महारानीगञ्ज माविद्वारा शैक्षिक वर्ष–२०७८को ‘सापप्र’ सार्वजनिक

0
430

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको गत शैक्षिक वर्ष २०७८ को सामाजिक परीक्षण प्रतिवेदन सोमबार एक कार्यक्रमकोबीच सार्वजनिक गरिएको छ ।

विद्यालयको सभाहलमा सामाजिक परीक्षण समितिका संयोजक एवम् शिक्षक अभिभावक संघका अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्राविधिक उपसमितिका संयोजक एवम् शिक्षक सूर्यप्रसाद सापकोटाले प्रतिवेदनमा उल्लेख भएका विवरणहरु प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा कक्षागत विद्यार्थी विवरण–२०७८, विद्यार्थीको सिकाइ उपलब्धी विवरण, शिक्षक तथा कर्मचारीको अवस्था, विद्यालयको भौतिक विवरण, गत आर्थिक वर्ष ०७८/०७९को आय–व्यय विवरण आदि उल्लेख गरिएको छ ।

प्रस्तुत प्रतिवेदन अनुसार विद्यालयले गत आर्थिक वर्षमा एक करोड ५८ लाख ३३ हजार एक सय ८२ रुपैयाँ १५ पैसा बराबरको आर्थिक कारोबार गरेको छ । जसमा अघिल्लो आर्थिक वर्षको बैंक मौज्दात आठ लाख १३ हजार पाँच सय ९१ रुपैयाँ २९ पैसा, सरकारी अनुदान एक करोड ४१ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ २० पैसा, आन्तरिक स्रोत छ लाख ६२ हजार तीन सय २० रुपैयाँ, ऋण(भुक्तान गर्नुपर्ने दायित्व) एक लाख ८८ हजार चार सय ७४ रुपैयाँ ६६ पैसा र आमा समूह २३ हजार चार सय ९५ रुपैयाँ रहेको छ ।

कार्यक्रमका सहभागी अभिभावक र सरोकारवालाहरुको जिज्ञासा बारे जवाफदेही वक्ताकारुपमा विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले स्पष्ट पारेका थिए । शिक्षक खगेन्द्र विश्वकर्माले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here