बालबालिका सानो कक्षामा पढ्छन् । जसको असर, आधारभूत तह (कक्षा ८) सम्मको पढाइ समेत पूरा नगरी विद्यालय जान छाड्नेको संख्या बढ्दो छ । टोलमा प्रतिपरिवारमा औसत तीन बालबालिका छन् ।
‘स्कुल टाढा छ, मेनरोड हुँदै जानुपर्छ, साना केटाकेटीलाई कसरी पठाउनु ?’– अभिभावक रेखा मण्डलले भनिन्– ‘चार वर्षकी कान्छी छोरी रचनालाई पनि बालविकास कक्षामा भर्ना गर्नुपर्ने हो ।’ तर स्कुल टाढा भएकाले भर्ना नगरेको उनले बताइन् । उनकी जेठी छोरी कल्पना मण्डल ११ वर्ष लागिन् । उमेर अनुसार उनी अहिले कक्षा ६ पढ्नुपर्ने हो । तर, भर्खर कक्षा ३ मा पढ्दै छिन् । उनकी बहिनी करुणा ८ वर्षकी भइन्, बल्ल कक्षा १मा भर्ना भएकी छन् ।
उर्मिला रायका चार छोराछोरीमध्ये तीन छोरी विद्यालय जान्छन् । जेठी ८ वर्षकी ऋतिका कक्षा १मा पढ्छिन् । जुम्ल्याहा ७ वर्षका ऋदिमा र ऋषिकालाई यस वर्षदेखि बालविकास कक्षामा भर्ना गरेको रायले बताइन् । ‘टाढा भएकाले केटाकेटी विद्यालय जानै मान्दैनन्, कहिले १० दिनसम्म, कहिले १५ दिनसम्मै पढ्न जाँदैनन्’– उनले भनिन्– ‘हामी बिहानै काममा निस्कन्छौं, उनीहरू विद्यालय नगई घरमै खेलेर बस्छन् ।’
उक्त टोलको समस्याको विषयमा संवाद समूह झापाले टोलमै पुगेर छलफल गरेको छ । उमेर पुगेर पनि विद्यालय नजाने बालबालिकाको संख्या बढेपछि संवाद समूहका प्रतिनिधि समक्ष अभिभावकहरुले टोल नजिकै बाल विकास केन्द्र स्थापनाको माग गरेका छन् । उनीहरुले आफ्नो आवाज सरकारले नसुनेको बताए । विद्यालय भर्ना नहुने तथा नियमित विद्यालय नजाने विद्यार्थीको संख्या बढ्दै गएपछि यसबारेमा नगरपालिकालाई लिखित रूपमै जानकारी गराए पनि हालसम्म समस्या समाधानको पहल नभएको टोलवासीको गुनासो छ ।
‘विद्यार्थीका लागि सानो कक्षा नै महत्वपूर्ण हुन्छ, त्यही कक्षा पढेन भने कसरी ठूलो कक्षा पढ्न सक्छ ?’– टोलका अध्यक्ष चौधरीले भने– ‘यो समस्या समाधानका लागि टोल नजिकै एउटा बालविकास केन्द्र स्थापना गर्न नगरपालिकालाई लिखित निवेदन दिएका छौं ।’ शुक्रराज आधारभूतका प्रधानाध्यापक कृष्ण सुवेदीका अनुसार यस वर्ष विद्यालयले १५ दिन विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । तर, भर्ना अभियान उक्त टोलमा पुगेन ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले उक्त विषयबारे आफू जानकार रहेको बताए । उनले छलफल भए पनि निर्णयमा पुग्न नसक्दा समस्या सम्बोधन नभएको प्रस्ट्याए । उनका अनुसार यी सबैका लागि चाहिने दिगो स्रोत व्यवस्थापन नभएकाले समस्या सम्बोधन गर्न नसकिएको हो । ‘भएको विद्यालयमा बालबालिका गइरहेका छैनन्, त्यसको विकल्प भनेको टोल नजिकै अर्को बालविकास केन्द्र स्थापना गर्नु हो’– भण्डारीले भने– ‘त्यसका लागि संरचना बनाउनुप¥यो, शिक्षक राख्नुप¥यो, शिक्षकलाई न्यूनतम् नै भए पनि नियमित तलब दिनुप¥यो ।’
एक विगाह तीन कठ्ठा क्षेत्रफलमा रहेको नमूना टोलमा सामुदायिक भवन बनाउने र बाल कक्षा बनाउन पुग्ने ठाउँ छ । टोलबासीको भनाइ छ– यहींको खाली ठाउँमा टीनको छानो हालेर टहरो बनाइदिए र एक जना शिक्षकको व्यवस्था गरिदिए पनि हाम्रा केटाकेटीले पढ्न पाउने थिए ।