सर्लाहीका दुई सयमध्ये १८ वडा स्वास्थ्य संस्थाविहीन

0
190

सर्लाही,

सर्लाहीका २० स्थानीय निकायका दुई सय वडामध्ये १८ वडामा अझै स्वास्थ्य संस्था नराखिएकामा सेवाग्राहीले गुनासो गरेका छन् । जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये १४ स्थानीय निकायका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भए पनि छवटा स्थानीय निकायका १८ वडामा भने अझैसम्म स्वास्थ्य संस्था पुग्न सकेका छैनन् ।

सरकारले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरी नागरिकलाई प्राथमिक उपचार गर्ने लक्ष्य लिइए पनि जिल्लाका दुई सय वडामध्ये १८ वडा अझै स्वास्थ्य संस्थाविहीन छन् । जिल्लामा सबैभन्दा धेरै बागमती नगरपालिकाका छवटा वडामा स्वास्थ्य संस्था छैनन् । उक्त नगरपालिकाको वडा नं २, ६, ७, ८, ९ र ११ मा स्वास्थ्य संस्था नरहेको त्यहाँको स्वास्थ्य शाखाले जनाएको छ ।

नगर स्वास्थ्य शाखाका अनुसार वडा नं १ मा ढुङ्ग्रेखोला स्वास्थ्यचौकी, वडा नं ५ मा राजघाट स्वास्थ्यचौकी, वडा नं १० मा शङ्करपुर स्वास्थ्यचौकी, वडा नं १२ मा कर्मैया स्वास्थ्यचौकी तथा वडा नं ३ र ४ मा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र छन् । स्वास्थ्य संस्था नरहेका वडामा तत्कालका लागि कुनै निर्णय नभएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै लालबन्दी नगरपालिकाको वडा नं ७ र ८, ईश्वरपुर नगरपालिकाको ७, ११ र १३, कविलासी नगरपालिकाको १ र १०, मलङ्गवा नगरपालिकाको ३ र ८, बरहथवा नगरपालिकाको ८, रामनगर गाउँपालिकाको ३ र ७ वडामा स्वास्थ्य संस्थाविहीन छन् । ती वडामा नजिकैको वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको पालिकाले जनाएका छन् ।

जिल्ला सदरमुकाम मलङ्गवा नगरपालिकाको नगरमा स्वास्थ्य संस्था नरहेको दुईवटा वडामध्ये वडा नं ८ मा प्रादेशिक अस्पताल नै रहेकाले त्यहाँ स्वास्थ्य संस्था स्थापना नगरिएको नगर स्वास्थ्य शाखाका संयोजक रामनन्दन राय यादवले बताउनुभयो । वडा नं ३ मा पनि नजिकैको अर्को वडामा रहेको स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका उहाँले जानकारी दिनुभयो ।

लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले स्वास्थ्य संस्थाविहीन वडा नं ७ र ८ का बासिन्दालाई वडा नं ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमे नजिकै पर्ने भएकाले त्यहीँबाट स्वास्थ्य सेवा लिइरहेका जानकारी दिनुभयो । जनसङ्ख्या धेरै रहेको र भूगोल ठूलो रहेको भन्दै ईश्वरपुर नगरपालिकाले वडा नं १२ कालिञ्जोरमा स्वास्थ्यचौकी भए पनि सो वडाको उत्तरी दुर्गम चुरे भेगका बासिन्दालाई ध्यानमा राखी पीपलदमारमा सामुदायिक स्वास्थ्य एकाइ, हरिपुर नगरपालिकाले वडा नं ५, असन्मा गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ र गोडैता नगरपालिकाले वडा नं २ बेल्वाजब्दीमा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छन् ।

सरकारले सबै वडामा स्वास्थ्य संस्था पु¥याउने लक्ष्य लिएपछि दुई वर्षअघि जिल्लाका अधिकांश स्थानीय निकायले स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेका हुन् । जिल्लामा २० वटा स्थानीय नियकाका दुई सय वडामध्ये एक सय ८५ वडामा भने स्वास्थ्य संस्था पुगेका छन् ।

सर्लाहीमा १८ वडा स्वास्थ्य संस्थाविहीन भए पनि सदरमुकाम मलङ्गवामा एउटा प्रादेशिक अस्पताल, लालबन्दी, हरिपुर, जमुनिया, अचलगढ र बरहथवामा गरी पाँच स्थानमा प्राथमिक स्वास्थ्य केन्द्र र ९५ वटा स्वास्थ्यचौकी तथा बाँकी आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ छन् । प्रायः सबैजसो वडामा स्वास्थ्य संस्था पु¥याउन लागिपरे पनि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा र आफैँले नियुक्त गरेर पारिश्रमक दिन सक्ने अवस्था नरहेकाले समस्या भइरहेको जिल्लाका स्थानीय निकायले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here