
विभिन्न कार्यक्रमसहित भदौ १५ गते पुस्तकालय दिवस मनाउने गरिन्छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवम् आवश्यकताका बारेमा जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ सालको भदौ १५ गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो । विधिवत्रूपमा यो दिवस मनाउन शुरु भएको १४ वर्ष पूरा भएको छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पससँगै विभिन्न सामुदायिक पुस्तकालयले समेत भदौ १५ लाई उत्सवका रूपमा मनाउन थालेका छन् ।
नेपालमा १४ वर्ष अघिबाट पुस्तकालय दिवस मनाउन शुरु गरिए पनि पुस्तकालयको शुरुवात भने करिब १४५ वर्ष पहिलेबाट भएको मानिन्छ । तत्कालीन राजा गीर्वाणयुद्ध बिक्रम शाहको शासनकालमा पुस्तकालयको शुरुवात भएको इतिहास छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका समयमा आफूले पराजित गरेका राज्यहरूका महत्वपूर्ण दस्तावेजहरूलाई संकलन गरेर राख्ने गर्दथे । पछि, उनका नाति गीर्वाणयुद्धले तिनै ऐतिहासिक दस्तावेजहरूलाई पुस्तकालयका रूपमा संग्रहित गरेर संरक्षण गरे ।
व्यक्ति सुसूचित र जिम्मेवार नागरिक बनाइराख्न पुस्तकको ज्ञानको महत्व ठूलो हुन्छ । त्यसैले प्राचीनकालदेखि पुस्तकको महत्व ठूलो हुन्छ । त्यसैले प्राचीनकालदेखि नै पुस्तकको महत्वबोध भएर नै ज्ञानका कुरा र विभिन्न सूचना सामग्री लेखेर–छापेर पुस्तकका रूपमा संग्रहित गरी राख्न थालिएको हो । त्यस्तै खालका संग्रहहरू नै पछि गएर पुस्तकालयका रूपमा उदय भएको कुरा इतिहासकारहरूले बताउने गरेका छन् । यसले पुस्तकालयमा रहेका पुस्तक र पुस्तकमा रहेको ज्ञानको महत्व र महिमा हाम्रा पुर्खाहरूले उहिल्यैदेखि नै बुझिआएका थिए भन्ने कुरा प्रष्ट हुन्छ ।
नेपालको संविधान–२०७२ को भाग– ४ को धारा– ५१ को उपधारा (ज ४)मा नागरिकहरूको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्रका रूपमा पुस्तकालयको स्थापना एवम् प्रवद्र्धन गर्ने कुरा उल्लेख गरेको छ । त्यस अनुरूप पुस्तकालयको विकासका लागि सरकारले २०६४ सालमै पुस्तकालय तथा सूचना सेवा नीति पारित गरेको थियो । त्यही नीतिका आधारमा सरकारी र गैरसरकारी संस्थाको संयुक्त पहलमा सबै शिक्षण संस्था, विद्यालय, गाउँपालिका र नगरपालिकामा सार्वजनिक पुस्तकालय स्थापना र सञ्चालन गर्ने अवधारणा राखेको थियो ।
तर, सो अवधारणा अनुसारको काम भने अद्यापि हुन सकेको छैन । समग्रतः नेपालमा पुस्तकालयको क्षेत्रमा जति विकास हुनुपर्ने हो, त्यति हुन सकेको छैन । शैक्षिक संस्था बाहेकका पुस्तकालय जीर्ण हुँदै गएका छन् । समयसापेक्ष माग अनुसारका पुस्तक नहुँदा पुस्तकालयमा पाठकको संख्या निकै न्यून हुँदै गएको छ । मूलतः अहिले सूचना र प्रविधिको क्षेत्रमा भएका÷भइरहेका चामत्कारिक विकासका कारण परम्परागत पुस्तकालयहरू संकटमा पर्दै गएका छन् । हाल नेपालमा निम्नानुसारका पुस्तकालय छन् –
१. शैक्षिक पुस्तकालयः विद्यालय वा शैक्षिक प्रतिष्ठानमा हुने पुस्तकालयलाई शैक्षिक पुस्तकालय भनिन्छ । यस्ता पुस्तकालयमा विशेष गरेर विद्यालयका पाठ्य सामग्री राखिएका हुन्छन् । शैक्षिक पुस्तकालय पनि तीन प्रकारका हुन्छन् (१) विद्यालय पुस्तकालय, २) महाविद्यालय पुस्तकालय र ३) विश्वविद्यालय पुस्तकालय । यी पुस्तकालयले आ–आफ्नो क्षेत्रका सम्बन्धित पुस्तकहरू राखेका हुन्छन् ।
नेपालमा शैक्षिक पुस्तकालयको इतिहास केलाउँदा नेपालकै ठूलो पुस्तकालयको रूपमा परिचित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको बारेमा चर्चा गर्नु आवश्यक हुन्छ । एक हजार दुई सय पुस्तकबाट १९५९ मा स्थापना भएको यो पुस्तकालयमा हाल चार लाखभन्दा बढी पुस्तक छन् । जसले विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारी र शिक्षामा रुची राख्ने सबैलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ समयकोे माग अनुसार त्रिविले केन्द्रीय पुस्तकालयलाई डिजिटलाइजेशन समेत गरेको छ । सूचना र प्रविधिमा भएको विकाससँगै त्रिविले केन्द्रीय पुस्तकालय सञ्चालन लगायत आंगिक क्याम्पसमा समेत ई–पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

२) सामुदायिक पुस्तकालय ः नागरिकस्तरबाट वा सामुदायिक संघ–संस्थाद्वारा स्थापना गरिएको पुस्तकालयलाई सामुदायिक पुस्तकालय भनिन्छ । यस्ता पुस्तकालय सञ्चालन गर्न सम्बन्धित निकायले नै स्रोत जुटाएको हुन्छ । सामुदायिक पुस्तकालयमा जोसुकैले सदस्यता लिएर वा नलिई पनि सूची अनुसारका पुस्तक वा पत्रपत्रिका पढ्न सक्छन् । नेपालमा एक हजारको हाराहारीमा सामुदायिक पुस्तकालय रहेको विभिन्न तथ्यांकहरूले देखाएको छ । स्रोत र साधनको अभावमा सामुदायिक पुस्तकालयको अवस्था जीर्ण बन्दै गएको छ ।
नेपालमा विश्वेश्वरप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला मात्र सामुदायिक पुस्तकालयका लागि बजेट छुट्याएको चर्चा हुने गरेको छ । नेपालका सामुदायिक पुस्तकालयहरू केही पुस्तकप्रेमी र अध्ययनमा रुची राख्ने व्यक्तिको पहलमा खुलेका छन् । केही पुस्तकालयहरू दान, चन्दा वा देउसी–भैलोबाट रकम सञ्चालन गरी सञ्चालनमा आएका छन् ।केही सामुदायिक पुस्तकालयहरू कुनै व्यक्ति विशेषको स्मृतिमा उनका आफन्तद्वारा पनि सञ्चालनमा आएका छन् । सामुदायिक पुस्तकालयहरूको साझा समस्या भनेको स्थापनाकालमा पुस्तकालय खोल्ने बेलामा जति उत्साह, समर्पण र लगनशीलता थियो, कालान्तरमा त्यो ह्रास भएर गएपछि धेरै पुस्तकालय नाममा मात्र सीमित भएका छन् ।
ई–पुस्तकालय ः यस्ता किसिमका पुस्तकालयमा पुस्तक, पत्रपत्रिका लगायत कुनै पनि किसिमका परम्परागत कागजी सामग्री हुँदैनन् । त्यहाँ इन्टरनेट जडित थुप्रै कम्प्युटरहरू र तिनका माध्यमबाट प्राप्त हुने डिजिटल अध्ययन सामग्री मात्र हुन्छन् । पुस्तकालयका सदस्यहरू आएर तिनै कम्प्युटरबाट पुस्तकालयको ई–रिर्सोसेस डाटाबेसमा भण्डारण गरी राखिएका ई–बूक्स, ई–जर्नल, ई–म्यागेजिन, ई–न्यूजपेपर आदि अध्ययन गर्न सक्छन् ।
पहिलो बूकलेस पब्लिक लाइब्रेरीको स्थापना सन् २०१३ मा अमेरिकामा भएको थियो, जसमा विद्यार्थी, ज्येष्ठ नागरिक र बालबालिकाहरूका लागि समेत पाठ्य सामग्री राखिएका थिए । विशेषगरी त्यस्ता पुस्तकालय शैक्षिक संस्थाहरूमा स्थापना गर्ने गरिएको पाइन्छ । त्रिभुवन विश्वविद्यालयले पनि पछिल्लो पटक आंगिक क्याम्पसहरूमा ई–पुस्तकालयको स्थापनामा बढी जोड दिएको पाइन्छ । त्रिविका विभिन्न क्याम्पसमा यस्ता पुस्तकालय सञ्चालनमा आइरहेका छन् । यस्ता पुस्तकालयमा असंख्य पुस्तकहरू राख्ने ठूलो ठाउँको आवश्यकता पर्दैन । पुस्तकालय व्यवस्थापन र सञ्चालन गर्न धेरै कर्मचारीको आवश्यकता समेत पर्दैन ।
पुस्तकालयको महत्व ः
पुस्तकालयलाई विद्याको रूपरको रूपमा लिइन्छ । जसलाई जति व्यवस्थित रूपमा प्रयोग गर्न सकियो, त्यति नै विद्या आर्जन गर्न मद्दत पुग्छ । पुस्तकालयको महत्वलाई मुख्यरूपमा तलका बुँदाहरूमा चर्चा गर्न सकिन्छ ः
१) ज्ञान भण्डार तथा प्रयोगशाला ः पुस्तकालयलाई हामी शैक्षिक अध्ययनको प्रयोगशालाका रूपमा लिन सक्छौं । जहाँ उपलब्ध हुने पुस्तक, पत्रपत्रिका, श्रव्यदृश्य आदि सूचनाको भण्डार मार्फत आफ्नो ज्ञान र सीपको क्षेत्रलाई बढाउन तथा खोज अनुसन्धान गर्न सकिन्छ । साथै, आफ्नो ज्ञान, धारणा, दृष्टिकोणको परीक्षण र त्यसलाई परिमार्जन गर्ने उपयुक्त थलोको रूपमा पनि यसलाई प्रयोग गर्न सकिने भएकाले ज्ञान आर्जनको प्रयोगशालाका रूपमा पुस्तकालयको महत्व रहेको छ ।
पुस्तकालयमा विभिन्न विधाका पुस्तक, सूचना आदिको संकलन र व्यवस्थापन हुने भएकाले यो ज्ञानको भण्डार हो । जहाँबाट आफ्नो रुचि र आवश्यकता अनुसार जति पनि ज्ञान र सीप आर्जन गर्न सकिने भएकाले यसको औधि महत्व छ । शोधकर्ता एवम् अन्वेषकहरूका लागि पुस्तकालय उपयुक्त र भरपर्दो विकल्प हो । जहाँ उपलब्ध हुने पुस्तक भण्डार, इन्टरनेट तथा भर्चुअल पुस्तकालयको माध्यमबाट इच्छुक व्यक्तिहरूले आफ्नो शोध र खोजलाई पूर्णता दिन सक्दछन् । त्यसकारण पुस्तकालयलाई ज्ञानको भण्डार तथा प्रयोगशाला मानिएको हो ।
२) कम व्यय भार ः सबै विद्यार्थी तथा प्रयोगकर्तासँग पुस्तक तथा पत्रपत्रिकामा लगानी गर्ने आर्थिक स्रोत सीमित हुन्छ । जस्तैः सबै पत्रपत्रिकाको ग्राहक बन्न गाह्रो हुन्छ, तर पुस्तकालयमा जाने हो भने ती सबै पत्रपत्रिकाहरू निःशुल्क पढ्न पाइन्छ । त्यस्तै, सबै पुस्तकहरू खरिद गरी अध्ययन गर्न पनि गाह्रो हुन्छ, जसको व्ययभार पनि बढी हुन्छ । यस्तो अवस्थामा पुस्तकालयको प्रयोग गर्ने हो भने न्यून खर्चमा आफ्नो रुची र आवश्यकता अनुसारका पुस्तक, पत्रपत्रिका, लेख, रचना आदि हेर्न र अध्ययन गर्न सकिन्छ । साथै, शोध तथा खोजकर्ताहरूलाई आवश्यक पर्ने सन्दर्भ–सामग्रीहरू आफै किन्न ठूलो धनराशि चाहिन्छ । तर, पुस्तकालयले उनीहरूको व्ययभार कम गर्न मद्दत गर्दछ । त्यसकारण पुस्तकालयको महत्व रहेको छ ।
३) व्यवस्थापन र वातावरण ः पुस्तकालयहरूमा ऐतिहासिक र समय सान्दर्भिक पुस्तक, पत्रपत्रिकाहरूलाई वैज्ञानिक पद्धति अनुसार उचित व्यवस्थापन गरिएको हुन्छ । जसले गर्दा प्रयोग गर्न सरल र सहज हुन्छ । त्यसका साथै पुस्तकालयभित्रको वातावरण पनि सफा र शान्त हुने भएकाले एकाग्र भएर अध्ययन र खोज गर्न सकिन्छ । यसकारण पनि पुस्तकालयको महत्व अधिक छ । पुस्तकालयमा उपलब्ध हुने पुस्तक, इन्टरनेट सुविधा, शान्त वातावरण आदिले मनोरञ्जन लिने र विश्राम गर्ने अवसर प्रदान गर्दछ ।
४) सामाजिक र सांस्कृतिक वातावरण ः पुस्तकालयको प्रयोगकर्ता विभिन्न उमेर समूह, समुदाय, धर्म आदिबाट आएका हुन्छन् । साथै, पुस्तकालय सार्वजनिक हुने भएकाले एकै समयमा धेरैले सहभागिता जनाउन सक्ने हुनाले एकआपसमा अन्तरसम्बन्ध विकास गर्न र सामाजिक वातावरण तयार गर्न मद्दत पुग्दछ । त्यसैगरी, विभिन्न जाति, समुदाय र धर्मका मानिसहरूबीच अन्तर सम्बन्ध विकास भई सांस्कृतिक आदानप्रदान पनि हुन्छ । जसले गर्दा पुस्तकालय सामाजिक तथा सांस्कृतिक वातावरण निर्माण समेत गर्ने एउटा थलो बनेको हुन्छ । यसबाट पुस्तकमा लेखिएका वा नलेखिएका विभिन्न विषयहरूमा अनुभव र अनुभूतिका आधारमा ज्ञान आर्जन गर्न सकिने भएकाले पनि पुस्तकालयको महत्वलाई दर्शाउँछ ।
५) समयको सदुपयोग ः बालबालिका, किशोर–किशोरी, युवा, वयस्क, वृद्धवृद्धा आदिले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमका रूपमा पुस्तकालयलाई प्रयोग गर्न सक्दछन् । जसले नयाँ–नयाँ उपयोगी कुरा सिक्न र आफूले सिकेका कुरा अरूलाई सिकाउने र बाँड्ने वातावरण निर्माण गर्दछ । विद्यार्थी, शिक्षक, शोध तथा खोजकर्तालाई एकै स्थानमा विभिन्न विषय र विधाका पुस्तक तथा सन्दर्भ–सामग्रीहरू पुस्तकालयले उपलब्ध गराउने भएकोले उनीहरूको समयमा पनि बचत हुन्छ । तसर्थ, पुस्तकालयलाई समय सदुपयोग गर्ने उचित स्थानको रूपमा लिन सकिन्छ ।
६) कम्प्युटर तथा विद्युुतीय सामग्रीको उपलब्धता ः पुस्तकालयमा उपलब्ध हुने कम्प्युटर तथा अन्य विद्युुतीय सामग्रीहरूका कारण कम समयमा नै बढीभन्दा बढी सेवा सरल तरिकाले प्राप्त गर्न सक्ने भएकाले पुस्तकालयको महत्व अझ बढेको पाइन्छ । एकै स्थानबाट विश्वलाई नियाल्न र विश्वव्यापी बहस र सन्दर्भको बारेमा जान सकिने भएकोले पनि पुस्तकालय बहुउपयोगी बन्दै गइरहेको छ । यी र यस्तै विभिन्न जीवनोपयोगी विशेषता र प्राज्ञिक लाभका कारण पुस्तकालयको महत्व अत्यधिक रहेको छ ।
पुस्तकालयको उपयोग ः
पुस्तकालय एक बहुउपयोगी ज्ञान केन्द्र वा भण्डार भए पनि यसलाई मुख्य रूपमा निम्नानुसार उपयोग गर्न सकिन्छ ः
– पुस्तकालयमा उपलब्ध हुने पुस्तक, कम्प्युटर तथा अन्य विद्युुतीय स्रोत मार्फत आधुनिक सूचना प्रविधिको क्षेत्रमा आफ्नो ज्ञानको पहुँच बढाउन सकिन्छ ।
– पुस्तकालयमा उपलब्ध हुने विभिन्न पुस्तक, पत्रपत्रिकाहरू, श्रव्य–दृश्य आदि स्रोत सामग्रीहरूको अध्ययन अवलोकन गरी आफ्नो रुची अनुसार ज्ञान र सीपको परिधिलाई बढाउन सकिन्छ ।
– पुस्तकालयमा उपलब्ध स्रोत सामग्रीहरूको प्रयोग गरेर विद्यार्थीहरूले विद्यालय र कलेज बाहेकको फुर्सदको समयलाई सदुपयोग गर्न सक्छन् ।
– पुस्तकालयमा उपलब्ध साधन र स्रोतको माध्यमबाट आफ्नो कला, सीप र क्षमता अभिवृद्धि गर्न सकिन्छ ।
– पुस्तकालयलाई अध्ययनशील साथीहरू भेट्ने र अध्ययन गर्ने समुचित स्थलको रूपमा प्रयोग पनि गर्न सकिन्छ ।
– विभिन्न समयमा पुस्तकालयका प्रयोगकर्ताहरूबीच आफूले अध्ययन गरेका पुस्तक, लेख, रचना आदि बारेमा छलफल गर्ने थलोको रूपमा पनि पुस्तकालयलाई प्रयोग गर्न सकिन्छ ।
– ऐतिहासिक पुस्तक, लेख, रचना आदिको अभिलेख र संरक्षणका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ ।
– परीक्षा तयारीका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ ।
यसरी पुस्तकालयलाई खोज, अध्ययन र स्रोतको रूपमा बहुउपयोग गर्न सकिन्छ । यसको उपयोगिताको व्याख्या गरेर कहिल्यै सकिन्न । तसर्थ, सद्विचार र ज्ञान आर्जन गर्न आफ्नो समुदाय, विद्यालय र कलेजमा रहेका पुस्तकालयको सदुपयोग गर्न आवश्यक छ ।
पुस्तकालयको गौरवपूर्ण इतिहाससँगै हाल आएर समयले परिवर्तन पनि ल्याएको छ । सूचना प्रविधिको क्षेत्रमा दैनन्दिन भइरहेका कल्पनातीत विकासले पुस्तक र पुस्तकालयको अस्तित्व हराउँदै जाने चर्चा चल्न थालिसकेको आजको समय–सन्दर्भमा पनि विभिन्न स्थानहरूमा (शैक्षिक तथा सामुदायिक स्तरमा) पुस्तकालय स्थापना र सञ्चालन भई नै रहेका छन् । पुस्तकालयलाई पूर्ण भौतिक रूपमा मात्र सञ्चालन नगरेर समयसापेक्ष रूपमा सूचना प्रविधिलाई पनि प्रयोग गरी भौतिक र भर्चुअल रूपमा प्रयोगयोग्य बनाउनाले नै पुस्तकालयको प्रयोग घछेको छैन, विस्तार भइरहेको छ । अतः भएका पुस्तकालयहरूलाई व्यवस्थित गर्नका लागि सम्बद्धपक्षको ध्यान जान जरुरी भएको छ । जसबाट पठन संस्कृतिको थप विकास हुँदै जाओस् ।
अब अन्त्यमा
‘पढौं, पढाऔं र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ १५औं ‘पुस्तकालय दिवस’को अवसरमा सबै सबैमा शुभकामना ।


























