राजनीतिमा राजेन्द्रको इमान्दारिताः संसद् पुगेरै दिए सांसदबाट राजीनामा

0
528

लक्ष्मी काफ्ले
आगामी निर्वाचनपछि पनि वर्तमान संसदको आयु लम्ब्याउन सरकारले कसरत गरिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने इमान्दारिता देखाउँदै सांसद् पदबाट राजीनामा दिएका छन् । आइतबार दिउँसो ३ बजेदेखि बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले सांसद् पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

बैठकको दोस्रो वक्ताका रुपमा समय लिएपछि लिङ्देनले संसदको यस कार्यकालको अन्तिम उपस्थिति भन्दै रोष्ट्रममै उभिएर कुरा रुख्न सभामुखसमक्ष अनुमति मागेका थिए । सभामुखको अनुमतिपछि रोष्ट्रममा उक्लिएका लिङ्देनले मंसिर ४ गतेपछि पनि संसदको आयु कायम राख्ने निर्णय प्रक्रिया प्रारम्भ भएकोमा आफू लज्जित र दुखित भएको धारणा राखे । बाटोबाटै सांसद् छाडेँ भन्नुको औचित्य नहुने बताउँदै उनले भने, ‘त्यसैले म यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट म यहाँ सांसदको रुपमा उपस्थित हुनेछैन ।’
अहिले भइरहेको अनैतिक काममा सहभागी हुन आफ्नो अन्तरआत्माले नमानेको लिङ्देनले सुनाए । अन्तरआत्माको निर्देशनअनुसार नै राजीनामा दिन संसदमा उपस्थित भएको उनले बताए । आफ्नो नाममा पठाइने तलबभत्ताको सुविधासमेत रोक्का गरिदिन उनले सभामुखसमक्ष आग्रह गरे । त्यसका लागि नियमानुसार लेखेरै दिन पनि आफू तयार रहेको उनले स्पष्ट पारे ।
‘प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारसमेत निष्पक्ष बनाउनु पर्ने मेरो धारणा थियो, म एक्लो सांसद्को कुरा सुनिएन,’ उनले भने, ‘व्यक्तिगत रुपमा म चाहिँ अब संसद्मा आउँदिनँ, अब आउने चुनावपछि संसदमा प्रभावकारी उपस्थिति बनाउनका लागि जनताका बिचमा जान नै समय बढी खर्च गर्नुपर्छ ।’
सांसद हुँदाको अनुभव सुनाउँदै आफ्नो कुर्सीअगाडि ‘ढ्याप ढ्याप हान्नका लागि टेबल’सम्म नभएको उनले बताए । पार्टीको एक्लो सांसद् भएका कारण नीतिगत कुराहरुमा उपेक्षाको महसुस भए पनि सबै दलका सांसदहरुबाट स्नेह र सद्भाव प्राप्त गरेको उनले बताए । लिङ्देनले अब बन्ने नयाँ संसदमा कुनै पनि गलत निर्णय हुन नदिने गरी एउटा बलियो पार्टीका रुपमा आफूहरु फेरि उपस्थित हुने दाबी गरे ।
‘पहिलो दिन संसदमा आउँदा अभ्यास थिएन मलाई, झगडा गरेर समय लिएको थिएँ,’ उनले भने, ‘सिक्दै–सिक्दै यहाँसम्म आइपुगेँ, सबैमा धन्यवाद छ ।’ २०७४ सालको निर्वाचनमा लिङ्देनले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई १३ हजार ४४३ मतले हराउँदै सांसद् बनेका थिए । ४४ हजार ६१४ लिङ्देनले र ३१ हजार १७१ सिटौलाले पाएको मत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here