डेंगु नियन्त्रण गर

0
317


केही समयदेखि झापामा डेंगुका बिरामी बढ्न थालेका छन् । उच्च ज्वरो आएर हलचल गर्न नसक्ने अवस्थामा पुगेका विरामीको परीक्षण गर्दा अधिकांशमा डेंगुको संक्रमण भएको पुष्टि भएपछि यो व्यापक हुँदै गएको पाइएको हो । मनसुन सकिने समय भदौ–असोजमा मौसमी प्रकोपको सम्भावना यसै पनि बढी हुन्छ । तर, यो वर्ष देशका सबै ठूला शहर बजारमा डेंगुको संक्रमण व्यापक बन्दै गएकोले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य संस्थाहरु तथा अस्पतालहरुलाई यसको व्यवस्थापनमा चुनौति थपिएको छ । यतिबेला राजधानी काठमाडौंका ठूला अस्पतालहरु डेंगु संक्रमितबाट भरिन थालेको बताइएको छ । यस्तो अवस्थाले थपिने विरामीले उपचारका लागि शय्या नपाउने डर बढेको छ । त्यसैले यस्तो परिस्थितिमा सम्बद्ध निकायले उच्च सतर्कतासहित नियन्त्रणका लागि समयमै यथासम्भव उपायको अवलम्बन गर्नुपर्छ ।

पूर्वी तराईका जिल्लाहरुमा बढ्दै गएको डेंगु संक्रमणको असर झापामा पनि देखिन थालेको छ । एजिप्टी जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगुको प्रकोप र नियन्त्रणका बारे जिल्लाको स्वास्थ्य कार्यालय अझै बेखबर छ । काठमाडौं उपत्यकाका ठूला अस्पतालहरुले डेंगु संक्रमितलाई उपचार गर्न गाह्रो भइरहेको अवस्थामा झापा लगायत तराईका जिल्लाहरुमा विरामीको उपचार असम्भव नै हुने देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय झापा भने यसप्रति अझै बेखबर छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले डेंगुका विरामीको यकिन तथ्यांक नै नभएको जनाएको छ । जबकि यहाँका निजी अस्पतालहरुले डेंगुका विरामी नियमित आउन थालेको जनाएका छन् । झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले लामखुट्टेको लार्भा नष्ट गर्नेदेखि डेंगु नियन्त्रण तथा रोकथाम सम्बन्धी सम्पूर्ण काम पालिकाको स्वास्थ्य शाखाहरुले गर्नुपर्ने बताएका छन् । तर, पालिका र अन्तर्गतका स्वास्थ्य शाखाहरु भने निद्रामै छन् ।

झापाका बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक लगायतका शहरी क्षेत्र डेंगु संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय झापाका तथ्यांक अधिकृत चूडामणि लुइँटेलले बताएका छन् । ठूला शहरहरु लगायत देशभर डेंगुका बिरामी बढ्न थालेको सन्दर्भले सम्बद्ध निकायको उच्च सतर्कता र अग्रसरता नियन्त्रणको प्रभावकारी उपाय हुनसक्छ । यसका लागि जोखिमयुक्त ठाउँमा औषधि छर्किनेदेखि परीक्षणलाई व्यापक बनाउनुपर्छ । यो सँगै सबैले आ–आफ्नो क्षेत्रको सरसफाईमा ध्यान दिँदै लामखुट्टेको टोकाइबाट बच्ने उपाय गर्नुपर्छ । कोरोना महामारीले त्रस्त नेपाली जीवनमा अहिले व्यापक बन्दै गएको डेंगु संक्रमणलाई नियन्त्रण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा शय्या थप गर्न, अन्य उपकरणहरुको व्यवस्थापन गर्न स्थानीय तह अग्रसर हुनुपर्छ । लामखुट्टे र यसको लार्भा नियन्त्रण गर्ने कार्यलाई व्यापक बनाउँदै सचेतना प्रदान गर्नुपर्छ । यसका लागि वडा कार्यालय, स्थानीय तहको सक्रियतामा स्वास्थ्य कार्यालय, स्वास्थ्य शाखा र अस्पतालहरुको साझा अभियान आवश्यक छ । यसतर्फ सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here