बिर्तामोडका समस्या समाधान गर्न सरोकारवाला निकाय एकजुट

0
225

बिर्तामोड । 

बिर्तामोड क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारी र निजी क्षेत्रका संघ–संस्था एक भएर अगाडि बढ्ने सहमति भएको छ ।

चाडपर्व नजिकिएसँगै अपराधका घटनामा वृद्धि हुने तथा त्यसलाई रोक्न सरोकारवालाको कस्तो भूमिका हुनुपर्ने भन्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले समस्या समाधान गर्न सबै पक्ष एकजुट भएर अगाडि बढ्ने सहमति गरेका हुन् ।

बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत विनोद न्यौपानेले बिर्तामोडमा पार्किङको समस्या बढ्दै गएको र यसलाई समाधान गर्न उद्योग वाणिज्य संघसहित ट्राफिक प्रहरी, जनपथ प्रहरी तथा यस क्षेत्रका राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताए । उनले बिर्तामोड क्षेत्रमा बहुतले पार्किङका लागि अहिलेबाट नै लाग्नुपर्ने विचार व्यक्त गरे ।

उनले बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालयको समस्या रहेको साथै फोहोर व्यवस्थापनमा पनि नगरपालिका लागीरहेको उल्लेख गरे । उनले समयमा फोहोर व्यवस्थापन नहुँदा फोहोरको समस्या बढ्दै गएकाले यसलाई समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले यसतर्फ सबै सचेत बन्नुपर्ने विचार व्यक्त गरे । उनले चाडपर्व मनाउन जाँदा घर खाली गरेर हिँड्ने प्रवृत्ति रहेको र उक्त समयमा चोरीका घटना हुने भएकाले घर खाली गरेर हिँड्दा नजिकैको प्रहरीलाई जानकारी गराउन अनुरोध समेत गरेका छन् ।

चाडपर्वको समयमा सुनचादीको कारोबार पनि बढी हुने त्यस क्षेत्रमा चोरीको घटना पनि बढ्ने सक्ने भएकाले व्यवसायीहरुलाई सजग बन्न आग्रह गरे । चाडपर्वको मौका छोपेर उपभोक्ता ठगी गर्नेहरु बढ्ने भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि इलाका प्रहरी कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चाडपर्वको समयमा सवारी आवागमनको चाप धेरै हुने भएकाले यसलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक अशोक जबेगूले बताए । उनले भने– ‘बिर्तामोडको कृषिथोक बजार प्रवेश गर्ने रोडलाई वान वे बनाउने र फुटपाथमा पार्किङको व्यवस्था गर्ने कार्यलाई अगाडि बढाउनेछौं ।’

प्रहरी निरीक्षक जबेगूले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको र पछिल्लो समय तीन चक्के सवारी बिर्तामोडको मुख्य समस्याको रुपमा रहेको उल्लेख गरे । उनले तीन चक्के सवारीका चालकलाई ट्राफिक नियमको ज्ञान समेत नभएको बताए । प्रहरीले निरीक्षक जबेगूले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गर्दा छुटाउन कसैलाई पनि दवाव नदिन आग्रह समेत गरे ।

चाडपर्वको समयमा विद्युतको माग अधिक हुने भएकाले त्यसलाई व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरण अनारमनी शाखा तयारी अवस्थामा रहेको अनारमनी वितरण शाखाका इञ्जिनीयर विभव पौडेलले बताए । उनले चार वटा टिमलाई तयारी अवस्थामा राखेर दिन र रातको समयलाई मध्यनजर गर्दै टोली खटाइएको उल्लेख गरे । बिर्तामोड क्षेत्रमा देखिएको अव्यवस्थित तारहरु हटाउने कामलाई प्राथमिकता दिँदै त्यसलाई थप सुधार गर्न प्राधिकरण लागेको उल्लेख गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजु न्यौपानेले बिर्तामोड क्षेत्रमा सवारी पार्किङ, विद्युत, उपभोक्ता ठगिने, सडकको दुरावस्था, फोहोर व्यवस्थापन नहुनु लगायतका समस्या समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरे । बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका सबै संघ–संस्थासँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको उल्लेख गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उपभोक्ता मञ्चका अध्यक्ष वेदप्रकाश अग्रवालले बिर्तामोड क्षेत्रमा धेरै समस्या रहेकाले यसलाई समाधान गर्न सरकारी र गैरसरकारी दुबै संघ–संस्था एकजुट भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कुमार भट्टराई, राजेन्द्र थापा लगायतले बिर्तामोडको समस्या र यसमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाका विषयमा आ–आफ्नो धारणा राखेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कुशल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here