हङकङ कम्प्युटेसनलमा विश्वव्यापी नेता बन्दै अनि नेपाल चाहिँ ?

२५ भाद्र २०७९, शनिबार मा प्रकाशित

कम्प्युटेसनल भन्नाले कम्प्युटर प्रयोग अर्थात् कम्प्युटरमा प्रयुक्त विभिन्न स्तरका प्रोग्रामिङ ल्याङ्ग्वेज जसलाई कोडिङ पनि भनिन्छ, जसका माध्यमबाट धेरै आयाममा आइपर्ने काम, डाटा स्टोरेज, विश्लेषण, नतिजा प्रकाशन, प्रश्न, उत्तर, विशाल तथा जटिल समस्या क्षणभरमै हल गर्नका लागि प्रयोग हुने कम्प्युटर प्रोग्रामिङ्ग प्रकार्य हो । यी प्रोग्रामहरु धेरै प्रकार र अझ धेरै–धेरै कामका लागि हुने छन् । कसरी, कुन हदसम्म, किन, कसका र केका लागि, कहाँ, कुन र कहिले ? भन्ने यी सवालहरुलाई सोच भन्न भनिन्छ र यी सब गर्न सक्ने कला प्रदान गर्नु र सीप हासिल गर्नुलाई शिक्षा भनिन्छ ।

सोच, सीप र शिक्षा त्यसै आउने होइनन् । यसका लागि तत् देशका सरकारले त काम गर्नु नै पर्दछ र निजी क्षेत्र, संस्थान र शैक्षिक प्रतिष्ठानहरु पनि उत्तिकै रुपमा सक्रिय हुनुपर्दछ । अबको अधिक प्रतिस्पर्धी परिवेशमा, देशका लागि यावत काम गर्ने नयाँ, युग सुहाउँदो अत्याधुनिक प्रविधि अपनाउनुपर्ने नभई नहुने आवश्यकतामध्ये कम्प्युटेशनल सोच शिक्षा हङकङमा अगाडि सारिएको छ ।
अहिलेको डिजिटल तथा ए. आई. अर्थात् आर्टिफिसियल इन्टेलिजेन्ट्स्को जमानामा परम्परागत रुपमा या अहिले भइरहेको सीप निकै नै अपर्याप्त हुन सक्ने र प्रतिष्पर्धाको दौडमा पछि परिने सम्भावना त्यतिकै छ । हो यस्तै सम्भावनाहरुलाई दृष्टिगत गर्दै हङकङले विद्यालय तहकै विद्यार्थीहरुलाई कम्प्युटेसनल सोच शिक्षा प्रदान गर्दैछ । जसले भविष्यमा हङकङलाई अरु सँगसँगै मात्र होइन अरुभन्दा अगाडि भएर दौडन कुशल जनशक्ति तयार गर्ने छ । अध्ययनहरुका अनुसार, यस मार्गमा सिंगापुर, बेलायत र मुख्य भूमि चीनसँग हङकङ बराबर रहेको पत्ता लागेको छ । तर, हङकङ सबैभन्दा अगाडि हुन चाहन्छ ।

कम्प्युटेसनल सोच कौशलले समस्या समाधान गर्ने क्षमताहरू मात्र बढाउँदैन, २१औं शताब्दि र आगामी शताब्दिका लागि आवश्यक सीप प्रदान गर्नेछ । विगत एक दशकमा कम्प्युटेशनल सोच शिक्षामा प्राथमिकताका साथ, अन्तर्राष्ट्रिय समुदायले यस विषयमा ठूलो मात्रामा शैक्षिक स्रोतहरू छुट्याइरहेका छन् । यही चुनौतिलाई हङकङले मनन गर्दै काम शुरु गरेको छ । बेलायतमा चाहिँ कम्प्युटेशनल सोचलाई २०१४ मा नै प्राथमिक विद्यालय पाठ्यक्रममा अनिवार्यरुपमा समावेश गरिएको थियो । सोही वर्ष सिंगापुरले डिजिटल रूपान्तरणलाई ड्राइभ गर्न स्मार्ट राष्ट्र पहल शुरु गरेको थियो ।

हङकङको शिक्षा ब्यूरोले कम्प्युटेशनल सोच शिक्षाको कार्यान्वयनलाई प्रोत्साहन गर्छ । २०२०मा यसले कम्प्युटेशनल थिंकिङ – कोडिङ एजुकेशन ः सप्लिमेन्ट टु द प्राइमरी करिक्युलम शीर्षकको आफ्नो पूरक अपडेट गरेको छ । जसले माथिल्लो प्राथमिक विद्यालयहरूमा यस विषयलाई १० देखि १४ घण्टाको शिक्षण समय छुट्याउन सिफारिस गरेको छ ।

कार्यक्रमको विशिष्ट विशेषताका रुपमा, कार्यक्रम एक पूर्ण, स्पष्ट र पाठ्यक्रम अनुक्रम अनुसारका सामग्रीहरूको सेटहरु बनाइएका छन् । यसले पङ्तिबद्ध व्यावसायिक शिक्षाको साथ सबै विद्यार्थीहरूलाई सिपालु हुन सुनिश्चित गर्न मद्दत गर्दछ । जसले उच्च गुणस्तरको कम्प्युटेशनल सोच निर्देशन अनुभव गराउँदछ । हङकङको कम्प्युटेशनल सोच शिक्षालाई विश्वव्यापी नेताहरूमाझ परिचित गरिएको छ । यसरी हङकङलाई अरुभन्दा फरक पारिएको छ । शिक्षकहरूको व्याबसायिक शिक्षा र समर्थनमा पनि फरक पन ल्याइएको छ । कार्यक्रमको डिजाइन, पाठ्यक्रम र शैक्षिक दृष्टिकोणको उच्च मापदण्डले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

तर, कार्यक्रम स्पष्ट हुँदाहुँदै पनि कम्प्युटेशनल सोच शिक्षामा विश्वव्यापी नेताको रूपमा हङकङको स्थितिलाई बलियो बनाउन केही कदमहरू चाल्न आवश्यक छ । विश्वका अन्यत्र पाइने अनुभवको लाभ उठाउन शिक्षक सञ्जाल र शिक्षक व्यावसायिक संघहरूलाई थप विस्तार गर्न आवश्यक छ । हङकङ विश्वविद्यालयका इमेरिट्स प्रोफेसर काई–मिङ चेङ भन्छन्– यी सबै प्रयासहरूका लागि सरकारी निकायहरू, विद्यालयहरू, निजी क्षेत्रका कम्पनीहरू, शिक्षक संघहरू र अन्य गैर–सरकारी अभियन्ताहरूको क्रस–सेक्टर गठबन्धनहरू बीच थप सहकार्य आवश्यक छ । यी सामाजिक संस्थाहरू यी विभिन्न परियोजनाहरूमा भाग लिन र समाजमा सकारात्मक प्रभाव पार्न अत्यन्त उत्सुक छन् । शिक्षाको नयाँ रूप, जसले विद्यार्थीहरूलाई परम्परागत कक्षाकोठा बाहिर निस्केर सिक्ने अवसरहरू प्रदान गर्दछ ।

बाँकी विश्वसँग हङकङ कसरी मेल खान्छ ? भन्ने विचार हङकङले पहिल्यै पत्ता लगाइसकेको छ । हङकङमा विद्यार्थीहरुलाई डिजिटल रचनात्मकतालाई प्रेरित गर्न र सानै उमेरदेखि सामाजिक भलाइका लागि प्रविधिहरूको सक्रिय प्रयोगलाई पोषण दिने कार्यक्रम रहेको छ । हङकङमा एक सय ३१ प्राथमिक विद्यालयका साथै उच्च प्राथमिक विद्यालयका लगभग एक लाख विद्यार्थीहरूलाई कम्प्युटेशनल सोच शिक्षा द्रूत र प्रभावकारीरुपमा दिइँदै छ । हङकङ शहरभर माथिल्लो प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय कम्प्युटेशनल सोच शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ । जसले निकट भविष्यमै हङकङ यस विषयमा विश्व लिडर बन्ने छ ।

हङकङमा कम्प्युटेसनल सोच शिक्षाका लागि सरकार, सरकारका अंगहरु बाहेक निजी क्षेत्र, संस्थानहरु, गैरसरकारी संस्थाहरु पनि योगदान गर्न तम्सिएका छन् । कुलथिंक एट जेसी हङकङ जोकी क्लव च्यारिटी ट्रस्ट, हङकङ विश्वविद्यालय, म्यासाचुसेट्स इन्स्टीच्युट अफ टेक्नोलोजी र सिटी युनिभर्सिटी अफ हङकङ जस्ता निकाय, संस्थाहरु उत्साहपूर्वक योगदान गर्दैछन् । जसले हङकङका विद्यार्थीहरूलाई नयाँ डिजिटल युगको लागि तयारी गर्न मद्दत गर्ने पाठहरू प्रदान गर्ने छन् । बृहत् समुदायमा कम्प्युटेशनल सोच शिक्षाको प्रोफाइल बढाउन, कुलथिंक एट जेसीको सह–निर्माताहरूमध्ये एक, सिटी युनिभर्सिटी अफ हङकङले अभिभावकहरूलाई कम्प्युटेशनल सोचको अवधारणा र महत्वबारे शिक्षित गराउने उद्देश्यले नियमित कार्यशालाहरू सञ्चालन गरिरहेको छ ।

नेपालमा, आजभोलि कतिपय विद्यालयमा प्राविधिक धार कार्यक्रम अनुसार कम्प्युटर शिक्षा दिइँदैछ । यस्तो अभियानलाई राम्रो मान्न सकिन्छ, तर आजको दुनियाँका लागि चाहिने सीप कतिको दिइँदैछ ? सोचनीय छ । वास्तविकता चाहिँ के हो भने नेपालमा विद्यालय तहमा नानीहरुलाई पेन्टब्रसमा चित्र बनाउन सिकाएर कम्प्युटर शिक्षा दिइएको भ्रम बाँडिरहेको छ । कम्प्युटर प्रोग्रामिङ्ग तर्फ भने चाहिँ प्लस टु तहबाटै पढाइन्छ । तर, उही परम्परागत र कमजोर करिक्युलम, अव्यवहारिक प्राजेक्ट, उस्तै कमजोर शिक्षक, लेक्चरर र जर्जर ल्यावका कारण विद्यार्थीहरुमा सीप सिकाइ कमजोर हुने गरेका छन् । कमजोर सीप सिकाईका कारण जनशक्तिहरु देशभित्रै पनि खपत हुन सकिरहेका छैनन् । एप्सहरुको मागको बाढी आइरहेका बेला पनि नेपालका विद्यार्थीभन्दा भारत, बंगलादेशमा पढेर आएका विद्यार्थीहरु पहिलो प्राथमिकतामा पर्ने गरेका छन् । अनि कसरी नेपाल कम्प्युटेशनल सोच शिक्षा अगाडि बढ्न सक्छ ? यसमा कहिले सुधार होलान् र नेपाल पनि विश्व लिडर बन्ने दौडमा सामेल होला ? प्रश्न यही छ । (एजेन्सीको सहयोगमा)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here