झापामा डेंगुः छैन सतर्कता

१८ भाद्र २०७९, शनिबार मा प्रकाशित

पार्थ मण्डल,
झापा ।

पूर्वी तराईको झापा जिल्लामा पनि डेंगु सङ्क्रमणका बिरामी देखा पर्न थालेका छन् ।

जिल्लाका निजी अस्पतालहरूमा डेंगु सङ्क्रमणका बिरामी देखा पर्न थालेको हो । जिल्लामा डेंगु संक्रमित फेला परे पनि स्थानीय पालिकाका स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय झापासँग भने डेंगु बिरामीको यकिन तथ्यांक नै छैन ।

झापाका पत्रकार अम्बिका भण्डारीलाई डेंगु संक्रमण भएको छ । केही दिनअघि बिर्ता सिटी अस्पतालमा केही डेंगुका बिरामी उपचार गराउन पुगेको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए । ‘स्वास्थ्य कार्यालयले पालिकाहरूसँग समन्वय मात्र गर्ने हो’– उनले भने– ‘लार्भा नष्टदेखि डेंगु नियन्त्रण तथा रोकथाम सम्बन्धी सम्पूर्ण काम पालिकाको स्वास्थ्य शाखाहरूले गर्नुपर्ने हो ।’

जिल्लामा डेंगु संक्रमित भेटिन थाले पनि पालिका र स्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै ठोस् कदम चालेको छैन । पालिकाहरूलाई डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले पत्राचार गर्न लागेको स्वास्थ्य कार्यालय झापाका डेंगुका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।

पालिकाका स्वास्थ्य शाखाहरूले नियमित रुपमा रिपोर्टिङ नगर्दा जिल्लाको यकिन तथ्यांक कार्यालयसँग नभएको जानकारी दिँदै उनले भने– ‘हाल निजी अस्पतालहरूमा डेंगुका बिरामीहरू भेटिएको जानकारी आयो, पालिकाहरूसँगै त्यसको कुनै आधिकारिक जानकारी छैन, हामीले बिरामीको तथ्यांक माग गरिरहेका छौँ, जिल्लामा डेंगुका कति बिरामी छन् त्यो पनि भन्न सक्ने अवस्था छैन’– उनले भने ।

जिल्लाको शहरी क्षेत्र दमक, बिर्तामोड, मेचीनगर र भद्रपुर डेंगु संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत तथा सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । अहिलेसम्म सुन्नमा आएको बिरामीहरू त्यही क्षेत्रमा भेटिएको उनले बताए । देशभर डेंगुको महामारी फैलिरहेकोले स्वास्थ्य कार्यालय झापाले गत साउन ११ गते नै प्रदेश १को सामाजिक विकास मन्त्रालयलाई डेंगु परीक्षणका लागि ३०० किट माग गरेको थियो ।

तर, मन्त्रालयले ५० किट मात्र पठाएको उनले बताए । ‘२०७६ सालमा जिल्लामा डेंगु महामारीको रुपमा फैलिएको थियो । त्यस वर्ष एक हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । अहिले फेरि डेंगुका बिरामी भेटिन थालेका छन्’– उनले भने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here