नीजिका शिक्षकले पाए परिमार्जित पाठ्यक्रम र लेटर ग्रेडिङ मुल्याङ्कन विधि विषयक तालिम

0
451

विनोद सापकोटा
झिलझिले ।

संस्थागत विद्यालयका शिक्षकको मेहनतका कारण सामुदायिक विद्यालयको हरेक क्षेत्र सुधारोन्मुख रहेको शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले बताएका छन् ।

संस्थागत विद्यालयको छाता संगठन प्याव्सन झापाले झिलझिलेको वाटर किङडम पार्कमा शुक्रबारदेखि आयोजना गरेको दुई दिवसीय परिमार्जित पाठ्यक्रम र लेटर ग्रेडिङ म्ुल्याङ्कन विधि विषयक तालिमको उद्घाटन गर्दे नगर प्रमुख थोप्राले यस्तो बताएका हुन् ।

‘केही सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको गुनासो थियो । यस्तै गुनासाका कारण नीजि विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्न थालेका थिए , उनले भने, ‘अहिले निजी विद्यालयका लगानी कर्ता र कार्यरत शिक्षक शिक्षिकाले गरेको मेहनतले सामुदायिक विद्यालय पनि विद्यार्थीले भरिन थालेका छन् ।’

सामुदायिक विद्यालयको विद्यार्थी संस्थागतमा जान थालेपछि सामुदायिक विद्यालयले पनि पछिल्ला दिनमा गुणस्तर सुधारका लागि मेहनत गर्न थालेका छन् । जस्का कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि संस्थागत विद्यालयकै हाराहारीमा आउन थालेको नगर प्रमुख थोप्राले बताए ।

प्याव्सन झापाले परिमार्जित पाठ्यक्रम र लेटर ग्रेडिङ कार्यान्वयनमा संस्थागत विद्यालयका शिक्षक शिक्षिकालाई दक्ष बनाउने उद्येश्यले तालिमको आयोजना गरेको हो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले विद्यार्थी मूल्याङ्कन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तय गरेको मूल्याङ्कन पद्धतिलाई मार्गनिर्देशन गर्न तालिम आयोजना गरेको प्याव्सन झापाका अध्यक्ष गौरिमान फागोले बताए ।

तालिममा मावि र आधारभुत तह सम्मका एक ÷एक गरेर एउटा विद्यालयबाट बढीमा दुई जना शिक्षकलाई सहभागि गराईएको छ । कार्यक्रमका सयोजक लक्ष्मी प्रसाद उप्रेतीका अनुसार तालिममा ३ सय ५० शिक्षक शिक्षिकाहरु सहभागि छन् ।

विद्यार्थी मूल्याङ्कनलाई पाठ्यक्रममा आधारित बनाउन, सिकाइको मूल्याङ्कनलाई सिकाइका लागि मूल्याङ्कनका रूपमा कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षाको आन्तरिक र प्रयोगात्मक परीक्षालाई विश्वासनीय र मर्यादित बनाउने, विद्यालय शिक्षाका विभिन्न विषयमा आन्तरिक र बाह्य मूल्याङ्कनमा एकरूपता कायम गर्ने र मूल्याङ्कनलाई निश्चित मापदण्डमा आधारित बनाउन तालिमका सहजकर्ता पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विद् दिनेश थापा र सिटिएफ नेपालका निर्मला पौडेलले जोड दिए ।

विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्न र सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठओटा अक्षरगत स्तरमा सूचित गर्ने गरी लेटर ग्रेडिङपद्धति कार्यान्वयनमा ल्याएएको सहजकर्ताले बताएका थिए ।

पुस्तिकामा मूल्याङ्कन प्रणालीलाई वस्तुनिष्ठ, विश्वसनीय, वैध तथा भरपर्दो बनाउन र एकरूपता कायम गर्न सैद्धान्तिक एवं प्रयोगात्मक दुवै पक्ष समावेश गर्नुका साथै आन्तरिक र बाह्य मूल्याइकनलाई समेट्नु पर्ने आवश्यकतालाई दृष्टिगत गरी विभिन्न कक्षाका लागि तयार गरिने ग्रेडसिटका नमुनाहरू समेत उनिहरुले तालिममा सहभागिलाई देखाएका थिए ।

प्याव्सन झापाका अध्यक्ष गौरिमान फागोको अध्यक्षतामा भएको तालिम उद्घाटन सत्रमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाको छाता संगठन इष्टुका झापा अध्यक्ष होमराज खतिवडा, प्याव्सन नेपालका निवर्तमान केन्द्रिय सदस्य राम सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिकृष्ण पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here