झापा ।
नेपाल प्रहरीको हवल्दार पदबाट अबकास लिएपछि मेचीनगर–१३ तेलीबारीका दिनेशकुमार पण्डित अहिले गमला बनाउन व्यस्त छन् ।
दुई वर्ष अघि घरेलु तथा साना उद्योग कार्यालय झापामा जीयान्सी गमला उद्योग दर्ता गर्दै पण्डितले गमला बनाउने काम शुरु गरेका थिए । आठ लाख रुपैयाँ लगानी गर्दै पण्डितले सञ्चालनमा ल्याएको उद्योगमा अहिले चार जनाले रोजगारी पाएका छन् ।
अबकास लिएपछि उनी बैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाने सोचका साथ भारत पुगे । सेक्यूरिटी गार्डका लागि उनले पीएसवीडी कम्पनीमा अन्तरवार्ता पास गरेर छ महिनासम्म कुर्दा भिषा नआएपछि उनले बैदेशिक रोजगारको सपनालाई छोडेर आफैं उद्यमी बन्ने सपना देखे । छ महिना भारतमा रहँदा उनले भारतमा रहेका आफन्तहरुसँग काम गरेर कालीगढको सिप सिके । त्यसपछि नेपाल फर्किएका पण्डितले आफ्नै जग्गामा थोरै लगानीमा कालीगढ व्यवसायलाई निरन्तरता दिँदै गमला उद्योग शुरु गरे ।
कङ्क्रिट (बालुवा, गिटी र सिमेन्ट) बाट गमला बनाउन शुरु गरेका उनले बजारको मागलाई मध्यनजर गर्दै तुलसाको मोठ, सीमानाका पिलर, रिङ, घरमा प्रयोग हुने भेन्टिलेटर, डुँड, भगवानका मूर्ति, गजुर लगायतका सामग्री निर्माण गर्दै मनग्य आम्दानी गरिरहेका छन् ।
२०५८ सालबाट नेपाल प्रहरीको सिपाही पदमा बिराटनगरबाट जागिरे जीवन शुरु गरेका पण्डितले १६ वर्ष जागिरे जीवन बिताए । सशस्त्र द्वन्द्वको समयमा गोरखामा तत्कालीन सरकारी पक्ष र विद्रोही पक्षको भिडन्तमा घाइते बनेको स्मरण गर्दै पण्डितले भने– अझै पनि शरीरका कतिपय ठाउँमा गोलीका छर्रा लागेको खत ताजै छन् ।
तत्कालीन माओवादीले लहानमा बैक लुटपाट गर्दा समेत त्यस क्षेत्रमा विराटनगरबाट सुरक्षार्थ खटिएको पण्डित सम्झन्छन् । द्वन्द्वको समयमा ज्यान नै जोखिममा राखेर राष्ट्रको सेवामा खटिएका पण्डित अवकास पछि विदेशी सपना त्यागेर अहिले आफ्नै ठाउँमा उद्यमी बनेका छन् ।
विदेशको मोह त्यागेर गमला उद्योग शुरु गर्दा शुरुमा आफूलाई धेरैले गिज्याए पनि अहिले सबैको प्रिय पात्र बनेको पण्डित सम्झन्छन् । अझ व्यापार फस्टाउँदै गएसँगै रोजगारी सृजना गर्दै अरुलाई समेत काम दिन शुरु गरेपछि सबैका नजरमा राम्रो बनेको उनी सुनाउँछन् । शुरुमा मुस्किलले दैनिक एक हजार रुपैयाँसम्म आम्दानी गर्ने पण्डित अहिले दैनिक तीनदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।