स्वास्थ्यचौकीमा प्रयोगशाला आधुनिक नहुँदा बिरामीलाई सास्ती

0
424

कञ्चनपुर,

शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला आधुनिक नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । आधुनिक उपकरण नहँुदा प्रयोगशालाका प्राविधिकले हातैले र माइक्रोस्कोपको सहायताले सामान्य प्रकारको परीक्षण मात्रै गर्दै आएका छन् । मलेरिया, क्षयरोग, युरिक एसिड, सुगर र रगतको सामान्य परीक्षणको कार्य प्रयोगशालाबाट हुने गरेको छ ।

रगतको मात्रा, हेमोग्लोविनको अवस्था, डब्लुबिसी, आरबिसीलगायत परीक्षणका लागि बिरामीलाई बाह्य क्षेत्रमा स्वास्थ्यकर्मीले पठाउँदै आएका छन् । हातैले परीक्षण गर्दा थोरै बिरामीले सेवा पाउने अवस्था रहेको प्रयोगशालाका प्राविधिक बताउँछन् । “परीक्षणको दायरा बढाउनका लागि आधुनिक मेसिनको आवश्यकता हुन्छ”, पिपलाडी स्वास्थ्यचौकीका ल्याब असिस्टेन्ट वसन्त धामीले भन्नुभयो, “नगरपालिकासँग ल्याबका लागि स्वचालित मेसिन माग गरेका छौँ, माग गरेअनुसारका मेसिन उपलब्ध हुन सकेका छैनन् ।” नगरपालिका क्षेत्रमा चार वटा स्वास्थ्य संस्थामा प्रयोगशाला रहेका छन् ।

पीपलाडी स्वास्थ्यचौकी, झलारी स्वास्थ्यचौकी, पीताम्बर स्वास्थ्यचौकी र बन्साहा सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला रहेका छन् । पीपलाडी स्वास्थ्यचौकीमा झण्डै एक दशकअघिदेखि प्रयोगशाला सञ्चालनमा रहेको छ । अन्य तीन वटा स्वास्थ्यचौकीमा गएको पाँच वर्षमा प्रयोगशाला थपिएका हुन् । “प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रसँग प्रयोगशालाका लागि आवश्यकपर्ने मेसिनको माग गरेका छौँ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “प्रयोगशालाका लागि सेमि अटोएनलाइजर र कुल्टरकाउन्टर मेसिनको आवश्यकता छ, त्यसकै माग गरेका छौँ ।”

एउटै मेसिनको रु चार लाखदेखि रु सात लाखसम्म पर्ने भएकाले नगरपालिकाको बजेटले नभ्याउँदा प्रदेशलाई गुहार्नुपरेको उहाँले बताउनुभयो । उपकरण जडान तथा खरिदका लागि नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

विनियोजन गरिएको रकमबाट पीपलाडी स्वास्थ्यचौकीमा डिजिटल एक्स–रे मेसिन जडान गरिने र रकम बाँकी रहे आवश्यक उपकरण खरिद गरिने शाखा प्रमुख भट्टले बताउनुभयो । “आधुनिक उपकरण र मेसिनको स्वास्थ्यचौकीमा उपलब्धता भए सर्वसाधारणले सहजरुपमा सेवा पाउछन्”, उहाँले भन्नुभयो, “चर्को शुल्क तिरेर बाह्य क्षेत्रमा परीक्षणकै लागि जानु पर्दैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here