‘झिँगेदाउ’को व्यापारमा उछाल

0
251

 काठमाडौं,

गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’पछि करीब तीन महिना नेपाली फिल्मको व्यापार उदेकलाग्दो रह्यो । धेरै आशातित फिल्महरु टाँट पल्टिए । जसले गर्दा दर्शकले कस्तो खाले फिल्म खोजिरहेका छन् भन्ने अन्योलता छाएको थियो । तर, भदौ १० मा प्रदर्शन भएको फिल्म ‘प्रकाश’ले धेरथोर हलमा दर्शक तान्यो । यो फिल्मको व्यापारले फिल्म क्षेत्रलाई केही हदसम्म राहत दियो ।

यतिबेला बक्सअफिसमा अर्को फिल्म ‘झिँगेदाउ’ले सानदार कमाई गरिरहेको छ । प्रदर्शनपूर्व खासै अपेक्षा नगरिएको यो फिल्मले ‘कबड्डी ४’पछि हलमा दर्शकको गजबको भीड तान्न सफल भएको छ । भदौ १७ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन खासै राम्रो व्यापार गर्न सकेन । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि फिल्मले दोस्रो दिनबाट व्यापारमा छलाङ मार्न सुरु गर्‍यो ।

प्रदर्शनको पहिलो हप्ता फिल्मको व्यापार उत्साहजनक रह्यो । यो अवधिमा फिल्मले बक्सअफिसमा डेढ करोडको व्यापार गर्‍यो । दोस्रो हप्ताको शुक्रवार र शनिवार फिल्मले व्यापारमा थप उछाल ल्याएको छ । यो दुई दिन देशभरका मल्टीप्लेक्स र सिंगल थिएटर हाउसफुल भएसँगै फिल्मको ९ दिने कमाई २ करोड पार भएको छ । यो व्यापारिक अंक ‘कबड्डी ४’पछिकै सर्वाधिक हो ।

हल सञ्चालक प्रदीप कुमार उदयले ‘झिँगेदाउ’को पहिलो हप्ताभन्दा दोस्रो हप्ताको व्यापारमा अत्याधिक वृद्धि भएको फेसबुकमा उल्लेख गरेका छन् । यो हप्ताको शुक्रवारबाट प्रदर्शनमा आएको बलिउडको ठूलो फिल्म ‘ब्रम्हास्त्र’ले समेत फिल्मलाई खासै असर गरेको छैन । व्यापारमा अत्याधिक वृद्धि भएपछि मल्टीप्लेक्सहरुले फिल्मलाई दोस्रो हप्तामा पनि उच्च शो उपलब्ध गराएका छन् ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘झिँगेदाउ’लाई दोस्रो हप्ताको शुक्रवार ‘ब्रम्हास्त्र’का कारण १६ शो दिएको थियो । तर, शुक्रवारको व्यापार उच्च भएपछि शनिवार केही शो थप गर्‍यो । आइतवार यो फिल्मलाई ३० शो प्रदान गरिएको छ । यसबाट पनि फिल्मको व्यापार राम्रो रहेको बुझ्न सकिन्छ । कुनै पनि मल्टीप्लेक्सले व्यापार सुखद् नभएसम्म शो बढाउने गर्दैनन् ।

‘वर्ड अफ माउथ’को बलियो साहारा मिलेको ‘झिँगेदाउ’लाई अब फिल्म ‘प्रेमगीत ३’ अगाडिसम्म रोकछेक गर्ने नेपाली फिल्म छैन । यो अवधिसम्म फिल्मको कलेक्सन ५ करोड आसपास पुग्ने अनुमान गरिएको छ । दशैंमा भने नेपाली र विदेशी फिल्मको सर्वाधिक चाप भएकाले त्यसबेला फिल्मले हल पाउने सम्भावना न्यून छ । ‘झिँगेदाउ’को व्यापारले फिल्म क्षेत्रलाई नै ठूलो राहत दिएको छ ।

फिल्म हेर्ने युवापुस्ताभन्दा ३५ वर्षमाथिका दर्शकहरु बढी देखिएका छन् । पारिवारिक कथामा निर्माण भएकाले परिवारसहितका दर्शकलाई फिल्मले आकर्षित गरेको छ । यस वर्षको हिट फिल्म बन्ने दौडमा रहेको ‘झिँगेदाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । यस फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाललगायतको अभिनय रहेको छ ।-फिल्मीखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here