
भदौ महिना शुरु हुनासाथ गाउँदेखि शहरसम्म तीज उत्सव मनाउन थालिएको छ । महिला दिदी–बहिनीहरुले दिनहँुजसो सामाजिक सञ्जाल (फेसबुकमा) तीजका फोटाहरु शेयर गरिरहेका छन् । राजनीतिक दलहरुका वडादेखि जिल्ला तहसम्मका महिला भातृ संगठन, निजी विद्यालय, सामुदायिक विद्यालयहरुले तीज मिलन कार्यक्रमको आयोजना गरिरहेका छन् । सामान्यतय तीज मिलन कार्यक्रममा रातो पहिरनमा, चुरापोते लगाएर तीज गीतमा नाचगान गर्ने र मिठो–मसिनो खाने गरिएको छ ।
नेपाली हिन्दू महिलाहरुले मनाउँदै आएको तीजका सन्दर्भमा दुईखाले मत रहेका छन् । पहिलो– तीज जस्तो पर्वले महिलालाई स्वतन्त्रता, नाचगान, रमाइलो गर्दै आफ्ना मनका पीरव्यथा पोख्ने अवसर दिएको छ । साथै यसले नेपाली संस्कृतिको रक्षा गरेको उनीहरुको दाबी छ । दोस्रो– तीज जस्तो पर्वले महिला माथि हुँदै आएको विभेदलाई आधुनिक ढंगले नवीकरण गर्न मद्दत गर्दछ । कर्मभन्दा भाग्यवादलाई मलजल गर्दछ भन्ने रहेको छ । यस लेखमा यी दुईखाले मतका सन्दर्भमा रहेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।
तीजको धार्मिक सन्दर्भ
धार्मिक कथन अनुसार हिमालय पुत्री पार्वती महादेव पति पाउन, पानी समेत नपिइ कठोर व्रत बसिन् । उनको कठोर व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । यो भाद्र शुक्ल तृतियाका दिन थियो । (हरितालिका व्रत कथा)
पार्वतीले महादेव पतिका पाउन एक सय सय जन्मसम्म घोर तपस्या गरे पनि एक सय आठौं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना पतिको दीर्घायु एवम् अविवाहित महिलाले सुयोग्य वर पाऊ भनी तीजको व्रत बस्ने नेपाली चलन रहेको छ ।
चार दिनसम्म मनाइने तीज पर्वमा पहिलो दिन साथी सङ्गी, परिवारसँग मिठो परिकार खाने, दोस्रो दिन पानी समेत नपिई व्रत बसेर शिवको मन्दिरमा जाने, तीजको पर्सीपल्ट नजिकैको धारा, नदी वा कुवामा गएर विधिपूर्वक नुहाउने र शुद्ध भई सप्तऋषिको पूजा गर्ने र हरितालिका कथा श्रवण गर्ने गरिन्छ । हरितालिका व्रत कथा अनुसार महिलाले व्रत बसे, सुयोग्य वर पाउने र ऋषिपञ्चमीका दिन नुहाएमा रजस्वला हुँदा गरेका पापबाट मुक्ति पाउने मिथक छ ।
गरुढ पुराणको छैटौं अध्यायमा रजस्वला हुनुलाई पाप भनिएको छ । त्यहाँ भनिएको छ– जुन ऋतुको मध्यमा इन्द्रले ब्राह्मणपुत्र वृतासुरलाई मारेको हुनाले ब्रह्महत्याको पापमोचन होस् पुरुषलाई त्यसको दोष नलागोस् भनी त्यो पाप नारीबाट रजस्वला हुँदै रगतको रुपमा बगेर पखालियोस् भनी देवताले बनाएको रीति हो । महिलाहरु तीन दिन अशुद्ध हुन्छन्, पहिलो दिन चाण्डाली, दोस्रो दिन ब्रहाघातिनी र तेस्रो दिन रजकी धोवनी तुल्य हुन्छे भनिएको छ ।
हरितालिका व्रत कथामा भनिएको छ– जुन महिलाले आफ्ना पतिसँग बसेर हरितालिका व्रत कथा सुन्छे त्यसको समस्त पाप नष्ट हुन्छ । व्रत नबसे सात जन्म सन्तानरहित बाँझी रहनेछ । पानी पिए जुकाको जन्म पाउँछे भनिएको छ । यसरी भय सिर्जना गरी धर्मसंस्कारका नाममा अन्धविश्वासलाई प्रत्येक वर्ष मलजल गरिँदैछ ।

नेपालको संवैधानिक तथा कानूनी प्रावधान :
नेपालको संविधान २०७२ मा संविधानमा महिलाका हकलाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ । संविधानको धारा ३८ को उपधारा (३)मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनिएको छ ।
महिलालाई महिनावारी हुँदा छोइ छिटो गर्ने चलन छ । साथै हिन्दू देवीदेवाताको पूजाआजा गर्नु नहुने मान्यता छ । यसरी महिलाले भुलबस छोएमा पाप लाग्ने र त्यसको मोच गर्न ऋषिपञ्चमीका दिन नुहाउनुपर्ने धार्मिक विधि छ । यसो गरे महिनावारी हुँदा गरेका पापबाट मुक्ति पाउने मिथक छ । यसले महिलाहरुमा हुने नियमित हुने महिनावारीलाई पापको संज्ञा दिएको छ । तर, नेपाल सरकारले ल्याएको ‘छाउपढी प्रथाजन्य कुरीति उन्मूलन नीति–२०७६’ले यस किसिमका हुने विभेदलाई धर्मका आडमा हुने सामाजिक कुरीति ठहर गरेको छ ।
उक्त नीतिको प्रस्तावनामा भनिएको छ– ‘नेपालीहरुको जीवनशैलीलाई धर्म र संस्कृतिले अत्याधिक प्रभाव पार्नुका साथै कतिपय प्रथा परम्परामा समेत धर्मको प्रत्यक्ष प्रभाव परेको देख्न सकिन्छ । सामान्यतयाः महिनावारी तथा सुत्केरी हुँदा नेपालको अधिकांश भू–भागमा महिलालाई अशुद्ध मानी नछुने वा बार्ने प्रचलन रहेको छ । छाउपढी प्रथाजन्य कुरीतिका नाममा सुदूरपश्चिम प्रदेशका केही क्षेत्रहरुमा महिनावारी, सुत्केरी भएका महिलाहरुलाई अशुद्ध मानी घरभन्दा टाढा सानो छाउगोठमा राखिने परम्परा रहेको छ । यो प्रथा धर्मका आडमा हुने सामाजिक कुरीति हो ।’ यस्ता कुरीति हटाउन सरकारले कार्यक्रम पनि ल्याएको छ ।
संविधानको मर्म अनुसार धर्म, परम्परा, प्रचलनका नाममा महिला माथि हुने विभेद अन्त्य गर्न अनिवार्य भइसकेको छ । मानव आफैमा सर्वश्रेष्ठ प्राणी हो । मानवले आफैले संस्कार, संस्कृति निमार्ण गर्ने ज्ञान, कला क्षमता छ । मानवले जे जति सिक्नुपर्ने हो, त्यो समाजबाट नै सिक्छ । यस विषयमा प्राचीन मानवमा भन्दा वर्तमान मानवमा कयौं गुणा सचेतना छ । समाजशास्त्रीहरुका अनुसार मानव समाज र संस्कृति दुबै मानव कै उपज हुन । जैविक प्राणीलाई मानवीय प्राणीमा रुपान्तरण गर्ने काम संस्कृतिले गर्दछ । तर, संस्कृतिलाई जन्म दिने काम मानवले नै गर्ने हो । यदि मानवले संस्कार र संस्कृतिलाई समयसापेक्ष परिवर्तन नगर्ने हो भने ऊ केवल जैविक प्राणीको रुपमा मात्र रहन्छ ।
यसो भने गर्ने के त ?
कुनै पनि मानव समुदायलाई उत्पीडनमा पार्ने संस्कार त्याग्न तयार हुनु पहिलो सर्त हो । नेपाली महिलाले आफूलाई लामो समयदेखि उत्पीडन गर्ने संस्कार मनाउनको सट्टा नेपाली महिलाले गरेका आन्दोलन, विश्वका महिलाले गरेका आन्दोलन, विश्व श्रमिक महिला दिवस, सतीप्रथा अन्त्य भएको दिन, योगमायाले समाज सुधारका लागि गरेको प्रयास, रानीतिक आन्दोलनबाट महिला अधिकार प्राप्त भएको दिन जस्ता प्रसंगलाई भव्यरुपमा मनाउन सकिन्छ । ती दिन पार्वतीले शिव पति पाउन गरेको व्रतभन्दा कयौं गुणा महत्वका छन् । महिलालाई सम्मान गर्ने, अरु वैज्ञानिक प्रसंगको खोजी गर्न सकिन्छ । यो तपाइँ हामी न्यायप्रेमी मानवको कर्तव्य होइन र ?


























