गठबन्धन ‘आवश्यक ः अनावश्यक’

0
489

शीर्षक पुष्टि ः
अहिले नेपालमा चर्चाको शिखरमा रहेको राजनीतिक मुद्दा भनेको आम निर्वाचन र दलहरुबीचको गठबन्धन आवश्यक छ कि अनावश्यक भन्ने नै हो । दल र तिनका समर्थक, शुभेच्छुक, आमजनता, राजनीतिक विश्लेषक, ब्याख्याता, टिप्पणीकार, आलेखकर्ता सबैले गठबन्धनका विषयमा आवश्यकभन्दा बढी नै चर्चा र बहस गरेको पाइएको छ । गठबन्धन निर्वाचन अघि कि पछि भन्ने अर्को चर्चा पनि सँगसँगै आएको छ ।

यो चर्चा चुनाव अघि गरे पनि वा पछि गरे पनि सबैले आ–आफ्नो अनुकूल गरिरहेका छन् र पछिसम्म पनि गरिरहने छन् । तर, एउटा महत्वपूर्ण र गम्भीर विषय जसको बारेमा सबैले ध्यान दिएका छैनन् त्यो हो हाम्रो देशको २०७२ सालमा जारी गरेको संविधान । संविधान सभाले बनाएर जारी भएको संविधानमा राखिएको प्रतिनिधित्व प्रणालीले नै दलहरुलाई गठबन्धन गर्न बाध्यता बनाएको छ । प्रतिनिधिसभा र प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट ६० र समानुपातिकबाट ४० प्रतिशत सिट राख्नु नै गठबन्धनलाई बाध्यता बनाउने प्रावधान हो । यो संविधानमा यो प्रावधान रहेसम्म गठबन्धन नगरी कुनै विकल्प नै छैन । अब अहिले आएर गठबन्धन आवश्यक कि अनावश्यक भन्ने कुरा नै अनावश्यक बहसको विषय हो ।
भगवान बुद्धले भनेका छन्– जति बहस गरे पनि जुन कुराको छेउ पुच्छर पाइँदैन त्यसमा बहस गरेर समय खेर फाल्नु हुँदैन । जस्तो संसारमा कुखुरा पहिला आयो कि फूल भन्ने बहस । यो अहिलेको हकमा र यो संविधान रहेसम्म त्यस्तै बहस हो । तर, गठबन्धन निर्वाचन अघि कि पछि भन्ने कुराको बहस भने स्वभाविक हो । त्यसैले यस आलेखमा गठबन्धन अनावश्यक भन्ने कुरा पंक्तिकारले बहसको विषय बनाउने छैन ।

आवश्यक ः
दलका नेताहरुले भन्छन् र भनिरहेका छन् गठबन्धन आवश्यक छ । संविधानले नै गठबन्धन गर्न बाध्य बनाएको छ । यो संविधान जारी भएपछिको पहिलो आम निर्वाचनमा पनि दलहरुले मिलेसम्म गठबन्धन गरेकै थिए । २०७४ सालको आम निर्वाचनमा एमाले र माओवादी केन्द्रले देशैभर गठबन्धन गरेका थिए भने कांग्रेसले राप्रपा नेपालसँग केही निर्वाचन क्षेत्रमा गठबन्धन गरेको थियो । तर, २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने कांग्रेस र माओवादीको गठबन्धन थियो भने भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने केही स्थानीय तहमा एमाले कांग्रेसले राप्रपाका विरुद्ध र केही स्थानमा कांग्रेस र राप्रपाले एमालेविरुद्ध गठबन्धन गरेका थिए । गठबन्धनको यस्तो गाईजात्रा पनि भयो । त्यसकारण गठबन्धन अनावश्यक भन्ने प्रश्न राख्नु नै अर्थहीन छ ।

अनावश्यक ः
एउटै सिद्धान्त भएका तर कार्यशैली र नेताहरु बीचको द्वन्द्वले छुट्टै दल बनाएका दलहरु बीचको गठबन्धन स्वभाविक र पचाउन सकिने भए पनि सिद्धान्त र कार्यशैली नै फरक भएको दलसँगको गठबन्धन भने अनावश्यक हो । जस्तो अहिले कांग्रेस र माओवादीबीचको गठबन्धन अनावश्यक हो भन्ने छ । त्यस्तै हुन खोजेको राप्रपा र एमालेबीचको गठबन्धन पनि अनावश्यक हो । किनकि कांग्रेससँग माओवादीको सिद्धान्त र नीति मिल्दैन । त्यसैगरी राजा फिर्ता ल्याउनुपर्छ भन्ने सिद्धान्त बोकेको दक्षिणपन्थी राप्रपासँग कम्युनिष्ट सिद्धान्त र गणतन्त्रलाई मूल आदर्श बनाएको एमालेसँगको गठबन्धनलाई कसरी स्वभाविक भन्ने ।

कांग्रेसले शैली र नेतृत्व फरक भएको अनि सिद्धान्त लगभग मिलेका मधेशवादी पार्टीसँग कांग्रेसको गठबन्धन न्यूनतम साझा सवालमा सहमति गरेर जान खोज्यो भने स्वभाविक मानिएला । नत्र यो पनि क्षेत्रीय मुद्दा र एउटा वर्गको हितका लागि लडिरहेका मधेशवादीसँगको गठबन्धन पनि अमिल्दो नै हो । यसरी विश्लेषण गर्दा नेपालका सबै दलहरु बीचको गठबन्धन अनावश्यक हो । तर, गठबन्धन नगरी भएको छैन । संविधान नै गठबन्धन गर भन्छ ।

अबको बाटो ः
राजनीतिमा दलका नेताहरु सबै राजनीतिज्ञ हुँदैनन् । सम्भव पनि छैन । नेता हुन्छन् । राजनीतिज्ञ हुँदैनन् । वर्तमान राजनीतिशास्त्रको सिद्धान्तले यही भन्छ । नेपालमा अहिलेको हकमा नेता छन् । धुरन्धर नेता पनि छन् । बहुआयामिक नेता पनि छन् । तर, राजनीतिज्ञ छैनन् । नेताले हेर्ने भनेको आउँदो निर्वाचन कसरी जितिन्छ भन्ने नै हो । राजनीतिज्ञले अहिलेको निर्वाचनको प्रभाव ५० बर्षसम्म कस्तो पर्छ भन्ने विश्लेषण गर्ने हो । यही फरक हुने भएकोले नेपालमा अहिलेको अवस्था देखिएको हो ।

अब गठबन्धन निर्वाचन अघि कि पछि भन्ने कुरा मात्र हो । निर्वाचन लड्ने नेताले आउने निर्वाचन जित्न अपनाउनुपर्ने साम, दाम, दण्ड, भेद जे पनि प्रयोग गर्ने हो र गर्छन् पनि । अहिले भएको यही अवस्था हो । त्यसकारण हाम्रो देशका नेताहरुले आफू अनुकूल ब्याख्या गरेर आफू अनुुकूल गठबन्धन गर्छन् र गर्न खोजिरहेका छन् । यसो गर्नुलाई उनीहरुले नराम्रो मान्दैनन् र उनीहरुलाई नराम्रो लाग्दैन पनि । तर, पंक्तिकारले हेर्ने सैद्धान्तिक पक्ष हो । सिद्धान्त नै गठबन्धनमा गयो भने त्यस दलको परिचय र पहिचान नै हराउँछ ।

यद्यपि अहिलेको हाम्रो संविधानको अवस्थामा रही विश्लेषण गर्दा पनि निर्वाचन अघि दलहरुले गठबन्धन गर्नुहुँदैन । निर्वाचनपछि दलहरुको हारजितलाई हेरेर सरकार बनाउन आवश्यक पर्ने संख्या भएका दलहरुसँग सरकार बनाएपछि देशको समग्र विकासका लागि न्युनतम् साझा कार्यक्रम बनाई सहमतिका आधारमा गठबन्धन गर्नुपर्छ र आवश्यक पनि छ । तर, यसपटकको आम निर्वाचनमा पंक्तिकारले चाहेजस्तो हुने छैन । किनकि दलहरु आफूले जित्न गठबन्धनका लागि तारतम्य बनाएर छलफलमा छन्, हेरौं ।

chintamanizee@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here