शालिक चित्कार

१८ भाद्र २०७९, शनिबार मा प्रकाशित

म शालिक हुँ । मलाई विभिन्न स्थानमा सजाइएको हुन्छ । मलाई विभिन्न रुप दिएर बनाइएको हुन्छ । कतै म कुनै वस्तुको आकृति जस्तो देखिन्छु त कतै म मानवको प्रतिमाको रुपमा देखिन्छु । मलाई धेरैले आफ्नो योजना अनुसार सजाएका हुन्छन् । मेरो महत्व धेरै छ । म दुई प्रकारले बनाइएको हुन्छु । एउटा पूर्णकदको अनि अर्को अर्धकदको ।
म एउटा इतिहास हुँ भन्दा फरक नपर्ला । इतिहास हेर्ने हो भने अशल चरित्र एवम् खराब चरित्र दुबैको प्रसिद्धीको हिसावमा शालिक बनाइएको हुन्छ । शालिक भन्नासाथ ढुङ्गामा कुदिएको वा अहिले आएर सिमेन्टको ढलान गरी एउटा पूर्ण रुपमा कलाकारको हातको कला र परिश्रमबाट बनाइएको वस्तुगत आकार हो भन्दा फरक नपर्ला । मलाई प्राचीन कालदेखि नै बनाउँदै आइएको छ । मेरो विशेषता भनेको कुनै वस्तु वा व्यक्तिको प्रतिमा हो भन्दा फरक पर्दैन ।

इतिहास पल्टाएर हेर्ने हो भने पृथ्वीनारायण शाहको रुपमा जति शालिक मेरो देशमा थिएन । अहिले त सबै कता तोडिए कता फ्यालिए । विभिन्न कालखण्डमा विभिन्न राणा, राजा र देशका विशिष्ट व्यक्तिहरुको प्रतिमा बन्दै आइरहेको छ । त्यसरी नै प्रतिमाका रुपमा विभिन्न स्थानका महत्वको दृष्टिकोणले विभिन्न शालिक अनवरण भएका छन् । महाकवि देवकोटादेखि आदिकवि भानुभक्त आचार्यसम्मका शालिक निर्माण भएका छन् । राष्ट्रिय धरोहर एवम् विभूतिहरुका पनि प्रतिमा अनावरण गरिएको छ । कतै बाघ–भालु संरक्षणको लागि वन्यजन्तु हुने स्थानमा त्यही स्थानको महत्वको शालिक बनाइएको हुन्छ भने कतै सब्जी फलफुलको स्थानले प्रशिद्ध क्षेत्रमा सब्जी फलफुलको प्रतिमा बनाइएको हुन्छु ।
वीर शहीदहरुको सम्झानामा बनाइएको शालिक अहिले पनि शहीद गेटमा ठडिएको छु । राणाकालमा मलाई राणाहरुले आफ्नो बाउ–बाजेको सम्झनामा एवम् कृति फैलाएकोमा स्थापना गरे । प्रजातन्त्र आएपछि राजाहरुले मलाई आफ्ना पुर्खाहरुको चिनारीका रुपमा प्रतिमा ठडाएका थिए । २०४६ सालमा बहुदल आएपछि मलाई बिभिन्न दलका शीर्ष नेता एवम नेतृत्वको देहान्तपछि शालिकका रुपमा अनावरण गरेका थिए ।

राजतन्त्र मास्दै २०६३ सालमा भएको शान्ति–सम्झौता एवम् माओवादी द्वन्द्वको अन्त्यपछि स्थापित लोकतान्त्रिक गणतन्त्र नेपालमा भने म झन् विविधरुपमा देशभरी स्थापना हुन पुगे । माओवादी द्वन्द्वकालमा राजा एवम् ऐतिहासिक व्यक्तित्वहरुको शालिक तोडफोड नभएका होइनन् । एउटा शालिक तोडेर जिउँदो इतिहास मार्ने रणनीति अपनाएको त्यसबेलाको विद्रोही समूहले देशका विभिन्न स्थानमा रहेका राजाहरुको शालिक तोड्दै निरकुंश राजतन्त्रको अन्त्य गरेको जनाएको थियो ।

 


शालिक त बनिन्छन्÷तोडिन्छन् । तर, इतिहास कसैले कहाँ तोड्न–मोड्न सक्छ र ? इतिहास त लेखिएको हुन्छ म त केबल एउटा प्रतिमा हुँ त्यसको प्रतिमूर्ति दिन चाहने । त्यसैले मलाई तोडमोड गर्दैमा म कहाँ नाश हुन्छु र ? मलाई एक प्रकारको समूहको साथ रहन्छ । जसले तोडमोड भएपछि जोडजाड गरेर वा नयाँ बनाएर पनि स्थापना गर्छन् । अब लागौं गणतान्त्रिक नेपालको कुरा गर्न । मेरो जति महत्व पहिला थियो, अहिले त्यति छैन । म पहिला–पहिला मन फुरुङ्ग गर्दथे । कसैले मलाई कतै स्थापना गर्दा ठूलो जय–जयकार हुने गथ्र्यो । मेरो शालिक राखेको दिन ठूलो सभा आयोजना हुन्थ्यो । पत्रपत्रिकामा गुणगान कोरिएको हुन्थ्यो । हेडलाइनमा कसको र किन बनाइए भनी टिका–टिप्पणी हुने गथ्र्यो । मेरो विशेषता अभिन्न थियो । म महत्वका साथ हेरिन्थे ।

अहिले म चिन्तित छु । मेरो अस्थिर समय चलेको अनुभव गरेको छु । अहिले त पाइँला–पाइँलामा शालिक निर्माण हुन थालेको छ । कही कुनै विशेषता बिनाको शालिक निर्माण । कहिकतै आवश्यकता बिनाको । यस्तो लाग्छ कि स्थानीय तह आफ्नो बजेटको केही भाग सक्न र कमिशनमा काम गर्न धमाधम शालिक निर्माणमा पैसा खर्च गरिरहेको छ । केही महिनाअघि मात्र माओवादी अध्यक्ष प्रचण्डले आफ्नै छोराको शालिक अनावरण गरे । उनको छोराले यो देशमा के नै देन दिएका थिए र ? उनी विद्रोह गरिरहँदा राष्ट्र–निर्माता पृथ्वीनारायण शाहको शालिक भत्काउन अभ्यस्त थिए । अहिले उनी त्यसैमा लालायित बनी शालिक खडा गरेका छन् । त्यस्तै पाइँलापिच्छे ठडिएका चोक–चोकका शालिक देखेर म छक्क पर्छु । मेरो महत्व गिराउन भर्खरै बेलबारीमा कानको शालिक खडा गरेछन् त्यहाँका जनप्रतिनिधिले । अब कुनै दिन कानेगुजीको शालिक पनि निर्माण नहोला भन्न म सक्दिनँ ।

हुन त बनाउने ले बनाउन न कसैले सम्मानका रुपमा बनाउँछन्, कसैले शालिक अपमानका रुपमा । मेरो आफ्नै चिनारी छ । म इतिहासमा चिनाउनलाई बन्छु। कसैले सर्वमान्य रुपमा लिएको मलाई कसैको लागि म अमान्य हुन सक्छु । कसैको प्रिय बनिरहँदा कतिको आँखाको कसिङ्गर झैं अप्रिय हुन सक्छु । माओत्सेतुङको शालिक कम्युनिस्टलाई मन पर्न सक्छ । तर, कांग्रेसलाई मन पर्न असम्भव छ । कारण उनीहरुको विचार मिल्दैन । त्यसैगरी कांग्रेसको गणेशमान र वीपी कोइरालाको शालिकलाई कम्युनिस्टले मन पराउन सक्दैनन् । उनीहरु फरक रथका पाङ्ग्रा हुन् ।

सबैले हेर्ने दृष्टिकोणलाई म फरक–फरक रुपमा बुझ्नेगर्छु । त्यसैले त म शालिक हुँ मेरो आफ्नो छुट्टै पहिचान छ । तर, समय अनुरुप मेरो महत्व किन हो ह्रास आउँदै गएको पाउँछु । सायद समयले मेरो परिभाषा फेरिदिन खोज्दैछ । तर, म उहीँ पुरानो परिभाषामा रमाउन चाहन्छु । त्यही पूर्ण महत्वमा हेरियोस् भन्न चाहन्छु । इतिहासले सदैव सम्मान गरोस् भन्ने चाहन्छु । साथै देशमा शालिक निर्माण गर्नुपर्दा महत्व र देनको हिसाबमा गरियोस् । जहितही शालिक बनाएर जनताको ढुकुटी नसकियोस् । विकास निर्माणमा टेवा पुग्ने काम गर्न राम्रो मलाई जहितही स्थापना गर्नुभन्दा । कुरुप शालिकको शहरभन्दा शोभनीय र आकर्षित शालिक बनाएर सौन्दर्यको कलात्मक उदाहरण प्रस्तुत गरियोस् । मेरो भन्नु यति छ ।

मेरो नजरमा…

मैले उभिँदाउभिँदै धेरै समय काटी सके । धेरै काल बितिसक्यो । यो आँखाले विभिन्न कालखण्डका विभिन्न ऐतिहासिक गतिविधि नियालेका छन् । मैले राणा शासन देखेँ, मैले प्रजातन्त्र देखेँ । मैले राजतन्त्र देखेँ । त्यसरी नै मैले बहुदल देखेँ । मैले अन्त्यमा गएर गणतान्त्रिक नेपाल पनि देखेँ । म कतै शहीदको नाममा परिचित छु त कतै योद्धाका रुपमा कतै इतिहासको पानामा कैद छ मेरो अस्तित्व त कतै पुर्खाको चिनारीमा । निल आर्मस्ट्रोङ्गदेखि एडमण्ड हिलारीसम्म, गौतम बुद्धदेखि अरनिकोसम्म । भृकुटी, सीता, पासाङ ल्हामु शेर्पा आदि विश्व चर्चित व्यक्तित्वको रुपमा म विभिन्न स्थान, पार्क, हाईवे, म्युजियम वा चोकमा आसिन छु । जुद्ध शम्शेर हुन या राजा त्रिभुवन, जङ्गबहादुर हुन् वा वीपी कोइराला म एउटै रुपमा अडिग बनी उभिएको हुन्छु । यो संसार नियाली रहेको हुन्छु ।

तर, कहिलेकाही दुःख लाग्छ । मलाई पहिला पार्कमा सुन्दर रुपमा सजाउँछन् त कतै सडकमा । शुरु–शुरुमा आनन्द लाग्छ । मन हर्षित हुन्छ । धेरै मानिस मलाई हेर्न आउँछन् । फोटो खिचेर सम्झना स्वरुप याद कैद गरेर लान्छन् । सामाजिक सञ्जालमा फोटो हाल्छन् अनि मायाले दुई शब्द लेख्दै भावानात्मक सम्बन्ध कायम गर्छन् । म प्रफुल्ल हुन्छु अनि खुल्ला आकाशमुनि बिना छानो बस्दा पनि भाग्यमानी सम्झन्छु आफूलाई । तर, समय बित्दै जान्छ । रंगरोगन दलिएको मेरो शरीरमा सडकको धुलोले ढाक्दै जान्छ । मलाई सु–सज्जित गरिएर राखेको महिना दिन बितेपछि मलाई हेरविचार गर्ने कोही हुँदैन । म माथि चराहरुले थकाई मार्ने स्थान बनाएका हुन्छन् । मेरो शिरमा बिस्टाउँदै चराचुरुङ्गी यता उति रमेर खेल्छन् । मलाई फोहोरको र धुलोमा सिकसिको लाग्दै बस्नु वाहेक अर्को उपाय हुँदैन । बेला–बेला पर्ने आकाशे वर्षाले मेरो शरीरको फोहोर पखालिएर जान्छ । शरीरको च्याप–च्याप भने कहिलेकाहीँ उत्तिकै बसेको हुन्छ । तर, जे होस् मलाई मौसमहरुमा सबैभन्दा बढी बर्षा मन पर्छ ।

शरीरको फोहोर त बर्षाले लिएर जान्छ । तर, मेरो वरिपरिको फोहोर कसले लाने ? कही–कही समूह एवम् सरसफाईकर्मीले सफा गर्छन् । कही त कोही हुँदैनन् मेरो हेरविचार एवम् निगरानी गर्न । मेरो अगाडि आएर फोटो खिचेपछि कतिले त्यही पानीको बोतल छाडेर जान्छन् । अलि–अलि गर्दै मेरो वरिपरि हेर्न आएको जमातले फोहोर थुपार्दै जान्छन् । अनि त्यहाँ केही समयपछि फोहोरको थुप्रो देखिन थाल्छ । म दुर्गन्धित एवम् असोभनीय देखिन पुग्छु । पछि घुम्न आउनेले म फोहोरी उभिएको स्थानमा किन जाने ? भनी प्रश्न चिन्ह तेर्साउँछन् । मेरो शिर त्यसबेला नहल्लिए पनि म झुकेको अनुभव गर्छु । म निरुत्साहित बनी पारी क्षितिजसम्म सरसफाईको प्रतिक्षामा बस्छु । टोलाउँदै दिन पर्खिन्छु कतै मेरो सम्मानमा कुनै संघ–संस्थाले लिपपोत गर्न आइहाल्छन् कि भन्दै ।

तसर्थ, म भन्छु मलाई ठडाएर वा बजेट सकेरमात्र केही हँुदैन । मेरो पूर्णकालीन हेरविचार गरियोस्, मेरो महत्व प्रस्तुत गरियोस् । आकर्षक एवम् सफा वातावरण निर्माण गरियोस् । अंग–भंग म बनिरहँदा वा तोडफोड गरिरहँदा मेरो समय–समयमा पुनः निर्माण गरियोस् अस्तित्व नमासिने गरी । मेरो यति भन्नु छ । अन्त्यमा एउटा कबिता सुनाएर जान्छु। मैले जिवनमा जे भोगे अब त्यस्तो नहोस् भनेर । वडाध्यक्षदेखि नगर प्रमुखसम्म यस्तो वार्तालाप कहिले नरहोस् ः के बनाऊ मालिक ? नाकको शालिक । के बनाऊ मालिक ? खुट्टाको शालिक । के बनाऊ मालिक ? आँखाको शालिक । के बनाऊ मालिक ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here