राप्रपाः छोरी केन्द्रमा, बुवा प्रदेशमा उम्मेदवार सिफारिस

0
292

झापा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि एउटै घरका दुई जनालाई उम्मेदवार सिफारिस गरेको छ ।

मंसीर ४ गते हुने निर्बाचनका लागि झापा क्षेत्र नम्वर ४मा पार्टीले बावुछोरीलाई नै उम्मेदवारका रुपमा सिफारिस गरेको हो । राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाका अनुसार प्रतिनिधिसभा सदस्यका लागि खुश्बू ओली र प्रदेशसभा सदस्यका लागि श्याम ओलीको नाम सिफारिस गरेको हो । खुस्बू र श्याम नाताले बावु छोरी हुन् ।

खुस्बू केही महिनाअघि मात्रै नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी राप्रपामा प्रवेश गरेकी थिइन् । उनी राप्रपामा प्रवेश गरेलगत्तै प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएकी हुन् ।

यता खुस्बूका वुवा श्याम ओली समेत गत स्थानीय तहको निर्बाचन अघि मात्रै राप्रपामा प्रवेश गरेका थिए । कनकाई नगरपालिकामा राप्रपाको तर्फबाट प्रमुख पदमा प्रतिष्पर्धा गरेका ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजेन्द्रकुमार पोख्रेलसंग पराजित भएका थिए । ओलीलाई पार्टीले प्रदेशसभा सदस्य पदका लागि झापा क्षेत्र नम्वर ४ को ‘ख’बाट उम्मेदवार सिफारिस गरेको छ ।

लामो समय नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सक्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ओली परिवारका बाबुछोरी नै राप्रपामा प्रवेश गरेलगत्तै प्रतिनिधि र प्रदेशसभा सदस्यका रुपमा सिफारिस भएपछि झापामा ओली परिवारको चर्चा चुलिएको छ ।

यसैबीच झापाका पाँच निर्बाचन क्षेत्रमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले चार निर्बाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेशसभा निर्बाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्वर ३मा प्रतिनिधि सभाका लागि पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन एक मात्र उम्मेदवार सिफारिस भएका छन् । २०७४ सालमा भएको निर्बाचनमा समेत लिङ्देन सोही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ओझाका अनुसार जिल्लाका पाँचवटा निर्वाचन क्षेत्र र १० प्रदेश क्षेत्रमध्ये चारवटा निर्वाचन क्षेत्र र आठवटा प्रदेश क्षेत्रबाट राप्रपाले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
झापा क्षेत्र नं १मा रमेश दहाल र पुष्कर खतिवडा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । क्षेत्र नं १ प्रदेश ‘क’ मा कल्याण खड्का, ‘ख’ मा सबिना बजगाँईको प्रदेशसभा सदस्यका लागि नाम सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नं. २मा भक्ति सिटौला, बसन्त रिमाल र शारदा रिजालको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएको छ भने क्षेत्र नं २ प्रदेश ‘क’मा शंकर रिजाल, दीपक मास्के, रञ्जु प्याकुरेल, ‘ख’ मा राजकुमार चौहान, लोकेश भट्टराईको नाम प्रदेशसभाका लागि सिफारिस भएको छ ।

क्षेत्र नं. ३मा प्रतिनिधिसभाका लागि राजेन्द्र लिङ्देनको एक मात्र नाम सिफारिस भएको हो । क्षेत्र नं ३ प्रदेश ‘क’ मा नवराज पनेरु, राजकुमार राई, ‘ख’ मा रामकुमार राजवंशी, जीवन पनेरुको नाम सिफारिस भएको हो ।

त्यस्तै झापा क्षेत्र नम्वर क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि ओलीको नाम सिफारिस भएको छ । क्षेत्र नं ४ प्रदेश ‘क’मा रुद्र भट्टराई, कुमार श्रेष्ठ र ‘ख’ मा ओलीको नाम सिफारिस भएको जिल्ला अध्यक्ष ओझाले जानकारी दिए । यता झापा क्षेत्र नं. ५मा बुधवार मात्र उम्मेदवारको नाम सिफारिस गरिने अध्यक्ष ओझाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here